विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले कोरोना संक्रमणको अवस्था अनुसार प्रदेश सरकारले काम गरिरहेको बताएका छन् ।

विराटनगरमा निजी क्षेत्रको सक्रियतामा प्रदेश सरकार, विराटनगर महानगरपालिका र निजी क्षेत्रको साझेदारीमा कोशी कोभिड अस्पताल परिसरमा निर्माण भइरहेको आइसोलेसन केन्द्रको अनुगमन गर्दै मन्त्री घिमिरेले कोरोनाको संक्रमण अवस्था हेरेर प्रदेश सरकारले स्टेप चालिरहेको बताएका हुन् ।

निजी क्षेत्रसँगको साझेदारीमा अक्सिजनसहितको १ सय बेड बाहेक प्रदेश सरकारले कोभिड अस्पताल परिसरमै रहेको भवनमा विशिष्टिकृत सेवासहितको थप १ सय बेड निर्माणको काम भइरहेको बताए । संघीय सरकार, प्रदेश सरकार र विराटनगर महानगरपालिकाको सहयोगमा विशिष्टिकृत सेवा सहितको १ सय बेड तयार गरिने उनले बताए ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले निजी क्षेत्रबाट काम शुरु गर्दा छिटो हुने बताए । अक्सिजनसहितको बेड तत्काल आवश्यक भएकाले सरकारी प्रक्रियामा ढिला हुने भएकाले निजी क्षेत्रसँगको साझेदारीमा काम शुरु गरिएको उनले बताए ।

नागरिक केयर सेन्टरका संयोजक उद्योगी पवन सारडाले तिहार अगाडि नै अक्सिजनसहितको बेड सञ्चालनका लागि काम भइरहेको बताए । सरकारले थप बेडको आवश्यकता महसुस गरेको खण्डमा त्यसका लागि नागरिक केयर सेन्टर तयार रहेको उनले बताए ।