आफ्नै स्वामित्वको जग्गामा भएको सखुवाको रुख काट्नु परे वन विभागको स्वीकृति चाहिन्छ । कुनै भौतिक निर्माणका लागि वनका दुई–चार रुख फँडानी गर्नु परे मन्त्रिपरिषद्ले स्वीकृत गरेको हुनुपर्छ । झन् सखुवाको रुख त्यो पनि सामुदायिक वनभित्रको काट्न धरान उपमहानगरपालिकाका मेयर तिलक राईले निर्देशन दिएको आधारमा मेसिनले काटिएको समाचारले दुई दिनदेखि धरानमा हङ्गामा मच्चिएको छ । धरान–२० भालढुङ्गास्थित सामुदायिक वन क्षेत्रमा ‘नगरपिता’ को आदेश र उपस्थितिमा गैरकानूनी रूपले सखुवाको रुख काट्नु अशोभनीय मान्नु पर्छ । सुखवाको रुख काट्दा दण्ड सजायसँंगै जेल पनि जानुपर्छ भनेर पक्कै पनि मेयर राईलाई थाहा हुनुपर्छ । किनकी उनी स्थानीय तहको प्रमुख हुन् । उनलाई थाहा नभए कसलाई थाहा हुन्छ त ? चर्चामा आएअनुसार मेयर राईको मावली घर पनि विष्णुपादुका क्षेत्र नै हो । र, उनले आफ्नो आमाको घर निर्माणका लागि स्थानीय सामुदायिक वनको रुख कटान गर्न आदेश दिएका थिए । हुन त उनले आमाको घर बनाउन भनेर उपभोक्ता समितिमा आमाकै नाममा निवेदन पनि दिएका थिए । उक्त निवेदनमाथि थप छलफल नै हुन नपाई शनिबार उनले सिधै वनमा पसेर रुखै ढाले । उपभोक्ताहरू यसै भन्छन् ।

वन उपभोक्ता समितिका अध्यक्ष बुद्धिमान तामाङको भनाइलाई सत्य मान्ने हो भने धरानका मेयर तिलक राईले बदमासी नै गरेका हुन् । धरानको मेयरले आमाको नाममा निवेदन दिन पाइन्छ तर एकाबिहानै वनमा मेयर आफै पसेर रुख काट्न भने उनलाई कुनै अधिकार छैन । नदिएको अधिकार मेयरले कहाँबाट पाए ?

सखुवाको काँचो रुख काट्नु हुँदैन भन्ने थाहा नभएको होइन मेयर राईलाई । रुख ढालेको मात्र होइन, १२ टुनसमेत बनाएको अवस्थामा फेला पर्नुले उपमहानगरका प्रमुख जिम्मेवार व्यक्ति आफू नै भएकोले कसले के गर्छ र ? भन्ने अहम्ले काम गरेको देखिन्छ । यदि यस्तो गैरजिम्मेवारी काम कुनै सर्वसाधारणले गरेको भए यतिबेला ऊ प्रहरी हिरासत हुँदै वन विभागको हिरासतमा राखेर मुद्दा लागिसकेको हुन्थ्यो । सामुदायिक वनमा सखुवाको रुख काटिएको बारे मिडियालाई भने मेयर राईले आफूलाई केही थाहा नभएको भनेर पन्छिने प्रयास गरेका छन् । कतिसम्म भने आफूले आमाको नाममा निवेदनसमेत नदिएको भन्न भ्याएका छन् । मेयर राईले रुख काटिएको बारे आफूलाई थाहा नभएको बताएका छन् । यसरी पन्छिदैमा मेयरले धर पाउँदैनन् । हावा नचली पात हल्लिँदैन । मेयर राईले सखुवाको रुख काट्न निर्देशन दिएकै हो भने सार्वजनिक रूपमा गल्ती स्वीकारेर मात्र हुँदैन । करिब २ लाख जनसङ्ख्या भएको धरान उपमहानगरको मेयरजस्तो पदमा बसेर वनको रुख आफ्नो आमाको घर बनाउन काट्न निर्देशन दिनु सुहाउने कुरो होइन । उनलाई किन चाहियो सामुदायिक वनको रुख ? प्रश्न यहाँ पनि छ । घर बनाउनलाई चाहिने काठै किन्न नसक्ने यति हरितन्नम हुन् धरानका मेयर ? त्यो पनि होइन । उनले उपभोक्ता समितिका अध्यक्षले भनेको कुरालाई सार्वजनिक रूपमा सिधै खण्डन गर्न सक्नु प¥यो । अध्यक्षलाई मानहानिको मुद्दा लगाएर कारबाही गर्न सक्नु प¥यो । र, सखुवाको रुख काटिएको घटनामा आफू कुनै पनि हालतमा संलग्न नभएको पुष्टि गर्न सक्नु प¥यो । यति गर्ने हिम्मत छ मेयर राईसँग ? मेयर राईले नै काट्न आदेश दिएको पुष्टि भएमा वन विभागले सर्वसाधारणलाई जस्तै कारबाही गर्ला ? कि सानालाई ऐन ठूलालाई चैनमात्र हुन्छ ? यी प्रश्नको उत्तर पाउन केही दिन पर्खौं ।