धरान/ सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको चरम मतभेदले अझै ‘नयाँ दिशा’ पाउन सकेको छैन । फेरि एकपटक १० दिनका लागि सचिवालय बैठक सरेको छ ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको तीव्र मतभेदले नयाँ दिशा पाउन नसकिरहेका बेला प्रचण्डले अर्का अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई सङ्गीन आरोप लगाएका छन् । प्रम ओलीले भ्रष्टाचारीलाई सहयोग गरेकोलगायतका लिखित आरोप लागेपछि त्यसको प्रतिरक्षामा सचिवालय बैठक नै सारिएको चर्चा राजनीतिक वृत्तमा चुलिएको छ । प्रम ओलीले पनि त्यसलाई पुष्टि गर्ने गरी बिहीबार प्रचण्डले आफूमाथि लगाएका आरोप सही ठहरिएमा प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद छाड्ने उद्घोष गरेका छन् ।

केही दिनअघि प्रचण्डले लिखित रूपमा नै ओलीमाथि आरोप लगाएका थिए । तर, ओलीले प्रचण्डलाई अर्को चुनौती पनि दिएका छन् । आफूमाथि लगाइएको आरोप पुष्टि नभएमा प्रचण्डले नै अध्यक्ष पद त्याग्नुपर्ने चुनौती दिएका हुन् । बुधबार बसेको नेकपाको केन्द्रीय सचिवालय बैठकमा अध्यक्ष ओलीले आफूमाथि लागेको आरोप सही नभएमा अर्का अध्यक्ष जवाफदेही हुनुपर्ने बताएका थिए । उक्त कुरा गोरखापत्रको अनलाइन संस्करणमा प्रकाशित मन्तव्यको पूर्णपाठमा उल्लेख गरिएको छ । ओलीले भनेका छन्, ‘यदि यो सही छ भने एउटा हट्नुपर्छ, सही छैन भने अर्को हट्नुपर्छ ।’

गत वैशाख यतादेखि नेकपामा विवादको बीजारोपण भएको थियो । तर, त्यसबेला सामान्य रूपमा विवाद देखिए पनि हाल आएर भने विवाद निकै अगाडि बढेको छ । यहाँसम्म कि पार्टी विभाजनतर्फ लम्किने सङ्केतहरू पनि देखिएका छन् ।

केन्द्रीय सचिवालयका पाँच जना सदस्यले सचिवालय बैठक बोलाउन बारम्बार आह्वान गर्दै लिखित पत्र समेत बुझाए पनि ओलीले आलटाल गर्दै आएका थिए । ओली पक्षधरले प्रचण्ड पक्षले प्रस्ताव नै फिर्ता लिनुपर्नेसम्मको आवाज उठाउँदै आएका थिए । बुधबार बैठक बसे पनि १० दिनका लागि सारिएको छ । प्रचण्डले बुझाएको प्रस्तावमा भ्रष्टाचारीलाई संरक्षण गरेकोलगायतका गम्भीर आरोप लागेको छ ।

पार्टीको मतभेद राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पनि पुगेको थियो । राष्ट्रपतिले उपाध्यक्ष वामदेव गौतमलाई मिलाउनका लागि आग्रहसमेत गरेकी थिइन् । तर, अहिले गौतम पनि प्रचण्डनिकट छन् । उनले पनि सचिवालय बैठक बोलाउनुपर्ने अडान लिँदै आएका छन् । उनको अडानपछि भने ओली लचिलो देखिएका थिए । केही दिनअघि मात्रै गौतमले ओलीलाई सच्चिनका लागि आग्रह गरेका थिए । ओलीले आफूमाथि लागेको आरोपलाई लिखित रूपमा एक–एक गर्दै प्रतिवाद गर्ने बताएका छन् ।