धरान । धरानको विजयपुर अस्पतालमा शल्यक्रिया गरेपछि  मृत्यु भएकी इटहरीकी ३१ बर्षीया दीपा राईको परिवार र अस्पताल प्रसासनबीच भोलि पुनः वार्ता हुने भएको छ ।

बिहीबार भएको वार्ता टुङ्गोमा नपुगेपछि भोलि पुनः वार्ता हुने भएको हो । मृतकको परिवारले अस्पतालका चिकित्सकको लापरबाहीले ज्यान गएको आरोप लगाउँदै आएका छन् । उनीहरुले बिहीबार अस्पताल अगाडि न्यायको माग गर्दै प्रदर्शन गरेका थिए । अस्पतालमा सुरक्षाका लागि प्रहरी परिचालन गरिएको थियो ।

आज भएको वार्तामा मृतककी छोरीको शिक्षा र स्वास्थ्यको जिम्मा लिने कुरा उठेको थियो । वार्ता सहमति नजिक पुगेको र भोलि पुनः वार्ता हुने विजयपुर अस्पतालका निर्देशक प्रभाव खतिवडाले बताए । 

विजयपुर अस्पतालमा माघ ४ गते पत्थरीको अप्रेसन गरिएकी राईको भोलिपल्ट मृत्यु भएको थियो । मृतकका श्रीमानले अप्रेसन गर्ने डाक्टर गजेन्द्रप्रसाद दास विरुद्ध इलाका प्रहरी कार्यालय धरानमा जाहेरी पनि दर्ता गरेका छन् ।