बिर्तामोड ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ट नेता झलनाथ खनालले केपी ओली नेतृत्वको सरकार २०४६ साल अघिको सरकार जस्तै जनप्रदर्शनमा लागेको बताएका छन् । प्रेस संगठन झापाले बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता खनालले बहुदल आएपछि कुनै सरकार सडक प्रदर्शनमा नउत्रिएको बताए ।

‘केपी ओली सडकमा जनसभा गर्दै हुनुहुन्छ, आज पनि उहाँको सडक आन्दोलन रहेछ, नेता खनालले भने–‘सरकारले कसको बिरुद्ध आन्दोलन गर्ने ?, शासकले सडकमा हामी राम्रो, हामी लोकप्रीय, हामी गतिलो, हामी ठिक भन्ने अवस्था प्रजातन्त्रमा पहिलो पटक देखियो ।’ नेपालको ईतिहाँसमा पञ्चायती शासकले मात्र सत्तामा बसेको बेला सडकमा प्रदर्शन गरेको खनालले बताए । 

पुष ५ गते प्रधानमन्त्री केपी ओलीले संविधान बिपरीत संसद भङग गरेको बताए । ओलीको कदम लोकतन्त्र बिरोधी, संविधान बिरोधी, रहेको भन्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउन ओलीले त्यो कदम चालेको आरोप नेता खनालको थियो । ‘यो प्रतिगमन र प्रतिक्रान्ति हो, खनालले भने–‘ओली कदम बिरुद्ध हामी कानुनी र राजनीतिक लडाई लडिरहेका छौं ।’ कानुनी लडाईमा अदालतले निष्पक्ष भएर फैसला गर्नुपर्ने उनको तर्क थियो । 

पार्टीका सिद्धान्त र कार्यदिशामा प्रधानमन्त्री ओली नचल्नु नै पार्टी बिभाजनको प्रमुख कारक भएको खनालको स्पष्टोक्ति थियो । कानुनी र राजनीतिक लडाईबाट ओलीलाई वास्तविक साईजमा ल्याएरै छोड्ने दावी खनालको थियो । 

सरकार समर्थक दलको शुक्रबार काठमाण्डौमा भएको प्रदर्शनलाई लक्षित गर्दै खनालले आगामी २८ गते नेकपाको आयोजनामा हुने प्रदर्शनको लागि तयार रहन आग्रह पनि गरे । उनले भने–‘ओली प्रतिगमन बिरुद्ध सम्पुर्ण दलको एकताबद्ध आन्दोलन अहिलेको आवश्यकता हो ।’