अमेरिका । संयुक्त राज्य अमेरिकाको नयॉ राष्ट्र्पतिमा जो बाइडेन निर्वाचित भएका छन् । ब्याटलग्राउण्ड मानिएको राज्य पेन्सिलभेनिया र नेभादामा डेमोक्रेटिक पार्टीका उम्मेदवार बाइडेनले जित हासिल गरेसँगै उनी अमेरिकाको ४६औं राष्ट्रपती मा विजयी भएका हुन् । बाइडेनले अब २०२१ को जनवरी २० मा सपथ लिएपछि आधिकारिक रूपमा ह्वाइटहाउस प्रवेश गर्नेछन् । 
 
सन् १९४२ मा अमेरिकाको औद्योगिक राज्य पेन्सिलभेनियामा जन्मिएका बाइडेनले राजनीतिमा ४ दशक पारगरिसक्दा आन्तरिक जीवनमा अतुलनीय क्षति व्यहोर्दै श्रीमती, छोरी र जेठो छोरा आफूबाट सदाका लागि गुमाए । विदेशमामिलाका जानकार तथा आप्रवासीप्रति नरम एवं सालिन स्वभावका बाइडेनले विश्वको महाशक्ति राष्ट्रको प्रमुख कार्यकारी पदमा बसेर गर्ने व्यवहार, कार्यशैली र रणनीतिले उनको जीवनको परीक्षण गर्नेछ । 
 
निकै प्रतिस्पर्धात्मक राष्ट्रपतीय निर्वाचनमा २० इलेक्टोरल मत रहेको पेन्सिलभेनिया र ६ इलेक्टोरल मत रहेको नेभादा राज्यमा शनिवार विहान सम्पन्न मतगणनाको अन्तिम नतीजा बाइडेनको पक्षमा आएको छ । योसँगै उनले कूल २९० इलेक्टोरल मत प्राप्त गर्दा विपक्ष रिपब्लिकन पार्टीका उम्मेदवार वर्तमान राष्ट्रपती डोनाल्ड ट्रम्पले २१४ इलेक्टोरल मत हासिल गरेका छन् । बाइडेनले राष्ट्रपती चुनाव जित्नका लागि चाहिनेभन्दा २० मत बढी हासिल गरिसकेका छन् ।
 
नयॉ राष्ट्रपती चयनका लागि अमेरिकाका ५० वटै राज्यमा मंगलबार आमनिर्वाचन भएको थियो । चुनावी मैदानमा उत्रेका दुई उम्मेदवारहरू राष्ट्रपती ट्रम्प र पूर्व उपराष्ट्रपती बाइडेन बीच भएको निकै कडा प्रतिस्पर्धामा बाइनेडले बाजी मारेका छन् । अमेरिकामा इलेक्टरल कलेज प्रणाली (निर्वाचक मण्डल) को माध्यमबाट नयॉ राष्ट्रपती निर्वाचित हुने संवैधानिक व्यवस्था रहेको छ । कूल ५३८ मत रहेको इलेक्टरल कलेजबाट चुनाव जित्नका लागि उम्मेदवारलाई कम्तीमा पनि २७० मतको आवश्यकता पर्दछ ।  
 
राष्ट्रपतीमा जित हासिल गर्नका लागि बाइडेनलाई ६ इलेक्टोरल मत रहेको डेमोक्रेटिक पार्टीको पकडक्षेत्र मानिएको राज्य नेभादा नै काफी थियो । तर,सुरूवाती चरणमा ट्रम्पले अग्रता लिएको पेन्सिलभेनिया राज्यमा समेत विजय प्राप्त गरेपछि उनको जीत अझै फराकिलो बनेको हो । 
 
आफ्नो पकडक्षेत्र नेभादा राज्यको कूल ६ इलेक्टोरल मतसहित उनलाई चुनाव जित्न आवश्यक इलेक्टोरल मत सहज रूपमा प्राप्त हुने हुँदा बाइडेनको जित सुनिश्चित भएको भन्दै डेमोक्रेटिक नेताहरूले ३ दिन अघिबाटै बदाई साटासाट गर्दै विजयी उम्मेदवारको रूपमा उनको दावी पेश गरिरहेका थिए । नोवेल कोरोना भाइरसको महामारीकै बीच सम्पन्न भएको राष्ट्रपतीय निर्वाचनको पूर्वसन्ध्यामा विभिन्न स्वतन्त्र निकाय तथा मिडिया हाउसहरूले सार्वजनिक गरेका मत सर्वेक्षणमा समेत बाइडेनलाई ९ देखि १२ अंकसम्मको अग्रता देखाइएको थियो । तर, अब ३ राज्यको मात्रै मतगणना बॉकी रहँदासम्म लोकप्रिय मतको दुरी दुवैबीच करीव ३ अंकको फरक छ ।
 
