विराटनगर । सुनसरीकी एक किशोरीलाई १६ लाख रुपैयाँमा बिक्री गर्न भारत लैजाँदै गर्दा उद्धार गरिएको छ ।

उनलाई भारत तर्फ लैजाने तीन जना पक्राउ परेका छन् । सुनसरी रामधुनी नगरपालिका घर भएकी १८ वर्षिय किशोरीलाई भारत विक्री गर्न लैजान खोज्नेलाई प्रहरी र साना हातहरु नामक संस्थाले पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा मोरङको लेटाङ्ग नगरपालिका ३  घर भइ हाल रामधुनी नगरपालिका ५ झुम्कामा डेरागरि बस्ने २२ वर्षिया मनिका ढकाल, सप्तरी विष्णुपुर गाउँपालिका ५ का २८ वर्षिय सुमित कुमार मण्डल र सप्तरी तिलाढी कौलारी गाउँपालिका १ का २० वर्षिय प्रदिप कुमार मण्डल छन् । उनीहरूलाई विराटनर १७ नेपाल र भारतको सिमा नाका इस्लामपुरबाट आइतबार साँझ पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ । पक्राउ परेका मध्ये गिरोहका मुख्य नाईक सुमित रहेको खुलेको छ । 

उनीहरुले ती किशोरीलाई बलि दिनका लागि भारत लगिएको हुन सक्ने किशोरीको उद्धार गर्ने साना हातहरू नेपाल मोरङका संयोजक विवश श्रेष्ठको आशंका छ । उनका अनुसार ती किशोरीलाई भारत पु¥याए बापत १६ लाख रुपैयाँ पाउने पक्राउ परेका गिरोहका मुख्य नाईके सुमितले बताएका छन् ।

‘किशोरीलाई पूजाको लागि भनेर बोलाइएको रहेछ । उनको उचाइ नापेर, महिनावरी भए नभएको सोधिखोजी गरेर र शरिरमा कुनै दाग नभएको बुझेर विराटनगरमा पूजा छ भनेर ल्याइएको रहेछ । त्यसपछि भारततिर लगिएछ ।’ उनी भन्छन् ।

मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले भने बलि नै दिने वा अरु केही गतिविधिमा लगाउने अहिले नै खुलि नसकेको बताए । ‘हामी अनुसन्धानको क्रममा छौं,’ उनले भने, ‘सबै कोणबाट सुक्ष्म तरिकाले अनुसन्धान भइरहेको छ । थप बिषय पछि खुल्ने छ ।’

प्रहरीका अनुसार किशोरीलाई भारततिर लगिएपछि डराएर गाडीबाट हामफालेर भागेकी थिईन् । उनी भाग्दै आएपछि साना हातहरु र प्रहरीको सम्पर्कमा पुगेकी हुन् ।