धरान । भारत सरकारले आउँदो वर्षभित्र कोरोना भाइरसको ‘खोप’ भित्र्याइसक्ने बताएको छ ।

केन्द्रीय स्वास्थ्य मन्त्री डा. हर्षवर्धनको भनाइ उदृत गर्दै आउँदो वर्षको सुरुवातमा कोरोना भाइरसकको खोप ल्याउने जनाइएको छ । समाचार एजेन्सी एएनआइका अनुसार डा. हर्षवर्धनले उक्त कुराबारे जनाएको उल्लेख गरेको छ ।

‘हामी आशावादी छौं कि आउँदो वर्षको सुरुवातभित्र हामीसँग खोप हुनेछ । यो खोप हामीलाई विभिन्न माध्यमबाट उपलब्ध हुनेछ’–मन्त्रीले भनेका छन् । उनले भारतीय विशेषज्ञहरू खोपका लागि अहिले तीव्र रूपमा काम गरिरहेको बताएका छन् ।

विश्व स्वास्थ्य संगठनले पनि सन् २०२० को अन्त तथा आउँदो वर्षको सुरुवाती दिनहरूमा नै कोरोना विरुद्धको खोप आइसक्ने जनाएको छ । अहिले विभिन्न देशमा कोरोनाविरुद्धको खोपको परीक्षण जारी छ ।

केही समयअघि रुसले कोरोनाविरुद्धको खोप उत्पादन गरिसकेको दाबी गरेको छ । जसको परीक्षण पनि भइसकेको छ तर कति प्रभावकारी छ भन्ने विषयमा अहिलेसम्म कुनै आधिकारिक तथ्यांक बाहिर आउन सकेको छैन । रुसले उत्पादन गरेको खोपप्रति पश्चिमा देशहरूले शंका व्यक्त गरेका छन् ।

अमेरिकाको बहुराष्ट्रिय औषधि कम्पनी जोन्सन एण्ड जोन्सनले कोरोनाभाइरस विरुद्धको सम्भावित खोप हालका लागि परीक्षण स्थगित गरेको छ । कम्पनीका अनुसार परीक्षणका क्रममा एक व्यक्ति बिरामी भएपछि स्थगित गरिएको हो । उक्त व्यक्तिलाई हाल चिकित्सकको निगरानीमा राखिएको छ ।

यो परीक्षणमा ६० हजार नागरिकलाई सहभागी गराउने बताइएको थियो । तर, बिरामी परेका कारणले तत्काल स्थगित गरिएकाले अब थप परीक्षण कहिले हुने हो त्यो भने कुर्नुपर्ने भएको छ ।