यता २००८ को बाराक ओबामाको रेकर्डलाई तोड्दै बाइडेनले यस राष्ट्रपतीय निर्वाचनमा अहिलेसम्मकै बढी झण्डै ७ करोड ५० लाख मत प्राप्त गरी सर्वाधिक धेरै लोकप्रिय मत पाउने नेताको इतिहास बनाएका छन् । यो समाचार तयार पार्दासम्म ट्रम्पले भने बाइडेनको भन्दा झण्डै ५० लाख कम मत पाएका छन् । २००८ मा ओबामाले पुगनपुग करीव ७ करोड लोकप्रिय मतपाएका थिए । मतगणना हुन बॉकी तथा निकै कडा प्रतिस्पर्धा भइरहेका राज्यहरूमा नर्थ क्यारोलिना(१६ मत) र अलास्का(३मत) मा ट्रम्पको अग्रता छ भने जर्जिया (१५मत) मा बाइडेन अगाडि छन् । यदि गणना हुन बॉकी सवै राज्यको इलेक्टोरल मत ट्रम्पको पक्षमा गएपनि उनको कूल २४८ मत मात्रै हुनेछ । यो चुनाव जित्नलाई पर्याप्त हुने छैन । कडा प्रतिस्पर्धात्मक राज्यहरूको मतगणनालाई रोक्न माग गर्दै ट्रम्प न्यायालयसम्म पुगेका छन् ।
 
शनिबार विहान प्राप्त ताजा रिपोर्टबमोजिम बाइडेनको अवस्था करीव ५१ प्रतिशत पुग्दा रिपब्लिकन उम्मेदवार ट्रम्पको ४८ प्रतिशत नजिक रहेको छ । यद्यपि बॉकी रहेका ३ राज्यको मतगणना गर्न अझै केही समय लाग्नेभएकाले निर्वाचनको अन्तिम परिणाम आउन केही दिनलाग्न सक्ने निर्वाचन अधिकारीहरूले बताएका छन् । 
 
मत परिणामलाई लिएर उत्पन्न हुन सक्ने परिस्थितिप्रति सजगरहदै सुरक्षा निकायले देशभर सुरक्षा सतर्कता बढाएको छ । कतिपय शहरमा बाइडेनका सर्थकहरूले विजयजुलुस समेत गरिरहेका छन् ।
कोभिड-१९ का कारण उत्पन्न प्रतिकूल अवस्थालाई ध्यानमा राख्दै निर्वाचन बोर्डले चुनावको दिनभन्दा अगाडि  नै भोट हाल्ने व्यवस्था (अर्ली भोटिगं) गरेअनुसार झण्डै १० करोड मानिसले हुलाकको माध्यम तथा स्वयं उपस्थित भई चुनावको दिनभन्दा पहिले नै मतदान गरेका थिए । अमेरिकामा यसपटक १५ करोड बढी मतदान भएको बताइएको छ । 
 
करीव ३३ करोड जनसंख्या रहेको अमेरिकामा मताधिकार प्राप्त १८ वर्ष माथिका नागरिकको संख्या २४ करोड बढी रहेको विभिन्न रिपोर्टहरूमा उल्लेख गरिएको छ । यसपटकको राष्ट्रपतीय निर्वाचनमा झण्डै ५० हजार नेपालीले समेत मतदान गरेको अनुमान गरिएको छ । संसारलाई प्रभाव पार्नसक्ने सर्वशक्तिमान राष्ट्र अमेरिकाको राष्ट्रपतीय निर्वाचनलाई राष्ट्रीय तथा अन्तर्राष्ट्रीय क्षेत्रमा सर्वाधिक चासो र महत्वका साथ हेरिएको छ । 
 
आगामी ४ वर्षे कार्यकालका लागि ह्वाइटहाउस प्रवेशको अनुमति प्राप्त गरिसकेका ओबामा शासनकालका पूर्वउपराष्ट्रपती जो बाइडेनलाई अब १४ डिसेम्वरमा इलेक्टरले औपचारिक रूपमा निर्वाचित गर्ने छन् भने यसैको आधारमा आगामी जनवरी ६ मा संसदले उनलाई आधिकारिक रूपमा राष्ट्रपती घोषणा गर्ने छ । 
 
निर्वाचनलाई ७४ वर्षिय वर्तमान राष्ट्रपती डोनाल्ड ट्रम्प आफ्नो कार्यकाल दोहोरियाएर जनतामाझ सकारात्मक छाप छाड्दै राजनेताको छवि निर्माण गर्ने दिशामा उपयोग गरेको देखिन्छ भने आफ्ना प्रतिद्वंद्वीभन्दा झण्डै ३ वर्ष पाका उम्मेदवार जो बाइडेन सक्रिय राजनीतिमा सामेल भएको करीव ४० वसन्तपछि राष्ट्रको सर्वोच्च कार्यकारी पदको ४६औं नम्वरमा आफ्नो नाम दर्ता गरी जीवनको उत्तरार्द्धलाई अविस्मरणीय बनाउन लागिपरेका छन् ।
 
यसैबीच कमला ह्यारिस उपराष्ट्रपती मा विजयी भएकी छन् । उनी डेमोक्रेटिक पार्टीको तर्फबाट उम्मेदवार बनेकी थिइन । सन् १९६४ मा अमेरिकाको क्यालिफोर्नियामा जमैकन बुबा र भारतीय मुलकी आमाबाट जन्मिएकी ह्यारिसले अमेरिकाको पहिलो महिला उपराष्ट्रपती बनेर इतिहास रचेकी छन् ।