प्रत्येक वर्ष सेप्टेम्बर २८ तारिखका दिन विश्व रेबिज दिवस मनाउने गरिन्छ । यो दिवस सबैभन्दा पहिले रेबिजको खोप बनाउने माइक्रोबायोलोजिष्ट र फ्रेञ्च केमिष्ट लुइस पास्चरको पूण्यतिथिको अवसरमा मनाउने गरिन्छ । यो दिवसका दिन रेबिजको बारेमा जनचेतना जगाउन र त्यसको जोखिम न्यूनीकरण गर्नका लागि विभिन्न कार्यक्रमहरू गर्ने गरिन्छ । यो दिवस सन् २००७ सालदेखि मनाउन थालिएको हो । विश्व स्वास्थ्य सङ्गठनले सन् २०३० सम्ममा रेबिजको अन्त्य गर्ने लक्ष्य राखेको छ ।

रेबिज भनेको खोपको माध्यमबाट रोकथाम गर्न सकिने जुनोटिक र भाइरल रोग हो । यो रोग लिसा नामक स्नायु नसामा असर गर्ने आरएनए भाइरसका कारण लाग्छ । विश्व स्वास्थ्य सङ्गठन २०२० का अनुसार विश्वका एक सय ५० भन्दा बढी देश र क्षेत्रमा रेबिजको जोखिम छ । उक्त सङ्गठनका अनुसार प्रायः रेबिज लागेका कुकुरका कारण मानिस मर्ने गर्दछन् । अर्को शब्दमा भन्नुपर्दा मानिसमा रेबिज सार्ने प्रमुख स्रोत कुकुर हो । उक्त सङ्गठनका अनुसार मानिसलाई रेबिज लाग्नुको ९९ प्रतिशत कारण कुकुरको टोकाइ नै हो ।

अमेरिकामा भने चमेरोले सार्ने रेबिजका कारण धेरै मानिसहरू मर्ने गरेको पाइएको छ । अष्टे«लिया र पश्चिमी युरोपमा पनि चमेरोले सार्ने रेबिज जल्दोबल्दो समस्या बन्दै गएको छ । भारतको राष्ट्रिय स्वास्थ्य द्वार (नेशनल हेल्थ पोर्टल अफ इण्डिया) २०१९ का अनुसार रेबिजको सङ्क्रमणले गर्दा विश्वभरमा बर्सेनि करिब ५९,००० मानिस मर्ने गर्छन् । भारतमा मात्रै बर्सेनि बीस हजार मानिस यस रोगबाट मर्ने अनुमान गरिएको छ । रेबिज रोग लागेर मर्ने कुल मानिसहरूमध्ये ९५ प्रतिशतभन्दा बढी मानिस एसिया र अफ्रिकाका छन् । रेबिज लाग्ने मानिसहरूमध्ये करिब ८० प्रतिशत मानिस ग्रामीणभेग तथा क्षेत्रमा बसोबास गर्ने गरेको पाइएको छ ।

विश्वभरिमा यो रोगले गर्दा प्रत्येक वर्ष आठ अर्ब साठी करोड अमेरिकी डलर खर्च हुँदै आएको पनि विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । यसका साथै करिब ४० प्रतिशत रेबिजका बिरामी १५ वर्ष मुनिका बालबालिका रहने गरेको पनि उक्त सङ्गठनको वेबसाइटमा उल्लेख छ । प्रायः यो रोग कुकुरले टोक्दा र्यालको माध्यमबाट सर्ने गर्दछ तर, कतिपय अवस्थामा चिथोर्दा वा कोतर्दा पनि सर्न सक्छ । प्रत्येक वर्ष विश्वका दुई करोड ९० लाख मानिसले रेबिज विरुद्धको खोप लगाउने गरेको पाइएको छ ।

महामारी तथा रोग नियन्त्रण महाशाखाका अनुसार नेपालमा हरेक वर्ष एक सय जना मानिस रेबिजका कारण मर्नेे गर्छन् । यसरी मर्नेहरूमा अधिकांश बालबालिका छन् । नेपालको करिब आधा जनसङ्ख्या यस रोगको उच्च जोखिममा र एक चौथाइ जनसङ्ख्या मध्यम् जोखिममा छन् । नेपालमा कुकुरले टोक्यो भने रेबिजविरुद्धको खोप लगाउनुपर्छ भन्ने चेतना नै नभएकाले र चेतना भएका व्यक्तिले पनि बेवास्ता गर्ने भएकाले धेरै मानिस मर्ने गरेका हुन् । नेपाल सरकारले रेबिजविरुद्धको खोप निःशुल्क वितरण गर्दै आएको छ ।

