भद्रपुर । आन्दोलनमा उत्रिएका नेकपाकाे प्रचण्ड–माधव नेपाल समूहका कार्यकर्ताले झापामा एउटा गाडी तोडफोड गरेका छन् । 

बन्द अवज्ञा गर्दै सडकमा गाडी कुदाइरहेको भन्दै नेकपाका कार्यकर्ताले मे १ च १९४२ नम्बरको गाडी रोक्न खोजेका थिए । गाडी चालकले उल्टै कार्यकर्तालाई कुल्चिन खोजेपछि उनीहरूले सो गाडी तोडफोड गरेका हुन् । बिर्तामोडको पश्चिम बस पार्क भएको घटनामा नेकपाका विद्यार्थी नेता मदन भट्टराई घाइते भएका छन् । 

उनको हातमा चोट लागेपछि उपचारका लागि अस्पताल लगिएको बताइएको छ । यता कार्यकर्ताले गाडी तोडफोड गरेपछि प्रहरी टोली तत्काल घटनास्थलमा पुगेर सुरक्षा प्रदान गर्दै भिडलाई नियन्त्रण गरेका थिए । 

सरकारले संवैधानिक निकायहरूमा जबरजस्ती पदाधिकारी नियुक्त गरेपछि त्यसको विरोधमा आम हडताल सफल बनाउन राजमार्गमा बिहानैदेखि नेकपाका कार्यकर्ताहरू बन्द गराउँदै हिँडेका थिए  । बन्दका कारण झापाको जनजीवन प्रभावित बनेको छ ।