• महेश नेपाली
 
देशमा गणतन्त्र आएकाे दशक वितिसक्दा पनि दशैकाे लाेकप्रियता उस्तै छ। गणतन्त्रले धर्म निरपेक्षता घेषणा गरे पनि लामो बिदा, मन्त्री, जनप्रतिनिधि, शिक्षक, कर्मचारीलाई थप पेस्की समेत दशैमा आइरहेकाे छ। घरपरिवारका सदस्य तथा आफन्तहरुकाे जमघटले दशैकाे राैनक थपेकै छ।
 
दशैको विभिन्न काेणबाट विमर्श भइरहेको छ। विशेषत दशैले सामाजिक अर्थ बाेकेकाे छ। दशै मानव निर्मित संस्कृति हाे। मान्छेले आफ्नाे विकासक्रमसँगै संस्कृतिकाे पनि निर्माण गरेकाे पाइन्छ। 
 
तर समयक्रमसँगै दशै स्तरीकरणकाे चित्र बनेकाे छ। धन सम्पत्ति र आम्दानी बढी हुनेहरुले गर्ने खर्चपर्चले कम आय हुनेलाई समेत समस्या पार्ने गरेकाे छ। दुर्गा र रामकाे पुजा गरिनु मातृसत्ताकाे अवशेष रहेकाे तथा आर्य र द्रविड जातिको लडाइँसँग जाेडिएकाे मान्न सकिन्छ। ठूलाबाट सानाले आशिर्वाद थाप्नुपर्ने भएकाेले दशैले सामन्ती सत्तालाई स्थायित्व दिएकाे पनि मान्न सकिन्छ।
 
त्यस्तै धान/जौं, फापर र बलिप्रथा जाेडिनु दशैले सामाजिक अर्थ बाेकेकाे छ। त्यसैले दशै केवल उत्सवसँग मात्र नभएर धार्मिक र मानव सभ्यताका विभिन्न पक्षहरुसँग गाँसिएको छ। याे लेखमा दशैलाई जुम्लीहरुले कसरी ग्रहण गरे भन्ने विषयमा केन्द्रित भएर अगाडि बढ्ने काेसिस गरिएकाे छ।
 
एसियाली क्षेत्रमा धान खेतीले नौ, दश हजार वर्षकाे अविछिन्न यात्रा पुरा गरेकाे छ। तर  जुम्लामा धान खेतीबारे पुराना अभिलेख, किम्वदन्ति र तथ्यहरु हेर्ने हो भने मार्सी धान उत्पादन हुन थालेकाे सात सयदेखि एक हजार वर्ष मात्र भएकाे देखिन्छ। यद्यपि वेदमा शाली(मार्सी) धानकाे चर्चा हुनुले यसकाे इतिहास लामाे रहेकाे अनुमान लगाउन सकिन्छ। 
 
जौं (हर्डियम)काे खेती लगभग सात, आठ हजार वर्ष अघि भएको अनुमान गरिन्छ। तुलनात्मक रुपमा धानकाे आविष्कार केही अगाडि भएकाे देखिए पनि जुम्लामा धान खेती भन्दा अगाडि जाैं खेतीकाे थालनी गरिएकाे देखिन्छ। पाखामा हुने जाैंकाे जातलाई 'पाबै जाैं' भन्ने गरिन्छ। जिउलाका बस्ती भन्दा पाखाका बस्ती अनादीकालदेखिका रहेकाे विभिन्न अध्ययनहरुले देखाएका छन्।
 
मस्टाे परम्परामा 'बाह्र भाइ मस्टाे र नाै दुर्गा भवानी' हुन्छन्। जहाँ मस्टाेकाे पुजा लाग्छ, त्यहाँ दुर्गाकाे खाेपाे(पुजा गर्ने सानाे थान स्थापना) राख्ने चलन हुन्छ। नाैरातकाे समयमा नाै दुर्गा भवानीकाे पुजा हुनाले खस सभ्यतामा दशै मस्टाे परम्पराकाे उपज भएकाे बताउँछन् -उप प्रध्यापक बासु उपाध्याय। यसरी नव दुर्गाकाे पुजा गरिने दिन, बारलाई दशै नभनेर 'शिउरी पिठा' भन्न थालिएकाे जनजिब्राेमा 'पिठा' शब्द झुन्डिनुले सहजै अनुमान लाउन सकिन्छ।
 
जुम्लामा जाैं खेती कहिलेदेखि गर्न थालियाे, याे थप अध्ययनकाे विषय हाे। तर यहाँकाे जाैं खेतीले जमराकाे हर्ज(अभाव) कहिले हुन दिएन। धान थिएन। तर धानकाे विकल्प थियाे, फापर।
 
