धरान/अनिवार्य अवकाश पाएका सुनसरी जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख कुमारप्रसाद पोखरेललाई बिदाइ गरिएको छ । 

नेपाल खेलाडी तथा प्रशिक्षक सङ्घ सुनसरीले सोमबार २६ वर्षे लामो कार्यकाल पूरा गरेका पोखरेललाई बिदाइ गरेको हो । सङ्घका अध्यक्ष गोपाल राई, धरान उपमहानगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडालगायतले बिदाइ गरे । त्यसक्रममा पोखरेललाई सङ्घले अभिनन्दनसहित सम्मान पत्र प्रदान गरेको सङ्घका उपाध्यक्ष विकासकुमार गुभाजुले बताए । 

बिदाइ भएका पोखरेलले धरानमा मात्रै आफूले १४ वर्ष कार्यकाल बिताएको बताए । आफ्नो कार्यकालमा सबैको साथसहयोग रहेको उल्लेख गरे । उनले भने, ‘धेरै साथीहरू धरानमा आउन चाहनुहुन्थेन । तर मैले जागिर जीवनमा त्यो सोच राखिन । जहाँ पठाइयो त्यहाँ राम्ररी नै काम गरेँ ।’ उनले अवकास भएर आफूलाई कुनै दुःख नलागेको बताउँदै अबचाहिँ साथीभाइसँग भेटघाट नहोला कि भन्ने डर भएको बताए ।

प्रमुख अतिथिसमेत रहेका धरान उपमहानगरका वरिष्ठ प्रशासकीय अधिकृत खतिवडाले जागिर जीवन सुरु गरेपछि नै अनिवार्य अवकास हुने प्रावधान हुने गरेकाले त्यो महत्त्वपूर्ण विषय नभएको बताए । उनले आफ्नो कार्यकालमा आफूले कस्तो जिम्मेवारी निर्वाह गरिएको छ त्यो चाहिँ महत्त्वपूर्ण हुने बताए । 

कोरोना महामारीका कारण करिब एक वर्ष कार्यक्रम नगरेको अवस्थामा प्रमुख पोखरेललाई बिदाइ गर्न पाउँदा हर्षित बनेको अध्यक्ष गोपाल राईले बताए । त्यसक्रममा खेलकुदसँग सम्बन्धित विभिन्न सङ्घसङ्गठनले पनि बिदाइ गरेका थिए ।