धरान । नेपाल सरकारले बङ्गलादेश सरकारसँग मल किन्ने निर्णय गरेको छ ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले ५० हजार मेट्रिक टन मल किन्ने निर्णय भएको जनाइएको छ । बङ्गलादेश सरकारसँग यसअघि मल पैंचो ल्याउने गरी सहमति गरेको थियो । तर, बङ्गलादेश सरकारले सहमति लत्याएपछि मल किन्ने निर्णय गरेको मन्त्रिपरिषद् बैठकमा सहभागी एक नेताले काठमाडौंका अनलाइनलाई बताएका छन् ।

सरकारले नेपालमै मल कारखाना खोल्न आवश्यक तयारी गर्ने निर्णय समेत गरेको छ । मल कारखानाको प्रक्रिया अगाडि बढाउनका लागि अर्थमन्त्री विष्णु पौडेल, उद्योगमन्त्री लेखराज भट्ट र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई जिम्मेवारी दिइएको जनाइएको छ । तीन सदस्यीय समितिले कारखाना खोल्नका लागि योजनाको प्रस्ताव तयार गर्नेछन् । सोही प्रस्तावअनुसार कारखाना खोल्ने बाटो तयार हुने छ ।

यसपटक किन्न लागिएको मल भने गहुँ खेतीका लागि हो । यतिबेला कृषकहरूले तराईका जिल्लामा गहुँ खेती गर्ने गरेका छन् ।