हालसम्म लिखित र यकिन तथ्य नभेटिए पनि फापरको उत्पत्ति हजारौं वर्ष पहिले एसियामा भएको र पछि युरोप, अमेरिका लगायत पश्चिमी मुलुकमा यसको लोकप्रियता बढेको बताइन्छ। रुखो डाँडापाखा, पानी, मलको अभाव हुँदा पनि सजिलै फापरको उत्पादन गर्न सकिन्छ। जिउला(खेत)काे अभ्यास नभएको अवस्थामा डाँडापाखामा फापर खेती भैरहेकाे थियाे। धानकाे विकल्पकाे रूपमा काम गरिरहेकाे थियाे। 
 
फापरमा प्रसस्त मात्रामा रेशादार तत्व, भिटामिन बि-१, बि-२ र बि-६, प्रोटिन, खनिजका साथै एन्टिअक्सिडेन्ट पोलिफेनोल पाइन्छ। मासु नखाने साकाहारीका लागि फापर प्रोटिनको ठुलाे स्रोत हो।  जापानी अनुसन्धानकर्ताहरुले मुसामा गरेको अध्ययन अनुसार प्रोटिनयुक्त फापरको पिठोमा कोलेस्टेरोल घटाउने र पित्तको पत्थरी हुनबाट बचाउने गुण हुन्छ, साथै यसको सेवनबाट मोटोपन पनि कम हुन्छ। मधुमेह, उच्च–रक्तचाप, कब्जियत, मोटोपन घटाउन र स्मरणशक्ति बढाउन फापर खानु लाभदायक हुने समेत बताइन्छ। 
 
तथ्यहरुले चामलको विकल्पमा फापर उपयोगी रहेको देखाएका छन्। एक अध्ययनले भन्छ, एक सय ग्राम फापरमा ७१ दशमलव ५ ग्राम कार्वोहाइडेड, दश ग्राम फाइबर, ३ दशमलव ४ ग्राम फ्याट र १३ दशमलव २५ ग्राम प्रोटिन पाइन्छ। यही सय ग्राम फापरले मात्र मान्छेलाई ३ सय ४३ क्यालोरी प्रदान गर्ने भएकाले याे मानव जातीकाे लागि महत्त्वपूर्ण मानिएको छ र मानव शरिरलाई प्रशस्त शक्ति प्रदान गर्ने भएकाले फापर बहुगुणी छ।
 
मानिसले आफूलाई हित गर्ने वस्तुलाई पुजा गर्दै आएको देखिन्छ। वेदमा आगो, पानी लगायत हितकारी वस्तुको वन्दना पाइन्छ। त्यसले प्राचिन मानिसहरु हितकारी वस्तुलाई पुजा गर्दा रहेछन् भन्ने देखाउँछ। ठ्याक्कै याे र ऊ खालकाे हित गर्छ भन्ने लिखत नभए पनि उपभाेग र अनुभवले फापरलाई अत्यन्तै लाभदायक मानेकाे देख्न सकिन्छ। 
 
कर्णालीमा सभ्यताकाे विकास हुँदै गर्दा बहुगुणी फापरलाई पुजा गर्न थालिएको र उच्च सम्मान स्वरुप निधारमा सिउरीने गरिएकाे देखिन्छ। त्यसैकाे परिणाम हाे, हालसम्म पनि कसैकाे छाेराे भयाे, उसकाे बिहे भयाे, काेही कसैले आैपचारिक परिक्षा उतिर्ण गर्‍याे, सरकारी जागिरमा नाम निस्कियाे, भाेट मधेस गरेर(विदेशबाट) आयाे, लडाइँबाट सकुशल फर्कियाे वा लडाइ जितेर आयाे, मुद्दा मामिलामा जित्याे वा नेपाल(काठमाडौं) पुगेर आयाे भने छर छिमेकीहरु केही काेसेली लिएर पिठा लाउन पुग्छन्। पछि खसहरुसँगै आएका हिन्दुहरुले दशै मनाउने आफ्नाे चलनमा पिठ पनि मिसाएकाे अनुमान लगाउन सकिन्छ।
 
यसरी शुभ कार्यमा लगाउने गरिएकाे पिठा छाेरी जन्मिइ तथा उसकाे बिहे भयाे भने लगाइदैन। हिन्दु समान्तवादकाे बुइ चडेर आएकाे पितृसत्ता हावि भएसँगै छाेरीलाई सम्मान गर्ने परम्परामा बिर्काे लागेकाले पनि यस्ताे भएकाे हाे।  
 
