बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिक्त रहेको उपकुलपति पद पूर्ति भएपछि धेरै आशा जागेको थियो । मुटुरोग विशेषज्ञ कहलिएका, अमेरिकाका मेडिकल युनिभर्सिटीका भिजिटिङ प्रोफेसरसमेत रहेका डा. ज्ञानेन्द्र गिरीलाई प्रतिष्ठानको उपकुलपतिमा नियुक्त गर्दा प्रतिष्ठानले गुमेको आफ्नो प्रतिष्ठालाई फर्काउँछ होला भनेर सर्वसाधारणले अपेक्षा गर्नु अस्वभाविक थिएन । प्रतिष्ठान आफैमा मुलुककै उत्कृष्ट स्वास्थ्य शैक्षिकसंस्था हो । चिकित्साशास्त्रका दक्ष जनशक्ति उत्पादन गर्न अब्बल रहेको प्रतिष्ठानमा विगत एक दशकदेखि आर्थिक अनियमितता, सेटिङ, कमिसन, बेथिति, घूसकाण्ड आदि हुँदै आएको छ । रोगी बिरामी मान्छेको उपचार गरेर बचाउने चिकित्साशास्त्र अध्ययन गरेका चिकित्सकले आर्थिक चलखेल गर्दैनन् भन्ने पुरानो मान्यतालाई पछिल्लो समयमा ध्वस्त बनाइदिएको बेला सरकारले राम्रो मान्छेको रूपमा डा. गिरीलाई सात महिनाअघि प्रतिष्ठान हाँक्ने जिम्मेवारी दिएको थियो । हो, त्यसैबेलादेखि प्रतिष्ठानका कर्मचारी, चिकित्सक, नर्स मात्र नभएर धरानवासी, प्रदेश १ का सेवाग्राहीले अब सही लिकमा प्रतिष्ठानको प्रगतिको रफ्तार बढ्छ भन्ने अपेक्षा गरेका थिए । शिक्षाध्यक्ष र अस्पताल निर्देशक प्रतिष्ठानभित्रकै छँदै थिए । प्रतिष्ठानभित्रबाटै रजिष्ट्रार पनि नियुक्त भएपछि चार पदाधिकारी पहिलेजस्तो ब्रह्माजीको मुखजस्तो चारतिर नफर्की एकजुट भएर प्रतिष्ठानको प्रगतिमा जनअपेक्षाअनुसार आफ्नो भूमिका पूरा गर्छन् भन्ने सबैले सोचेका थिए । भ्रष्टाचार र बेथितिका कारण सिकिस्त भएर आईसीयुमा पुगेको प्रतिष्ठान बचाउ अभियान नै पनि यसअघि पटक–पटक चलेको थियो ।

तर, पछिल्लो समयमा प्रतिष्ठान पहुँचवाला पदाधिकारीका लागि दुहुनो गाई सावित हुन थालेको छ । पहिलेका पदाधिकारीहरू डा.बीपी दास, डा.राजकुमार रौनियारलगायतले भ्रष्टाचार गरेकैले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । ती घटना सेलाउन नपाउँदै अहिले पदीय दायित्व र जिम्मेवारीभन्दा फरक शैलीमा मेडिकल उपकरण र औषधि व्यापारीको सेटिङमा उपकुलपति गिरी चल्न थालेको चर्चाले सञ्चारमाध्यम र सामाजिक सञ्चाल भरिन थालेका छन् । पुरानो उखान छ, हावा नचली पात हल्लिँदैन । आफूले सोचेजस्तो सेटिङअनुसार काम नगरेपछि उपकुलपति गिरीले खरिद शाखा प्रमुख विष्णु चापागाईंलाई अन्यत्र सरुवा गरेपछि प्रतिष्ठानमा पुरानै रोगको पुनरावृत्ति भएको शङ्का उपशङ्का हुन थालेको हो । चापागाईं तीन महिना अघिमात्र उक्त शाखामा आएका थिए । सामान्य प्रशासन महाशाखाका प्रमुख अशोक साहलाई चापागाईंको स्थानमा ल्याउनु नै डा. गिरीमा आर्थिक लोलुपताको गन्ध छ भनेर थाहा पाउने सङ्केत हो । किनकी साह मेडिकल उपकरण खरिद बिक्री र कारोबारमा नेपालकै ‘डन’ मानिएका चेतन अग्रवाल निकटका हुन् । चेतन अग्रवाल दाजुभाइका फर्महरू कम्तीमा नौ वटा रहेका छन् । उनीहरूको फर्मबाट