भद्रपुर । झापाको हल्दीबारी गाउँपालिकाको सातौं गाउँ सभाको विवाद समाधान भएको छ ।

विहीबार विहान गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङ्देनको अध्यक्षतामा गाउँपालिकाको सभाहलमा आयोजित विशेष सभाको बैठकले सातौं गाउँ सभा सम्पन्न गरेको हो ।

अधिवेशनको पहिलो बैठक असार १० र दोस्रो बैठक साउन २६ बाट पारित बजेट, नीति तथा कार्यक्रम र सोसँग सम्बन्धित आर्थिक ऐन,२०७७ र विनियोजन ऐन,२०७७ सर्वसम्मतले अनुमोदन गर्ने निर्णय गरेको हो । दुवै सभा उपाध्यक्ष डम्बर बहादुर गिरीको अध्यक्षतामा पारित भएपनि अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको उपस्थिती नभएका कारण प्रमाणिकरण भएको थिएन ।

गत असार १० गते आयोजित सातौं गाउँ सभाको पहिलो बैठकमा जलथल जङ्गल र आवादी सीमानाको सडक नामाकरणको विषयलाई लिएर जनप्रतिनिधिहरुको बीचमा विवाद भएको थियोे । उक्त विवाद पश्चात् गाउँपालिकाका अध्यक्ष लिङ्देन लगायत राप्रपा र नेपाली काँङ्ग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले गाउँ सभा बहिष्कार गरेका थिए ।

सभामा कार्यकर्ताहरुले गाउँपालिकाको सभाहल तोडफोड समेत गरेका थिए । तोडफोड पश्चात् उपाध्यक्ष गिरी लगायत नेकपाबाट निर्वाचित जनप्रतिनिधिहरुले प्रकृया बमोजिम बजेट, नीति तथा कार्यक्रम, आर्थिक विधेयक र विनियोजन विधेयक पारित गर्दै सभाहल तोडफोड गर्ने व्यक्तिहरुका विरुद्ध सार्वजनिक मुद्दा दर्ता गर्ने निर्णय समेत गर्दै बैठक सम्पन्न गरेका थिए । उपाध्यक्षको अध्यक्षतामा गाउँसभा वसेपछि हल्दीबारीमा विवाद चुलिएको थियोे ।