विजयपुर । धरानको विजयपुर हस्पिटलमा शल्यक्रियाका क्रममा विरामीको मृत्यु भएपछि मृतकका आफन्तले उपचारमा लापरबाही भएको भन्दै प्रहरीमा उजुरी दिएका छन् ।

इटहरीको तरहरा निवासी ३१ वर्षीया दीपा राईको पित्तथैलीको शल्यक्रिया गर्ने क्रममा ज्यान गएपछि शल्यक्रिया गर्ने डाक्टर गजेन्द्रप्रसाद दासविरुद्ध ईलाका प्रहरी कार्यालय धरानमा उजुरी परेको हो । होटल व्यवसाय गर्दै आएकी दीपा यहि माघ ४ गते विजयपुर हस्पिटल भर्ना भएकी थिईन् । उनको चेकजाँच गर्दा सामान्य अवश्था रहेको भन्दै शल्यक्रियामा लगिएको मृतककी भतिजी सवनम राईले बताईन् । 

मृतकका आफन्तले डा.दासको समूहले शल्यक्रिया गरेपछि अत्यधिक रक्तश्राव भएको भन्दै भोलिपल्ट रगत दिइएको थियो । तर त्यसपछि विरामीको अवश्था झनै जटिल बनेपछि डा.दास आफैंले विरामीलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्ष लिएर गएका थिए । आकस्मिक कक्षमा राखिएकी दीपालाई हेर्न समेत नदिइएको आफन्तले बताए । मृतकका आफन्त विष्णु थापाले डा.दास आँत्तिएको देखेर सोध्दा तपाईहरु नआँत्तिनुहोस् भनेको तर साँझ ५ बजेतिर त्यहाँबाट उनी हिडेपछि नफर्किएको बताए । उनले भने, ‘उनी आत्तिँदै यस्तो कहिले भएको थिएन, अब यो पेशाबाटै विदा लिन्छु भन्दै थिए । एकदिनमा बिरामीलाई चाँडो निको होस् भनेर मन्दिर पुगेर आउँछु भन्दै हिडेका उनी त्यसपछि सम्पर्क विहिन भए ।’

डा.दास मृतकलाई छाडेर हिडेपछि राजनीतिक दलका केही नेता आएर ५ लाख लिएर मिल्न आग्रह गरेको आफन्तले बताएका छन् । इलाका प्रहरी धरानका डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेतले मृतकका आफन्तले उजुरी दिएको र अनुसन्धान गर्ने बताए ।

विजयपुर हस्पिटलका निर्देशक प्रभाव खतिवडाले भने शल्यक्रिया अघिसम्म स्वास्थ्य अवश्था राम्रो रहेको तर शल्यक्रियाको २४ घन्टा पछि मुटुमा समस्या देखिएका कारण बीपी प्रतिष्ठान पठाइएको बताए । विजयपुर हस्पिटलमा यसअघि पनि यस्ता घटना पटक पटक भएका छन् ।