खरिद गरिएका मेडिकल उपकरणहरू प्रतिष्ठानमा करिब ६० प्रतिशत बढी छन्, जुन हाल कतिपय कामै नलाग्ने अवस्थाका छन् । अग्रवाल दाजुभाइको सेटिङमा प्रतिष्ठानभित्र करोडौंको कारोबार हुने गरेको कतैबाट लुकेको छैन । व्यापारीहरूले कमिसनको लोभ देखाएर पदाधिकारीलाई प्रभावित बनाएपछि हुने मेडिकल उपकरणको खरिद बिक्री, बिरामीले पाउने अस्पतालको सेवा सुविधा पनि स्वतः प्रभावित हुने नै भयो । चिकित्साशास्त्र अध्ययनरत विद्यार्थीबाट र बिरामी उपचार गरेबापत प्रतिष्ठानमा वार्षिक करिब २ अर्बको आम्दानी हुन्छ । यसबाहेक प्रतिष्ठानमा आवश्यक औषधि, मेडिकल उपकरण खरिद, भौतिक पूर्वाधार तयार गर्नका लागि सरकारले अर्बौं रुपैयाँ बजेट विनियोजन गर्ने गरेको छ । ती बजेटको १० प्रतिशत मात्र कमिसनको हिसाब पनि करोडमा आउने भएकाले पदाधिकारीहरू व्यापारीको सेटिङमा फस्ने गरेका छन् । प्रतिष्ठानको उपकुलपति पद मुलुकभरिकै विश्वविद्यालय वा कुनै प्रतिष्ठानको उपकुलपतिको भन्दा करोडौं महँगो बन्न पुगेको दृष्टान्त त छँदैछ । प्रतिष्ठानको उपकुलपति पदको मूल्य पूर्वउपकुलपति डा. दासबाट बिक्री हुन थालेको मानिन्छ ।

त्यसपछि रौनियारले बिक्री गरे । बिक्री पनि लाखमा होइन करोडमा । उपकुलपति पद पाउन करोडौं खर्चेपछि त्यसलाई पूरा गर्न व्यापारीबाट कमिसन, घूस त खानै प¥यो । कमिसन वा घूस खानका लागि मेडिकल उपकरण आपूर्ति गर्ने व्यापारीसँग सेटिङ गर्नु पर्छ । औपचारिकताका लागि टेण्डर जारी गयो, सेटिङमा आपूर्तिकर्ता व्यापारीले पनि टेण्डरमा माग गरेजस्तो स्पेसिफिकेसन विवरण देखाउने हो । महँगो ब्राण्डको मेडिकल उपकरणको स्पेसिफिकेसन देखाएर सस्तो मेडिकल उपकरण आपूर्ति गरिदिएपछि सेटिङमा लिप्त पदाधिकारी र खरिद शाखा वा कुनै पनि विभागमा कार्यरत तिनका भरौटेहरूले कुनै प्रश्न नगर्दा १० करोड रुपैयाँमा पाउने सामान खरिदमा १५ करोड रुपैयाँ खर्च हुन पुग्छ । यो तरिकाले सेटिङमा हुने कारोबारबाट प्रतिष्ठानका पदाधिकारीले कमिसन प्राप्त गर्न सक्छन् । महँगो ब्राण्डको मेडिकल उपकरणको जस्तै स्पेसिफिकेसन देखाएर सस्तो वा कतै एसेम्बल गरेको मेडिकल उपकरण आपूर्ति गर्दा त्यो सामानको मूल्य पनि ब्राण्डेडको भन्दा धेरै कम हुन्छ । तर, टेण्डर जारी गर्दा ब्राण्डेडको भन्दा केही कम मूल्य राखेर आँखामा छारो हाल्ने काम हुन्छ । यसबाट दोहोरो कमिसन आउने भएकाले प्रतिष्ठानलाई दुहुनो गाई बनाइएको छ । मेडिकल उपकरणसम्बन्धी विशेषज्ञ बायोमेडिकल इञ्जिनियरले आपत्ति जनाए उसलाई अर्कै ठाउँ सारिदिने वा अधिकारविहीन बनाइदिने र आफू अनुकूलको बायोमेडिकल इञ्जिनियर राख्ने वा उसलाई पनि प्रभावित बनाउने खेल प्रतिष्ठानमा लामो समयदेखि हुँदै आएको छ । प्रतिष्ठानभित्रको भ्रष्टाचार, बेथिति, घूसखोरी र कमिसनको जालोलाई तोड्न पदाधिकारीले सक्दैनन् भन्ने दृष्टान्त देखिसकिएकाले विकल्पमा जनप्रतिनिधि, नागरिक समाजको खबरदारीमात्र बाँकी छ ।