बिर्तामोड । प्रतिगमनको विरोधमा प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचित जिल्ला झापामा पत्रकारले प्रदर्शन गर्ने भएका छन् ।

प्रेस युनियन र प्रेस संगठन झापा शाखाको संयुक्त आयोजनामा माघ २७ गते मंगलबार बिहान ११ बजे झापाको बिर्तामोडमा प्रदर्शन गर्ने भएका हुन् । दुई संगठनको शुक्रबार बिर्तामोडमा भएको संयुक्त छलफलले प्रदर्शन गर्ने निर्णय गरेको हो ।

ओली नेतृत्वको सरकारले गत पुस ५ गते गरेको संसद विघटन असंवैधानिक रहेको ठहर गर्दै सञ्चारकर्मीहरुले प्रदर्शन गर्न लागेका हुन् । ओलीको उक्त कदम असंवैधानिक भएको भन्दै नेपाल पत्रकार महासंघले पुस ५ गते नै विज्ञप्ति जारी गर्दै विरोध जनाइसकेको छ ।

त्यस्तै नेपाल प्रेस युनियनको गत माघ २१ गते बर्दियामा सम्पन्न केन्द्रीय समितिको बैठकले जनप्रतिनिधिले बनाएको संविधान र पटक पटकको अन्दोलनबाट प्राप्त उपलब्धीलाई धुलिसात गर्ने षडयन्त्र भएको ठहर गरेको छ । राजनीतिक दलहरुले छुट्टा–छुट्टै आन्दोलन गरिरहँदा पेशागत संगठन युनियन र प्रेस संगठनले एकिकृत आन्दोलन गरेर एकताबद्ध आन्दोलनका लागि दवाव श्रृजना गर्न लागेको बताएका छन् ।