धरान । वडास्तरीय टुबोर्ग गोधुली रनिङ कपको २१ औं संस्करण फागुनको तेस्रो सातादेखि हुने भएको छ । 

आयोजक गोधुली क्लबका अनुसार फागुन २२ गतेदेखि प्रतियोगिता सुरु हुने भएको हो । प्रतियोगितामा विगत वर्षझैं २० वटै वडाका टिम सहभागी बन्ने आयोजकले जनाएको छ । २० औं संस्करणमा २० टिमहरू सहभागी बनेका थिए । 

२०५० सालदेखि सुरु हुँदै आएको प्रतियोगिताको विजेताले नगद एक लाख ११ हजार १ सय ११ रुपैयाँ र उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँसहित रनिङ शिल्ड प्राप्त गर्ने आयोजक क्लबका उपाध्यक्ष सतिस केसीले जानकारी दिए । 

उनका अनुसार व्यक्तिगततर्फ पनि पुरस्कार प्रदान गरिनेछ । धरान रङ्गशालामा हुने प्रतियोगिताको फाइनल चैत ७ गते हुनेछ । पछिल्ला तीन संस्करणमा धरान–१७ ले एकछत्र राज गर्दै आएको छ । हालसम्म सबैभन्दा बढी गोधुलीको उपाधि धरान–१९ ले उचालेको छ ।