हाम्रो समाजमा हुने विवाह समारोह, भोज भतेर, अन्तिम संस्कार, समारोह जसमा दाजुभाइ, नातेदार, समाजको उपस्थिति हाम्रो सामाजिक प्रतिष्ठा तथा व्यवहारको निशानी हुन्थ्यो । त्यसमा खलल पुगेको छ । व्यक्तिहरू आफ्ना नजिकका नातेदारसमेतको दाह संस्कारमा उपस्थित हुन अन्कनाउँछन् । यो महामारीको प्रभाव यतिसम्म छ कि मरण परणमा सहानुभूति प्रकट गर्न निजको घरमा जानसमेत मानिसहरू हिच्किचाएका छन् । यसले निरन्तरता पायो भने कहीँ सहानुभूति व्यक्त गर्ने, हौसला बढाउने, आँसु पुछ्ने कुरा हाम्रो सभ्यता र परम्पराबाट हट्ने त होइन । कतै हामी सामूहिक जीवनबाट एकाङ्की जीवनशैलीमा त गइरहेका छैनौं ।

यसैगरी एक समयमा हाम्रो समाजमा चिकित्सकीय पेशा, स्वास्थ सेवामा लागेका महिला तथा पुरुषलाई अत्यन्त सम्मानका साथ हेरिन्थ्यो । यस्तो पेशामा लागेका व्यक्ति छिमेकमा रहँदा आफूलाई सुरक्षित महसुस गर्थे कि रात विरातमा समस्या पर्दा यस्ता व्यक्ति अत्यन्तै सहयोगी हुन्छन् । डाक्टर, नर्सहरूको समाजमा भिन्नै सम्मान हुन्थ्यो । तर, अहिले कोभिड–१९ को कारणले मानिसहरू स्वास्थ सहायक परिचारिका, चिकित्सकहरूबाट टाढा रहन खोज्छन् र सबैजसोको सोच छ कि यिनीहरू हाम्रो छेउछाउमा नबसे पनि हुन्थ्यो, नआइदिए पनि हुन्थ्यो । कतिपय ठाउँमा यस्ता पेशा अँगालेका व्यक्तिहरूलाई घर खाली गर्न घरधनीबाट अल्टिमेटमसमेत आएको र उनीहरूले डेरा पनि प्राप्त गर्न नसकेको सुन्नमा आएको छ ।

हालसालै चिकित्सकीय पेशामा लागेका व्यक्तिलाई सडकमा हिँडिरहेको अवस्थामा वा घरमै बसिरहेको अवस्थामा बाहिरिया मात्रै होइन, छर छिमेकीहरूबाट समेत हातपात तथा अभद्र व्यवहार भएको समाचार आएकै छ । यो हाम्रो अज्ञानताको साथै अराजकताको पराकाष्ठा नै हो । यसलाई सामाजिक वितृष्णा नभने के भन्ने ? यसमा केही कुरा स्वास्थ्यकर्मीहरूको विरुद्ध पनि जान्छन् । बिरामी भएर अस्पताल जाँदा चिकित्सकहरूले नहेरिदिनु, उपचार नै नपाएर अन्य रोगका कारणले मृत्युवरण गर्नु, अस्पतालमा भर्ना भएका व्यक्तिहरूले स्वास्थकर्मीबाट कुनै सेवा नपाउनु पनि कारोनाले जन्माएको पेशागत वितृष्णा नै हो । के यसमा स्वास्थकर्मी दोषी छैनन् । यो उनीहरूको पेशागत मर्यादाको विरुद्ध नै हो ।

कोरोना सङ्क्रमितसँग त कोही सम्पर्कमा आउँदैन, यहाँसम्म त ठीक छ तर, यस्ता व्यक्ति सङ्क्रमणमुक्त भएपछि घर फिर्ती हुन सवारी सुविधासमेत नपाउनु कति दुर्भाग्यपूर्ण छ र मुक्त भएपछि पनि यस्ता व्यक्ति र निजको परिवारले सामाजिक सम्पर्क नपाउनु कति दुर्भाग्यपूर्ण छ ।

विद्यार्थी र विद्यालयबीच पनि समस्या आएको छ । अहिलेको परिस्थितिमा कुनै पनि अभिभावक चाहँदैन कि उसका बालबच्चाहरू विद्यालय जाउन् । बालबालिकाहरू पठन–पाठनबाट बञ्चित भएको पाँच महिनाभन्दा बढी भइसक्यो र अझै पनि पठन– पाठन शुरु हुने वातावरण बनेको छैन । समृद्ध घरका परिवारका बच्चाहरू नाममात्रको लागि भए पनि अनलाइन कक्षा लिँदै छन् । यसको लागि आवश्यक सामग्रीहरू उनीहरूका अभिभावकले जुटाइदिएका छन्, किनकि उनीहरू समर्थ छन् र उनीहरू पढ्ने निजी विद्यालयमा पनि यो व्यवस्था भएको छ । तर, सामुदायिक विद्यालय तथा त्यसमा पढ्ने विपन्न वर्गका विद्यार्थीहरू अझै पनि अनलाइन कक्षाबाट बञ्चित नै छन् ।