कुकुरमा देखिने लक्षणः
यस रोगको भाइरसले केन्द्रीय स्नायु प्रणालीमा सङ्क्रमण गर्छ । त्यसैले रेबिज लागेको कुकुरले सामान्य कुकुरभन्दा फरक व्यवहार देखाउँछ । यो रोग लागेका कुकुरले बिना कारण टोक्ने, अस्वभाविक वस्तुहरू (काठ, काँटी आदि) खाने, बिना कारण जथाभावी दौडने र स्वर निकाल्न नसक्ने जस्ता लक्षणहरू देखाउँछ । यसका साथै अत्यधिक ¥याल निकाल्ने पनि गर्दछ ।

मानिसमा देखिने लक्षणः
भाइरस प्रवेश गरेको स्थान, घाउको गहिराइ, मानिसको रोग प्रतिरोधात्मक क्षमता र भाइरसको परिमाणका आधारमा रोगको लक्षण ढिलो चाँडो देखा पर्ने गर्दछ । साधारणतया दुईदेखि तीन महिनाभित्रमा रोगको लक्षण देखा पर्छ । सुरुवातमा दुखाइसहितको ज्वरो आउने, टोकेको स्थानमा पोलेको जस्तो महसुस हुने लक्षण देखिन्छ । यसका साथै बिरामी पानी र प्रकाशदेखि डराउने, हावाको चालबाट तर्सिने, रिसाउने जस्ता लक्षण पनि देखा पर्छन् । यसले गर्दा आँखा, नाक, मुख र शरीरमा घाउ हुन्छ, जसले गर्दा अरू मानिसमा पनि यो रोग सर्न सक्छ । यो रोगले स्नायु प्रणालीका साथसाथै श्वास–प्रश्वास प्रणालीमा पनि असर पुर्याउँछ ।

समाधानः
कुकुरलाई रेबिज विरुद्धको खोप दिने, कुकुरले टोकेको व्यक्तिलाई रेबिजविरुद्धको खोप दिने गरेर यो रोगको समाधान गर्न सकिन्छ । यसका साथै कुकुरबाट टाढा रहने, कुकुरलाई नजिस्काउने आदि गरेर कुकुरको टोकाइबाट बच्न सकियो भने पनि यो रोगबाट बच्न सकिन्छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार कुकुरले टोक्ने बित्तिकै साबुनपानीले घाउ सफा गर्न सकियो भने यस रोगबाट बच्न सकिन्छ ।

साबुनपानीले घाउ सफा गरिसकेपछि एक पटक स्वास्थ्यसंस्थामा गई डाक्टरको परामर्श लिनु अति आवश्यक हुन्छ । टोकेको १० दिनमा कुकुर मर्छ । उक्त समयभित्र बिरामीले अनिवार्य रूपमा तीनवटा खोप लगाएको खण्डमा यो रोग निको हुन्छ । एक पटक रेबिजको लक्षण देखियो भने उक्त बिरामी मर्ने सम्भावना शतप्रतिशत हुन्छ । यस्तो अवस्थामा रोगीलाई भौतिक दुःख र मानसिक चिन्ताबाट टाढा राख्ने कोशिसबाहेक अरू केही गर्न सकिँदैन ।

थुप्रै क्षेत्रलाई रेबिजप्रति ध्यानाकर्षण गर्ने, सामुदायिक शिक्षा प्रवाह गर्ने, सचेतना जगाउने कार्यक्रमहरू गर्ने, खोप शिविर स्थापना गर्ने आदिजस्ता कार्यहरू गरेर रेबिजबाट बच्न र बचाउन सकिन्छ ।
(लेखकः स्नातकोत्तर क्याम्पस विराटनगरका प्राणी शास्त्र विभाग एमएस्सीका शोधकर्ता हुन् ।)