भोजपुर/ भोजपुर जिल्लामा सञ्चालित राडीपाखी र अल्लो उद्योगबाट उत्पादित सामग्रीले बजार नपाउँदा त्यसमा आश्रित परिवार नयाँ विकल्प खोज्नुपर्ने अवस्थामा पुगेका छन् ।

जिल्लामा पुग नपुग नौवटा उद्योग सञ्चालित छन् । राडीपाखीका लागि एकातिर कच्चा पदार्थको अभाव छ भने अर्कातिर बजार अभाव पनि उस्तै रहेको उद्योगी–व्यवसायी बताउँछन् । बजार अभाव हुँदा उद्योग धरासायी बनिरहेको उनीहरू बताउँछन् । राडीपाखी भेडाको ऊनबाट तयार गरिन्छ । जिल्लामा व्यावसायिक भेडापालक कृषकको सङ्ख्या २० जनाको हाराहारीमा रहेको छ । ऊनबाट राडी, जुवारी कोट, लुकुनी, घुमराडी तयार गरिन्छ ।

भोजपुर नगरपालिका–७ डाँडागाउँका भेडापालक सूर्य गोलेका अनुसार एक जनाले २५ वटादेखि २ सयवटासम्म भेडा पाल्ने गरेका छन् । ‘जिल्लामा व्यावसायिक भेडा पाल्नेको सङ्ख्या एकदमै कम छ’ –उनले भने । उनको भनाइलाई आधार मान्दा जिल्लामा करिब ४ हजार भेडा पालिँदै आएको छ ।

उनले थपे, ‘२५ वटाभन्दा कम भेडा पाल्ने कृषकको सङ्ख्या पनि उल्लेख्य छ ।’ उनी कच्चा पदार्थको अभाव नभएको दाबी गर्छन् । हालसम्म भोजपुरको षडानन्द नगरपालिकाको दिङ्लामा राडीपाखीको उद्योग दर्ता रहेको घरेलु तथा साना उद्योग विकास समितिका प्रमुख प्रेम बुढाथोकीले बताए । त्यस्तै भोजपुर नगरपालिका–३ दावामा एउटा अल्लोको उद्योग दर्ता भई सञ्चालनमा छ । उनका अनुसार दर्ता नभएका उद्योगको सङ्ख्या ७ रहेको छ । एउटा राडी तयार गर्न एक धार्नी (साढे दुई केजी) ऊन चाहिन्छ ।

त्यसबाट तयार गरिएको एउटा राडीको बजार मूल्य २५ सयदेखि ३ हजार रुपैयाँसम्म मात्रै रहेको भोजपुर छिनामखुका व्यवसायी रामप्रसाद सुवेदी बताउँछन् । उनले भने, ‘कच्चा पदार्थ र लागत मूल्यका हिसाबले निकै सस्तो हो’ उनले भने, ‘एउटा जुवारीकोट दश हजार रुपैयाँमा बिक्री नगरे लागत उठ्दैन ।’

उनका अनुसार परम्परागत रूपमा तयार गर्दा अझ बढी महँगो पर्न जान्छ । प्रविधिका कारण राडीपाखीको महŒव नै घटेको व्यवसायीको अनुभव छ । जसले गर्दा यस्ता उद्योगबाट आश्रित परिवार अहिले वैकल्पिक रोजागारतर्फ लागेको उनी बताउँछन् । अल्लोको अवस्था उस्तै छ । कच्चा पदार्थको अभावभन्दा पनि त्यसबाट निर्मित सामग्रीले बजार नपाउँदा उद्योगीहरू निराश छन् । अल्लो व्यवसायी मालती कुलुङका अनुसार अल्लोको कच्चा पदार्थ बनाउनका लागि निकै समय खर्चिनुपर्ने हुन्छ । ‘लामो प्रक्रियाबाट मात्रै अल्लोको कच्चा पदार्थ बन्छ, अल्लोको रेसा निकालेर सुकाउने, पकाउने, कुट्ने, धुनेलगायतका प्रक्रिया अपनाउनु पर्छ’–उनले भनिन् ।

निराश हुँदै उनले भनिन्, ‘धेरै श्रम गरेर सामग्री उत्पादन गर्छौं तर, गाउँमा बिक्री हुँदैन, भोजपुर बजार पुग्न एक दिन हिँडेर गाडी चढ्नुपर्छ, त्यो पनि सस्तोमा खोज्छन् ।’ श्रमको मूल्य पनि नउठ्ने भएपछि अल्लो उत्पादनमा ध्यान नदिएको उनी बताउँछिन् । अल्लोबाट कोट, स्टकोट, झोला, जुत्ता, टोपी, दौरा सुरुवाल, फरियालगायत बनाउन सकिन्छ ।

घरेलु तथा साना उद्योग विकास समितिले अल्लो उद्योगलाई प्रवद्र्धन गर्न साल्पासिलिछो गाउँपालिका, टेम्केमैयुङ गाउँपालिका र भोजपुर नगरपालिकाको हेलौंछामा अल्लोको कपडा बुन्ने तालिम आयोजना गर्न लागेको छ । जिल्लाको उत्तरी क्षेत्र कुलुङ, खार्ताम्छा, दोभाने र पूर्वी अरुण गाउँपालिकामा अल्लोको खेती गरिन्छ ।