धरान/ वन विनाशलाई कम गर्नसके कार्वन सञ्चिती बढाएर सन्तुलित वातावरण कायम राख्न सकिने वनस्पतिविज्ञले बताएका छन् । जथाभावी वनविनाशले कार्वनडाई अक्साइडको सञ्चिती घट्दै जाने भएकाले सन्तुलित वातावरण कायम राख्न नसके निकट भविष्यमा ग्लोबल वार्मिङको चपेटामा परिने निश्चित रहेको वनस्पतिविज्ञ सह–प्राध्ध्यापक डा. दिलकुमार लिम्बू (हाङ्सुरुङ) ले बताए ।

धरान–१४ विजयपुर क्षेत्रमा रहेको पञ्चकन्या जङ्गलको कार्वन स्टक अध्ययन गरिरहेका केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारका क्याम्पस प्रमुखसमेत रहेका डा. लिम्बूले सन्तुलित वातावरणका लागि कार्वनडाई अक्साइडको सञ्चिती बढाउन वनजङ्गल विनाशमा रोक लगाउनु पर्नेमा जोड दिए ।

विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोगमा जङ्गलमा भएका रुख बिरुवाले गर्ने कार्वन सञ्चितीमाथि वैज्ञानिक अध्ययन गरिरहेका लिम्बूले भने, ‘हामीले जङ्गलमा रहेको माटो, सूक्ष्म जीवाणु, पोथ्रा, बुट्यान तथा रुखहरूमा सञ्चित कार्वनको मात्रा अध्ययन गरिरहेका छौं ।’

उनका अनुसार कार्वनडाई अक्साइडले वायुमण्डलको करिब शून्य दशमलव २१ प्रतिशत अंश ओगटेको हुन्छ । जैविक इन्धनहरूको दोहनबाट ऊर्जा उत्पन्न हुने क्रममा त्यहाँ रहेको कार्वन छुट्टिन गई वायुमण्डलमा रहेको अक्सिजनसँग मिलेर कार्वनडाई अक्साइड बन्छ । यसरी ऊर्जा दोहनबाट थप हुने कार्वनडाई अक्साइडले वातावरणमा असन्तुलन उत्पन्न गरी पृथ्वीको तापक्रम बढाउँछ । यसलाई हरितगृह प्रभाव पनि भनिन्छ ।

डा. लिम्बूले भने, ‘त्योसँगै उक्त क्षेत्रको माटोको पानी सोस्ने क्षमता, विद्युत् चालकता, नाइट्रोजन र फस्फोरसको मात्रासमेत अध्ययन गरिरहेका छौं । सो अध्ययनबाट यस क्षेत्रमा भएका बोट बिरुवाहरूले पारिस्थितिक पद्दति प्रणालीमा पारेका प्रभावहरू समेत थाहा पाउन सकिनेछ ।’

उनका अनुसार अहिले भइरहेको अध्ययन केवल अनुसन्धानका लागि मात्र नभई त्यहाँको जङ्गलको रुख बिरुवामा स्टक भएको कार्वनको मात्रा थाहा पाई कार्वन विजनेस गर्न, उक्त क्षेत्र वरिपरि रहेका अन्य जङ्गलहरूका बारेमा रिफरेन्सका रूपमा प्रयोग गर्न, माटोको गुणस्तर थाहा पाउन समेत कार्वन उत्सर्जन र सञ्चितीको वैज्ञानिक अध्ययन उपयोगी हुनेछ ।

रुख बिरुवाले प्रकाश संश्लेषण प्रक्रियाका लागि कार्वनडाई अक्साइड ग्यासलाई लिने गर्दछ । त्यो प्रक्रिया हुँदा कार्वनडाई अक्साइड ग्यास बिरुवाले स्टक गरेर राख्ने गर्दछ । विभिन्न मानवीय क्रियाकलापबाट उत्पन्न भएको करिब २५ प्रतिशत कार्वनडाई अक्साइड बोट बिरुवाहरूले लिने गरेको विभिन्न अध्ययनहरूले देखाएको पनि उनले बताए ।

उनले भने, ‘एउटा परिपक्व रुखले एक वर्षमा करिब ४८ पाउण्ड अथवा २१ दशमलव ७८ किलोग्राम कार्वनडाई अक्साइड ग्यास सोस्ने गरेको विभिन्न अध्ययनहरूले देखाएको छ । यसलाई आधार मान्ने हो भने एउटा परिपक्व रुख काट्नु भनेको प्रत्येक वर्ष २१ दशमलव ७८ किलोग्राम कार्वनडाई अक्साइड ग्यास थप्दै जानु हो ।’

विकास निर्माणको नाममा जथाभावी जङ्गल फँडानी, तीव्र जनसङ्ख्या वृद्धिसँगै वन जङ्गल अतिक्रमणमा समेत तीव्रता आएको छ । विभिन्न विकासका गतिविधिहरूले समेत वन जङ्गल फँडानीमा व्यापकता पाएको छ । यसरी वन जङ्गल फँडानी भइरहेमा पारिस्थतिक पद्दति प्रणालीमा असर पर्नुका साथै ग्लोबल वार्मिङमा समेत बढावा पुग्ने उनले बताए ।

उनका अनुसार मानिस र बोट बिरुवाको सम्बन्ध आदिम कालदेखि रहिआएको छ । आदिम कालमा जङ्गल नै मानिसहरूको बासस्थान भएको थियो । जङ्गलको प्रभाव वातावरणीय, स्वास्थ्य तथा विज्ञानका क्षेत्रमा मात्र नभई अन्य सामाजिक, आर्थिक, धार्मिक तथा सांस्कृतिक क्षेत्रहरूमा समेत रहेकोले मानवीय सभ्यताको लागि यसको बारेमा बृहत् अध्ययन गर्न आवश्यक रहेको डा. लिम्बूले बताए ।

उनका अनुसार जैविक विविधताका लागि बोट बिरुवाको भूमिका अत्यन्तै महत्वपूर्ण हुन्छ । धेरै प्रजातिका बिरुवाहरू हुनु भनेको पनि धेरै जैविक विविधता हुनु हो । जैविक विविधताले विश्व अर्थतन्त्र, औषधि विज्ञान, आर्थिक क्षेत्रमा समेत महत्वपूर्ण भूमिका खेल्छ । बोट बिरुवाको संरक्षण गर्दै, जैविक विविधता बढाउन, ग्लोवल वार्मिङ कम गर्न सरकारले आफ्ना कानूनलाई सही तरिकाले प्रयोगमा ल्याउनु पर्दछ । उत्कृष्ट कागजी कानूनले मात्र वन जङ्गलको संरक्षण हुन नसक्ने वनस्पतिविज्ञ डा. लिम्बूले बताए ।

उनले भने, ‘विकास निर्माणका कार्यहरू गर्दा वन जङ्गल क्षेत्रलाई बचाउने प्रयास गर्नु पर्दछ । वृक्षरोपणजस्ता कार्यहरूलाई बढावा दिँदै र गाईवस्तुहरूको चरनहरूलाई व्यवस्थित गर्नसके धेरै हदसम्म बोट बिरुवाको संरक्षण हुने कुरामा दुईमत नहोला ।’ डा. लिम्बूले यसअघि आफ्नो विद्यावारिधिको वैज्ञानिक शोधपत्रमा नेपालको पूर्वी हिमाली उच्चक्षेत्रमा कार्वन सञ्चितीको अवस्थाबारे अध्ययन गरेका थिए ।