भद्रपुर । राष्ट्रिय भक्का दिवस विविध कार्यक्रमका साथ भद्रपुरमा मनाइएको छ ।

 राजवंशी विकास समिति भद्रपुरको आयोजनामा शनिबार भद्रपुर ४ को वडा कार्यालय परिसरमा भक्का दिवस मनाएको हो । 

वडा नम्बर ४ का वडा अध्यक्ष तथा समितिका नगर अध्यक्ष हंसधर राजवंशीको सभापतित्व तथा प्रदेश सांसद पूर्णसिं राजवंशीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । 

प्रमुख अतिथी राजवंशीले भक्का बनाएर दिवसको उद्घाटन गरेका थिए । जातिय भेषभुषामा सजिएका उनीहरुले विविध साँस्कृतिक नृत्य र भक्का वनाउने तरिका समेत प्रदर्शनी गरेका थिए । कार्यक्रममा १०५ वर्षिया सुमित्रा राजवंशीलाई सम्मान गरिएको थियो । 

नगर सचिव वसन्त राजवंशीले स्वागत गरेको कार्यक्रममा नगर अध्यक्ष हंसधर राजवंशीले औचित्यमाथि प्रकाश पारेका थिए । खगेन राजवंशी र सुजता राजवंशीले सञ्चालन गरेको कार्यक्रममा भद्रपुर मेयर जीवनकुमार श्रेष्ठ, उपमेयर चन्द्रामाया श्रेष्ठ,समितिका पूर्व केन्द्रीय उपाध्यक्ष भरत कुमार राजवंशी,मोरङ अध्यक्ष मनोज कुमार राजवंशी ,संस्थापक सचिव तुलाराम सिं राजवंशी,जिल्ला अध्यक्ष पुकारचन्द्र राजवंशी,संस्थापक सदस्य फालगुनी राजवंशी ,त्रिनारायण राजवंशी लगायतले शुभकामना मन्तव्य र भक्काको विषयमा जानकारी गराएका थिए ।

विषेश गरी धानबाली भित्र्याएपछि जाडो महिनामा चेलीवेटीहरुलाई बोलाएर नयाँ चामलको पिठोबाट निर्मित भक्का  खुवाउने परम्परा रहेको इन्द्रसिं राजवंशीले बताए । यो राजवंशीको मात्र नभइ गनगाइ, ताजपुरिया लगायत आदिवासी जनजातीको दिवस रहेको उनको भनाइ छ । यसको कुनै तिथीमिति नरहेको समेत उनले जनाए ।