इनरुवा/ शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पौंठेजोरी नखेल्न विरोधीलाई सुझाव दिएका छन् ।

सुनसरीको इनरुवा नगरपालिकामा आयोजित एक कार्यक्रममा मन्त्री श्रेष्ठले मुलुकमा सङ्घीयता विरोधी तŒव सल्बलाउन थालेको बताए । उनले राष्ट्र हितका लागि केपी ओलीबाहेकको विकल्प नरहेको बताए । उनले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने अवस्था आए मुलुकमा सङ्घीयता धरापमा पर्ने बताए । श्रेष्ठले सम्बोधनभरि ओलीको गुणगान गाएका थिए ।

प्रधानमन्त्री ओली समयसापेक्ष चल्न सक्ने नेता भएका कारण सहजै परास्त गर्छु भन्ने भ्रम नपाल्नसमेत विरोधी खेमालाई सुझाव दिए । मन्त्री श्रेष्ठले प्रचण्डको आरोप पत्रको जवाफसमेत ओलीले छिटै दिने बताए । मन्त्री श्रेष्ठ शहरी विकास मन्त्रालय अन्तर्गत सञ्चालन भएका योजनाहरूको अनुगमनका लागि देश दौडाहाका क्रममा सुनसरीको इनरुवा आइपुगेका हुन् ।

टोलीले इनरुवामा सञ्चालित विभिन्न योजनाको स्थलगत अनुगमनसमेत गरेको थियो । मन्त्रीसहितको टोलीलाई नगर प्रमुख राजन मेहताले योजनाहरूका बारेमा जानकारी गराए । मन्त्रालयका तर्फबाट धारणा राख्दै सचिव डा.रमेशप्रसाद सिंहले शहरी विकास मन्त्रालयमार्फत् भएका कामहरू सफलतापूर्वक सम्पन्न गर्नेमध्ये इनरुवा नगरपालिका अब्बल स्थानमा रहेको बताए । कार्य मूल्याङ्कनका आधारमा इनरुवा नगरपालिकाले एडीबीको डेढ अर्ब रकम पाउन लागेको समेत बताए ।