बिर्तामाड । नेपाल खेलकुद पत्रकार मञ्च झापाले  ‘एनएसजेएफ झापा स्पोर्टस अवार्ड २०७६’ फागुन २८ गते आयोजना गर्ने भएको छ ।

मञ्चले आइतबार बिर्तामोडमा पत्रकार सम्मेलन गरेर अवार्डबारे जानकारी दिएको हो । २०७४ सालदेखि मञ्चले निरन्तर आयोजना गर्दै आएको अवार्डको यो चौथो संस्करण हो । बिर्तामोडमा आयोजना हुने अवार्ड २०७६ सालभर उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका सफल खेलाडी र प्रशिक्षकलाई प्रदान गरिने मञ्चका सचिव अर्जुन राजवंशीले जानकारी दिए ।

स्वर्गीय फुटबलर आशिषविक्रम नेम्वाङको स्मृतिमा झापामा अवार्ड आयोजना हुँदै आएको छ । प्रदेश नम्बर १ मै चौथोपटक मञ्चको झापा समन्वय शाखाले अवार्ड कार्यक्रम गर्न लागेको हो । कार्यक्रममा साविक मेची अञ्चलका इलाम, पाँचथर, ताप्लेजुङ र झापाका खेलाडी र प्रशिक्षकलाई अवार्ड प्रदान गरिनेछ ।

विगतका वर्षमा जस्तै यसपालि वर्षका उत्कृष्ट खेलाडी पुरुष, वर्षका उत्कृष्ट खेलाडी महिला, युवा वर्ष खेलाडी, वर्ष प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्ड गरी ६ विधामा खेलाडी, प्रशिक्षक, पुराना खेलकर्मीलाई सम्मान गरिने मञ्चका अध्यक्ष हिमाल खरेलले जानकारी दिए ।

वर्ष खेलाडी महिला, पुरुष, युवा र प्रशिक्षकका लागि खेलाडीको मनोनयन सार्वजनिक गरिनेछ । यसका लागि मञ्चको खेलाडी छनोट समितिले आवश्यक तयारी सुरु गरिसकेको बताइएको छ । पिपल्स च्वाइस अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्ड विजेता भने कार्यक्रमकै दिन घोषणा गरिनेछ ।

विगतमा झैँ वर्ष खेलाडी पुरुष विजेतालाई मोटरसाइकल र महिला विधाका विजेतालाई स्कुटर प्रदान गरिनेछ । युवा, प्रशिक्षक र पिपल्स च्वाइस विधाका विजेतालाई जनही २५ हजार र लाइफटाइम एचिभमेन्ट अवार्ड विजेतालाई नगद ३५ हजार रुपैयाँसहित विभिन्न गिफ्ट ह्याम्पर प्रदान गर्ने मञ्चले जनाएको छ ।

अवार्ड कार्यक्रमलाई सफल बनाउन मञ्चका अध्यक्ष हिमाल खरेलको अध्यक्षतामा अवार्ड मुल आयोजक समिति गठन गरिएको छ । मञ्चका सम्पूर्ण सदस्य मुल आयोजक समितिका सदस्य रहनेछन् । मञ्चका सदस्य सचिन सुब्बाको संंयोजकत्वमा प्रतिभा छनोट समिति गठन गरिएको छ । सदस्यहरुमा नमिन ढकाल र चिरञ्जीवी घिमिरे छन् । मञ्चका अध्यक्ष खरेल र सचिव अर्जुन राजवंशी पदेन सदस्य रहनेछन् ।

अवार्ड कार्यक्रमका लागि विभिन्न उपसमिति गठन गरिएको छ । उपाध्यक्ष अमित खम्बू संयोजक रहेको स्वयमसेवक उपसमिति, सहसचिव भूमिका सुब्बा संयोजक रहेको प्रचारप्रसार उपसमिति, कोषाध्यक्ष राजु पौडेल संयोजक रहेको आर्थिक उपसमिति, कार्यसमिति सदस्य विनोद पाण्डे संयोजक रहेको प्राविधिक उपसमिति र सदस्य बुद्ध तामाङ संयोजक रहेको अतिथि सत्कार तथा सांस्कृतिक उपसमिति गठन गरिएको छ ।  

गत वर्ष पुरुषतर्फ शारीरिक सुगठनका उमेश राई, महिलातर्फ करातेकी एस्तर राई, युवातर्फ क्रिकटकी अप्सरी बेगम, र प्रशिक्षकतर्फ फुटबलका हरि खड्काले अवार्ड जितेका थिए । यसैगरी पिपल्स च्वाइसको अवार्ड फुटबलका कर्ण लिम्बूले जितेका थिए भने लाइफटाइम एचिभमेन्ट अवार्ड भलिबलका गणेशविक्रम नेम्वाङलाई प्रदान गरिएको थियो ।