विराटनगर । सुनसरीको रामधुनी नगरपालिका घर भएकी एक किशोरीलाई बेच्नका लागि भारत लैजाने गिरोहका मुख्य नाइकेसहित तीन जनालाई पुर्पक्षको लागि थुनामा राख्न अदालतले आदेश दिएको छ ।

‘मानव बेचबिखन तथा ओसारपसार’ मुद्दामा पक्राउ परेका तीन जना अभियुक्तहरूलाई मोरङ अदालतका मुख्य न्यायधीश मेदिनीप्रसाद पौडेलको इजालासले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

अदालतको आदेशपछि पक्राउ परेका मोरङको लेटाङ्ग नगरपालिका ३ घर भइ रामधुनी नगरपालिका ५ झुम्कामा बस्ने २२ वर्षीया मनिका ढकाल र सप्तरीको विष्णुपुर गाउँपालिका ५ का २८ वर्षीय सुमितकुमार मण्डल पुर्पक्षको लागि विराटनगर कारागार चलान भएको मोरङ अदालतका सूचना अधिकारी राजेन्द्र धमलाले जानकारी दिए ।
सोही मुद्दाका सप्तरीको तिलाढी कौलारी गाउँपालिका १ का १७ वर्षीय एक जना नावलक भएकोले उनलाई अदलातले विराटनगरस्थित बाल सुधार गृह पठाएको छ ।

उनीहरूले सुनसरीको रामधुनी नगरपालिकाका १८ वर्षिया ती किशोरीलाई झुक्याएर बलि दिनका लागि भारत बेच्न लैजान लागेको आरोपमा विराटनर १७ स्थित नेपाल र भारतको सिमा नाका इस्लामपुरबाट असोज ४ गते प्रहरी र साना हातहरु नामक संस्थाले पक्राउ गरेको थियो ।