ब्लाष्टखबर । नवरात्रीको नवौँ दिन अर्थात् महानवमी । आज दुर्गा माताको नवौं शक्ति स्वरुपा माता सिद्धिधात्रीको विशेष पूजा अनुष्ठान गरिन्छ ।

महानवमीका दिनमा घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्ति पीठमा लगी चढाइन्छ।

 आजको दिन शक्तिस्वरुप सिद्धिधात्रीको पूजा गर्नाले सम्पूर्ण संसारनै जित्नसक्ने सिद्धता हासिल हुने र संसारमा केही कुरापनि अगम्य नहुने मान्यता छ । देवीपूराणमा उल्लेख भएअनुसार यिनै देवीको असिम कृपाका कारण शिवजी स्वंयले पनि सिद्धि प्राप्त गरेका हुन् ।े

आजकै दिन बिहान कलपूर्जा, हातहतियारहरू तथा सवारीका साधनहरू आदिलाई बलि दिई विश्वकर्माको पूजा पनि सम्पन्न गरिन्छ । दशैंघर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्ति पीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती, श्रीमद देवी भागवत एवं देवी स्तोत्र पाठ गरिन्छ।

पशु बलि नदिनेहरुले भने आज आ-आफ्नो कुल परम्परा अनुसार कुभिन्डो, घिरौँला, मूला, काँक्रो र जटा नरिवल समेत बलि दिई पायस पनि चढाउने गर्दछन् । अधिकांश स्थानमा महाअष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने चलन छ ।

सिंहको वाहनमा बिराजमान सिद्धिधात्री देवीको प्रिय वस्तु कमलको फूल हो । यिन्को साधना गर्नाले यस लोक र परलोक दुवैतर्फ मोक्ष प्राप्तगर्ने विश्वाश छ र शक्तिस्वरुप सिद्धिधात्री प्रसन्न भएर वरदान दिएमा साधक साधीकाको कुनैपनि इच्छा बाँकी नहुने गरि सम्पूर्ण इच्छा पूरा गरिदिने भनि मार्केण्ड्य पूराणमा उल्लेखित छ ।

मार्कण्डेय पुराणका अनुसार अणिमा, महिमा, गरिमा, लघिमा, प्राप्ति, प्राकाम्य, ईशित्व अनि वशित्व भनेर आठ वटा सिद्धत्वको ब्याख्या गरिएको छ ।