जसलाई पिठा लगाउन जाने हाे उसकाे निधार(शिर)मा फापरकाे पिठाेकाे सिउराे तलदेखि माथितिर लगाइदिने हुनालाे विस्तारै यसलाई 'शिउरी पिठा' भन्न थालियाे। बजार ठुलाे नभएकाे, रंगकाे आविष्कार नभएकाे तथा स्वास्थ्यका दृष्टिले पिठाे लगाउँदा कुनै हानि नहुने हुनाले फिक्का हरियाे तथा फिक्का पहेँलो मिश्रित जस्ताे देखिने फापरकाे पिठाे निधारमा सिउरिन थालियाे र लगाउँदा आकर्सक देखिने हुनाले फापरलाई नै राेजियाे। 
 
दशैमा गन्नेमान्ने अदर्णीयलाई पिठा लगाइदिने र पिठाकाे चलन दशैकाे बेला अरु समय भन्दा व्यापक हुने हुनाले दशैकाे दिनलाई शिउरी पिठा(शिर पिठा वा पिठा)काे दिन भनेर चिन्न थालियाे। त्यसैले आज पनि टिकाकाे दिन नभनेर पिठा भन्ने चलन व्यापक छ। पिठामा काेसेली अनिवार्य हुन्छ। 
 
प्रश्न उठ्न सक्छ जाैं, गहुँ, काेदाे आदिकाे पनि पिठाे हुन्छ। किन फापरलाई मात्र पिठाे? तर यतातिर फापर र चामलकाे पिठाे बाहेक सबैलाई  धुलो भनिन्छ। पिठो भन्ने वित्तिकै फापरको भन्ने आम बुझाई थियाे। धानखेती हुनुपूर्व नै फापरकाे पिठाे सर्वव्यापि भैसकेकाे थियाे। त्यसैले पिठो भनेर फापरलाई चिनिएको र फापरलाई नै पुजास्वरुप निधारमा सिउरिने गरेको खेदिन्छ भने फापरलाई नै जोडेर दशैको दिनलाई 'शिउरी पिठा' भन्ने चलन व्यापक भएकाे बताउँछन् संस्कृति बारेका जानकार रमानन्द आचार्य।
 
बडा दशैं वा विजया दशमी पछिमात्र आएकाे हाे, नेपाल(काठमाडौं)बाट। जसरी पृथ्वीनारायण शाहलाई बडामहाराज भनियाे। 
 
दशैंमा जेष्ठ सदस्यबाट टिका थाप्ने चलन छ। शिउरी पिठा त्यसकाे विपरीत हाे। पिठा लाउन जानेले लगाइदिने हाे, थाप्ने हाेइन। एसएलसी पास भएकाे केटाेलाई पिठा लाउन आउने मान्छे ठुलाे भएपनि सानाेलाई अबिर लगाइदिए जस्तै। बरु उसले जमरा लगाइदिने हाे। जाैंमा ६७ प्रतिशत कार्वाेहाइड्रेट र १३ प्रतिशत प्राेटिन पाइन्छ। जसले मानव शरीरलाई प्रशस्त शक्ति प्रदान गर्छ। त्यसैले यसलाई कानमा सिउरिने गरिन्छ। 
 
तर शिउरी पिठाकाे चलन विस्तारै हराउँदै गएकाे छ। शब्दले वा कामले पिठा हालसम्म रहे पनि पिठाेकाे प्रयाेग हराउँदै गएकाे छ। खस सभ्यतामा धान खेतीपछि पिठाेकाे ठाउँ चामलले लिएकाे देखिन्छ। त्यसपछि चामलकाे टीका लगाउन थालियाे। तर चामलमा अबिर मिसाएर राताे टीका बनाउन थालेकाे चार दशक पनि भएकाे छैन। त्यसभन्दा अघि दहिमा चामल मिसेर लगाउने चलन थियाे। परिणाम टीका नभनेर दहि चामल भन्न थालिएकाे हाे भने दहि चामलपछि बेसार मिसाएर टीका लगाउने गरिएकाे बुढापाकाहरुले पुरना दिन सम्झदा थाहा पाउन सकिन्छ।
 
तर यी सबै मिचेर आइरहेछ, आधुनिकिकरण। जसकाे नेतृत्व गरिरहेका छन्, बहुराष्ट्रिय कम्पनीहरु। अबिर, केसर जस्ता रंगहरु सहित आएका छन् र जुम्लीहरुकाे संस्कृति समेत अतिक्रमण गर्न भ्याएका छन्। हाम्रा अनुकरणीय संस्कृति शिउरी पिठा, दहि चामल, बेसारे टीका विस्तारै हराउँदै गएका छन्। यसमा हाम्रा पनि थुप्रै कमजोरी छन्। जसलाई एकएक गरि केलाउन जरुरी छ।