कोभिड–१९ को प्रकोप यसैगरी बढ्दै गए र नेपाल सरकारको शिक्षा क्षेत्रमा यही प्रकारको सुस्तता रह्यो भने लाखौं बालबालिका प्राथमिक शिक्षाबाट समेत बञ्चित रहने सम्भावना छ र अन्ततोगत्वा हाम्रो साक्षरता अभियान जसमा सबै बालबालिकालाई विद्यालय पठाउने योजना छ, असफल हुने सम्भावना छ । कल्पना गरौं सबै विद्यार्थीहरू चाहे बालबालिका हुन् वा उच्च शिक्षामा अध्ययनरत युवा, सबैको एक शैक्षिक सत्र बेकार गयो भने राष्ट्रले कति क्षति व्यहोर्नु पर्छ र देश कति पछि पर्छ । तसर्थ सरकारले यो कुरालाई सम्बोधन गर्नु आवश्यक छ । यही अवस्था हाम्रा खेलाडीहरूको पनि छ । राष्ट्रको सेवा गर्ने नाममा कडा परिश्रम गरेका हाम्रा खेलाडीहरूको वैंश खेर नै जाने हो कि यो चिन्ता सबैमा छाएको छ ।

यही कोभिड–१९ ले गर्दा हाम्रो संस्कृतिमा पनि विचलन आएको छ । हरेक दिन लाइन लगाएर आराध्यदेव पशुपतिनाथको दर्शन गर्नुपर्ने पशुपतिनाथ मन्दिर अहिले खाली छ । एक लाखभन्दा बढी हिन्दु दर्शनार्थीप्रति महिना विदेशबाट आउने गरेको यस मन्दिरमा उनीहरूको उपस्थिति शून्यप्रायः छ । यही हाल देशका अन्य मठ मन्दिरहरूको पनि छ । मन्दिरहरू हेर्दा अहिले लाग्छ, त्यहाँ कि भगवानको प्रतीकको रूपमा मूर्ति छ कि पुजारी मात्र । यही हाल धार्मिक जात्राको रूपमा प्रसिद्ध हाम्रो देश, जहाँ जात्राको नाममा लाखौंको भीड जुटाइन्थ्यो तर, आज जात्राविहीन बनेको छ । विगत तीन महिनाको बीचमा कतिपय धार्मिक जात्रा स्थगित गर्नु प¥यो र यो सिलसिला त अझै टुङ्गिने लक्षण देखिएको छैन । यो कोभिड–१९ ल्याएको संस्कृतिक विचलन बाहेक के हुनसक्छ ।

समष्टीगत रूपमा कोभिड–१९ को परिणाम यही हो कि यसले परिवार–परिवारलाई छुट्याएको छ, गल्ली–गल्लीलाई, टोल–टोललाई, जिल्ला–जिल्लालाई, प्रदेश–प्रदेशलाई, राष्ट–«राष्ट्रलाई नै अलग थलग बनाएको छ । मानव समाज वा मन नमिले पनि दुई राष्ट्रबीच घोषित युद्ध भए पनि भौतिकरूपमा यस्तो फाटो कहिल्यै देखिएको थिएन । अहिले परिस्थिति यस्तो आएको छ कि सङ्क्रमित व्यक्तिलाई त हामीले सम्पर्कबाट टाढा राखेका नै छौं, नेगेटिभ रिपोर्ट आइसकेपछि पनि त्यसका परिवारको समेत सम्पर्कमा आउन चाहँदैनौं ।

माथिका सबैकुरा बाध्यतावश होस् वा अज्ञानतावश सामाजिक दूरी आजको आवश्यकता नै हो । कोभिड–१९ को प्रभावबाट मानव जीवनलाई जोगाउनको लागि यो एकाङ्कीपन आवश्यक नै छ । कल्पना गरौं, आज नेपालमा कोरोनाले जुन विकराल रूप धारण गरेको छ, समयमा नै सरकारले लकडाउन घोषणा गरेर आपसी सम्पर्क नियन्त्रण नगरेको भए यो महामारीले कस्तो विकराल रूप धारण गर्ने थियो । यसको सबैभन्दा ठोस प्रमाण यही हो कि आजसम्मका सङ्क्रमितमध्ये अधिकांश सबैजसो विदेशबाट आएका नेपाली छन् या तिनीहरूको सम्पर्कमा आएका व्यक्ति । तसर्थ लकडाउन र त्यसबाट भएको आपसी विभेद बाध्यतावश भए पनि पालन गर्नु नै पर्छ । तर, यहाँ सरकारबाट पनि ठूलो चुक भएकै छ ।

