धरान । घाइते बनेका प्रदेश १ बास्केटबल खेलाडी प्रदीप गुरुङको उपचारको लागि धरानको सन्जिवनी पुनस्र्थापना केन्द्रले आर्थिक सहयोग गरेको छ ।

गुरुङ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत छन् । मंगलबार केन्द्रका पदाधिकारीहरूले भेटेर नगद १० हजार रुपैयाँ सहयोग गरेको अध्यक्ष सम्पूर्ण ताम्राकारले जानकारी दिए । 

गुरुङ प्रशिक्षणको क्रममा कात्तिक १९ गते घाइते बनेका थिए । सामान्य परिवारका गुरुङको उपचारका लागि धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघले सहयोगको अभियान चलाएको थियो । अभियानको क्रममा करिब २ लाख ५० हजारभन्दा बढी रकम संकलन भएको प्रशिक्षक विकास चाम्लिङले जानकारी दिए । 

सञ्जीवनीले यही पुस २३ र २४ गते प्रथम खुला सञ्जीवनी फुटबल प्रतियोगिता गराउँदै छ । सोअवसरमा केन्द्रले घाइते खेलाडीलाई सहयोग गरेको हो । धरान फुटसलमा हुन लागेको प्रतियोगितामा ३२ वटा टिम सहभागी बन्ने अध्यक्ष ताम्राकारले जानकारी दिए ।

प्रतियोगिताबाट संकलित रकममध्येबाट केन्द्रमा उपचाररत अतिविपन्न पाँचजना बिरामीलाई पनि निःशुल्क उपचार गर्ने तयारी गरिएको छ । २०६५ सालदेखि केन्द्रले लागूऔषध दुव्र्यसनमा फसेका व्यक्तिहरूको उपचार गर्दै आएको छ । केन्द्रका सचिव मनिष मास्केका अनुसार हालसम्म ४ हजारभन्दा बढीलाई पुनस्र्थापित गरिसकेको छ । केन्द्रको कार्यालय धरान १३ मा छ ।