लहान । शल्यक्रिया गर्दा अत्यधिक रक्तश्रावको कारणले सिरहामा सुत्केरी महिलाको मृत्यु भएको छ । मृतकका आफन्तले शल्यक्रिया गर्दा लापरबाही भएकाले मृत्यु भएको दाबी गरेका छन् ।

सिरहाको लहान नगरपालिका–३ स्थित डिभाइन हेल्थ केयर अस्पतालमा शल्यक्रिया गर्दा सुखीपुर नगरपालिका–९, मोहनपुरका प्रमोदकुमार साहकी पत्नी २७ वर्षीया आरतीकुमारी साहको शनिबार राती करिब सवा ८ बजे मृत्यु भएको हो ।

आमाको मृत्युपछि शल्यक्रिया गरी निकालिएको छोरी नवजात शिशुको आइसियुमा राखेर उपचार भइरहेको प्रहरीले जनाएको छ । दोस्रो बच्चा जन्माउन एम्बुलेन्समा अस्पताल पुगेकी आरतीलाई अस्पताल संचालक समेत रहेका डा. चन्द्रशेखर यादवले शल्यक्रिया गरेको मृतकका पति साहले बताए । सुत्केरीको मृत्यु भएपछि शल्यक्रिया गरेर छोरी निकालेपछि राती साढे ७ बजेसम्म बिरामी ठीकै छ भन्दै डा.यादवसहित अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीहरु एक एक गरी नौ बजेसम्म निस्किएको उनले बताए ।

अस्पताल खाली भएपछि राती सवा ८ बजेतिर तेस्रो तलामा रहेको शल्यक्रिया कक्षमा गएर हेर्दा ढोका बन्द गरेर मृतकलाई त्यतिकै छाडेर भागेको उनले बताए । शल्यक्रियापछि अत्यधिक रक्तश्रावले सुत्केरीको मृत्यु भए लगत्तै अस्पताल संचालकसहित सबै जना राती नै फरार भएपछि रातीदेखि नै जम्मा भएका मृतकका आफन्त र स्थानीयले आइतबार बिहान ८ बजेदेखि पूर्व पश्चिम सडक अन्तर्गत लहानको अस्पताल चोक खण्डमा गरेको चक्काजाम दुई घण्टापछि खुलेको छ । ‘सुत्केरीको हत्यारालाई कारबाही गर, अवैध अस्पताल बन्द गर’ लगायतका नारा लगाउँदै चकाजाम गरेका आफन्त र स्थानीयले अस्पताल समेत तोडफोड गरेका छन् ।

अस्पतालको मुख्य गेडमै रहेको फार्मेसीमा रहेका औषधि, फर्निचर लगायतका सामग्रीहरु फाल्दै सटरभित्र हालिएको सिसा तोडफोड गरिएको छ । मृतकको शव अस्पतालको तेस्रो तलामा रहेको शल्यक्रिया कक्षमा ताला लगाएर राखिएको छ । अस्पताल परिसरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।