धरान/ धरान–२० विष्णुपादुकास्थित भालढुङ्गा सामुदायिक वनमा सखुवा प्रजातिको काँचो रुख कटान भएपछि सव–डिभिजन वन कार्यालय विष्णुपादुकाले अनुसन्धान थालेको छ ।

वन कार्यालयले सोमबार कटान गरिएको क्षेत्रमा पुगेर मुचुल्का उठाएको छ । मुचुल्का उठाउने क्रममा सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारी नै दुई पक्षमा विभाजित बनेपछि मुचुल्का उठाउन झण्डै ५ घण्टाभन्दा बढी समय लागेको सव–डिभिजन वन कार्यालय विष्णुपादुकाका प्रमुख राजेन्द्रप्रसाद यादवले जानकारी दिए । उनका अनुसार १२ टुनामा विभाजित गरिएको काँचो सखुवाको रुखको नापजाँच गरेर मुचुल्का उठाइएको हो ।

समूहका अध्यक्ष बुद्धिमान तामाङलगायतले धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईको उपस्थितिमा शनिबार रुख काटिएको दाबी गरेका थिए । यता समूहका कोषाध्यक्ष भीम बस्नेतको समूहले नगर प्रमुख राईलाई फसाउन खोजिएको दाबी गरिएको मुचुल्कामा बयान दिएका छन् । जसमा कोषाध्यक्षको प्रत्यक्ष संलग्नतामा रुख कटान भएको अध्यक्ष तामाङको दाबी छ । आइतबार ब्लाष्टकर्मीसँगको कुराकानीमा उनले कोषाध्यक्ष बस्नेतको प्रत्यक्ष संलग्नतामा नगर प्रमुख राईले रुख कटान गरेको बताएका थिए ।

तर, नगर प्रमुख राईले आफूलाई त्यस विषयमा कुनै जानकारी नभएको प्रतिक्रिया दिएका थिए । उनले अहिले पनि आफूलाई फसाउन लागिएको दाबी गर्दै आएका छन् । तर, नगर प्रमुख राईले आमा मनु राईको नाममा बिहीबार निवेदन दिँदै समूहलाई काठ माग गरिएको अध्यक्ष तामाङले बताएका थिए । निवेदन दिएको विषयमा पनि नगर प्रमुख राईले ब्लाष्टकर्मीसँगको फोन सम्पर्कमा स्पष्ट पार्न चाहेनन् ।

यता वन कार्यालयले विभाजित बनेका दुवै पक्षलाई राखेर मुचुल्का उठाएको छ । सोही मुचुल्काका आधारमा समूहका पदाधिकारी या नगर प्रमुख यस घटनामा तानिनेछन् । ‘मुचुल्का उठ्दैछ, अहिलेसम्म यसैले भन्ने प्रष्ट किटान नाम आएको छैन’ प्रमुख यादवले फोन सम्पर्कमा भने, ‘समूह नै यो विषयमा विवादित देखिन्छ ।’

उनले काठको परिमाणबारे पनि नापजोख नगरेको बताए । काँचो सखुवाको रुख काट्नका लागि सामान्यतः मन्त्रिपरिषद्को निर्णय आवश्यक हुन्छ । उपभोक्ता समिति पनि दुई पक्षमा विभाजित भएको देखिन्छ । समूहका मुख्य पदमा काङ्ग्रेस र नेकपा निकटका पदाधिकारी भएकाले पनि विभाजित देखिने गरेको नाम नछाप्ने शर्तमा एक स्थानीयले बताए ।

सुनसरी डिभिजन वन कार्यालयका निमित्त अधिकृत ज्ञानकुमार लामाले सव–डिभिजन वन कार्यालयको टिम नै अनुसन्धानका लागि खटिएकाले अहिले नै कसको संलग्नता छ भनेर भन्न गाह्रो हुने बताए । उनले आफूले विभिन्न मिडिया तथा पत्रिकाहरू पढ्दा मेयरको संलग्नता रहेको भन्ने सूचना पाएको भए पनि वन कार्यालय हल्लाको भरमा नलाग्ने बताए । उनले भने, ‘मेयर सा’पको नाम जोडिएर आएको छ, हल्लाको भरमा काम गर्नुभएन । त्यो कुरा बुझ्नका लागि त्यो क्षेत्र हेर्ने मेरो टिम नै उहीँ छन् ।’

सामान्यतः काँचो रुख काट्ने अनुमति कसैलाई पनि नहुने उनले बताए । उनले ढलापडा, सुख्खा रुख सङ्कलन गर्नका लागि पनि सव–डिभिजन हुँदै डिभिजन वन कार्यालयसँग अनुमति लिनुपर्ने प्रावधान रहेको उनले बताए । ‘उहाँहरूले ढलापडा रुख दिने निर्णय गरे पनि हामीकहाँ त आउनुप¥योनि’ उनले फोनसम्पर्कमा भने, ‘सव–डिभिजनबाट कलेक्सनका लागि इजाजत लिनुपर्छ । अहिले लगत लिन पाउनुहुन्छ । तर, कात्तिकयता सङ्कलन गर्ने अधिकार समूहलाई पनि हुँदैन ।’

सामुदायिक वनको काठ–दाउरा सङ्कलन तथा बिक्रीवितरण निर्देशिका २०७१ को परिच्छेद २ को वन पैदावारको माग सङ्कलन र लगत तयारीको दफा ४ को (१) मा स्पष्टसँग उपभोक्ता समूहले काठ–दाउराका लागि वनमा कटान, मुछानको कार्य प्रत्येक वर्षको कात्तिक १ गतेदेखि जेठ १५ गतेसम्म गरिसक्नुपर्ने उल्लेख छ ।