भोजपुर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई गृह जिल्ला भोजपुरमा दुई दिनसम्म विभिन्न आयोजनाहरु शिलान्यास र उद्घाटनमा व्यस्त बनेका छन् ।
आईतबार गृह जिल्ला भोजपुर आएका मुख्यमन्त्री राईले सोमबार टयाम्के डाँडामा रहेको भ्यु टावरकोे शिलान्यास गरे । टावरको शिलान्यास गर्दै मुख्यमन्त्री राईले प्रदेश एककै महत्वपूर्ण धार्मिक पर्यटकीय क्षेत्र टेम्के डाँडामा निर्माण हुन लागेको भ्यु टावर समयमै गुणस्तरिय ढंगबाट निर्माण सम्पन्न हुने विश्वास व्यक्त गरे ।
मुख्यमन्त्री राईले आईतवार खानेपानी तथा सरसफाई डिभिजन भोजपुरको कार्यालय र भोजपुर टक्सार विमानस्थल सडकको उद्घाटन गरेका थिए । आईतवार नै उनले भोजपुर सभाहल र यलम्बर सभाहलको पनि शिलान्यास गरेका थिए । यस्तै टेम्के मैयुङ गाउँपालिकालाई उज्यालो गाउँपालिका समेत घोषणा गरिएको छ । मुख्यमन्त्री राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा टेम्के मैयुङलाई सोमवार उज्यालो गाउँपालिका घोषणा गरिएको हो ।