ताप्लेजुङ । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारको लोकप्रियतालाई देखेर आत्तिएका विभिन्न पक्षले सरकार परिवर्तन हुँदैछ भन्ने नकारात्मक सन्देश फैलाएको आरोप लगाएका छन् ।

ताप्लेजुङको हिमाली गाउँ घुन्सामा स्थापित सामुदायिक स्वास्थ्य एकाइ भवनको सोमबार उद्घाटन गर्दै उनले सरकार मुलुकको समृद्धिका लागि चौतर्फी रुपमा लागिपरेको जनाउँदै देशको समृद्धि नचाहने मान्छे विभिन्न तत्व सरकारविरुद्ध लागेको बताए । उनले सरकारविरुद्ध भइरहेका भ्रमपूर्ण प्रचारको पछि नलाग्न सबैमा आग्रह गरे । “हामी समृद्धिका लागि अघि बढिरहेका छौँ तर केही पक्ष लोकतान्त्रिक प्रणालीविरुद्ध भ्रम फैलाइरहेका छन्, यो कार्य त्रुटिपूर्ण हो”, प्रधानमन्त्री ओलीले भने ।

अर्काे प्रसङ्गमा उनले छिमेकी मुलुकसँगको सम्बन्धलाई सुदृढ गर्ने नीति सरकारले लिएको बताए । छिमेकी भारतद्वारा मिचिएको भूमि फिर्ता लिन गर्न गरेको प्रयास, भारत र चीन दुवैसँगको सम्बन्धलाई अझ सुधार, बन्द नाका खोल्ने जस्ता कार्यले वर्तमान सरकार सफल हुँदै गएको उनको भनाइ थियो । उनले घुन्सा जस्तो दुर्गम गाउँ आगामी तीन वर्षमा नै सुगममा परिणत हुने बताउँदै यस क्षेत्रको विकासका लागि यातायातलगायत पूर्वाधार निर्माणमा सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

यस्तै हालसम्म कञ्चनजङ्घामा आउने पर्यटकका लागि लिनुपर्ने विशेष अनुमति प्रावधान खारेज गरिने र पर्यटकका लागि सो क्षेत्र खुला गरिने उनले बताए । घुन्सावासीले राखेका विभिन्न मागलाई सरकारले ध्यान दिनेसमेत उनको भनाइ थियो । सो अवसरमा प्रधानमन्त्रीकी धर्मपत्नी राधिका शाक्यले घुन्सा आधारभूत विद्यालयका १० विद्यार्थीलाई रु पाँच लाखको छात्रवृत्ति दिने भएकी छन् । उनले ज्येष्ठ नागरिकलाई न्यानो कपडासमेत वितरण गरेकी थिइन् । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता सुवास नेम्बाङलगायतको सहभागिता थियो ।

प्रधानमन्त्रीसमक्ष घुन्सावासीले राखे माग

घुन्साबासीले प्रधानमन्त्री ओली समक्ष विभिन्न माग राखेका छन् । बुँदागत रुपमा नै तयार परिएको मागपत्र प्रधानमन्त्रीलाई स्थानियले बुझाए ।
मागपत्रमा घुन्सालाई नमूना गाउँका रुपमा विकास गर्न स्थानियले माग गरेका छन् । पर्यटन प्रवर्द्धनका लागि विशेष अनुमति खारेज गर्नुपर्ने, कञ्चनजङ्घा पदमार्गको स्तरोन्नति गर्नुपर्ने, घुन्सा लघु जलविद्युत्को क्षमता वृद्धि गरी खम्बाचेन, ग्याब्ला र अम्जिलासालगायत गाउँमा विद्युतीकरण विस्तार गर्नुपर्ने जस्ता आग्रह गरेका हुन् ।

यस्तै यस क्षेत्रको पहिलो बस्ती खम्बाचेनको नापी छुट भएका जग्गाको पुरानो प्रमाणपत्रका आधारमा नापी गरी लालपुर्जा उपलब्ध गराउन र यहाँका स्वास्थ्य संस्थामा दक्ष स्वास्थ्यकर्मी उपलब्ध गराइदिनसमेत स्थानीयवासीले अनुरोध गरेका छन् । घुन्सामा २०७१ सालमा नै सामुदायिक स्वास्थ्य एकाइ स्थापना भएको थियो । सदरमुकाम फुङ्लिङबाट सवारी साधन र पैदल गरी दुई दिनका समयमा मात्र पुगिने घुन्सामा पर्याप्त स्वास्थ्यकर्मी भए स्थानीयवासीलाई मात्रै नभई देशविदेशबाट आउने पर्यटकलाई समेत फाइदा पुग्ने स्थानीयवासीको भनाइ छ ।