लकडाउन कारोना खत्तम गर्ने साधन होइन साध्य मात्र हो । तर, २०७६ चैत्र ११ गतेदेखि निरन्तर लकडाउन गरेको सरकारले महामारी खत्तम गर्ने कुनै खास तयारी नगरी लकडाउनलाई महामारी हटाउने साधनको रूपमा नै राखेको छ, असहमति यहीँ छ । लकडाउनको समयमा महामारीको सामना गर्ने पूर्वतयारीका कारण नै आज चीन, न्युजिल्याण्ड, फ्रान्स, ब्रिटेन, भारत, रुसजस्ता देशहरूले महामारीको महामारीका बावजुद पनि लकडाउन खत्तम गरी करिब करिब सामान्य परिस्थिति बहाल गर्न सक्षम भएका छन् । तर, पाँच महिनापछि पनि सर्वसाधारण नेपाली काम नभएर गाँसमै अल्झिएको छ । यही कारण हो कि कोरोनाको कहरले त्रसित नेपालीहरू जो काम छोडेर स्वदेश भित्रिएका थिए र अब यहीँ बसेर काम गर्ने भन्थे, आज तिनीहरू नै चोर बाटोबाट भए पनि विदेशिन लागेका छन् । किनकि यस्ता युवालाई रोजगार दिन सरकार पूर्णतया असफल भएको छ ।

हामीले बुझ्नै पर्छ कि भोक सबभन्दा ठूलो रोग हो । आज सरकारको सुस्तताले नै उत्साहका साथ स्वदेश फर्केका युवाहरूमा उदासिनता छाएको छ । शुरुमा फर्किएका युवाहरूलाई कृषिमा आकर्षित गराउने घोषणा गर्ने सरकारले खेतीका समयमा मल जस्तो आवश्यक वस्तु उपलब्ध गराउन नसक्नु सरकारको अकर्मण्यता बाहेक के हुन सक्छ । के अब अर्को वर्ष अझै बढी खाद्यान्न आयात गर्ने ? सम्भावना यही देखिन्छ । सरकारको पूर्वतयारी हेर्दा यही भन्न सकिन्छ कि खस्कँदो आर्थिक धरातलको बारेमा सरकार एकदम अनभिज्ञ छ वा समस्या पार लगाउने मानसिकताको कमी छ, त्यसैले लगानीकर्तासमेत दुरुत्साहित छन् । हो, अर्थको अभाव त छँदैछ । तर, कुशल व्यवस्थापन चाहिँ पक्कै होइन ।

अहिले हाम्रो मुख्य लक्ष्य र उद्देश्य कोरोनाबाट उन्मुक्ति नै हो । पक्कै पनि छिटोभन्दा छिटो हामी कोरोनाबाट मुक्त हुने नै छौं । त्यस समयमा यो लकडाउनबाट आएको सांस्कृतिक, धार्मिक, सामाजिक, शैक्षिक विचलनलाई पनि निर्मूल गर्नु पर्ने हुन्छ । यो प्रयासमा अलिकति पनि ढिलाइ गर्नु हुँदैन । बरु विचलनभन्दा पहिलेको विद्यमान गतिविधिलाई अझ परिष्कृत गर्नु पर्दछ । अहिले समय आएको सरकारले कारोनाको उपचारको व्यवस्थामात्र होइन, यसले जन्माएको कुरीति, विचलन हटाउन जनचेतना जगाउनु पर्छ । यो कार्यका लागि बुद्धिजीवीहरूले समेत सोच बनाउनु पर्छ । साथै राष्ट्रिय आचरणको समेत सोच बनाई जनचेतना जगाउनु पर्दछ । यसको लागि गाउँ–गाउँमा रहेका शिक्षक, सामाजिक संस्थाहरूलाई माध्यम बनाउन सक्यौं भने अहिलेको विचलन हटाउन सकिन्छ ।

यसमा कुनै दुईमत छैन कि कोरोना महामारीबाट छिट्टै पूर्णरूपमा उन्मुक्ति नमिले पनि यो महामारीलाई हामी साधारण रोगको श्रेणीमा ल्याउन छिट्टै सफल हुन्छौं । यस्तो परिस्थितिमा हाम्रा समाज सुधारक, बृद्धिजीवी, धार्मिक नेतृत्वसमेत राजनैतिक नेतृत्वको पनि कर्तव्य हुन आउँछ कि यस महामारीले धमिल्याएको शैक्षिक, व्यावसायिक, धार्मिक, सांस्कृतिक क्षेत्रलाई कसरी नियमित तथा परिष्कृत गर्ने । यसको लागि सोच्नु सबैको कर्तव्य हो ।
–समाप्त