ब्लाष्टखबर । धरानस्थित खानेपानीको मुहान क्षेत्र तोडफोडमा संलग्न भएको आरोपमा पक्राउ परेका हर्क सामपाङलाई प्रहरीले म्याद थप गर्न जिल्ला अदालत लगेको छ ।

मुहान क्षेत्रमा क्षति पुर्याएकाे भन्दै कारबाहीका लागि धरान उपमहागरपालिका खानेपानी व्यवस्थापन बोर्डले मंगलबार बेलुका किटानी जाहेरी दिए पछि पक्राउ परेकाे सामपाङलाई अाज बिहान म्याद थपका लागी सुनसरी जिल्ला अदालत इनरूवा लगिएकाे हाे । 

उप निर्वाचनमा नगरप्रमुखकाे उमेद्वार समेत रहेका सामपाङलाई म्याद थपका लागी लैजाने क्रममा इलाका प्रहरी कार्यालय धरानमा उनका समर्थकहरुले अवरोध गर्न खोज्दा कार्यलय परिसर केहिबेर तनावपूर्ण बनेकाे थियाे ।

छलफल गरी समहमतिमा छाड्ने कुरा भए पनि म्याद थपकाे लागि लैजान खाेज्दा अाफूहरूले विराेध गरेकाे बताएका समर्थकहरूले प्रहरीले महिलामाथि दुर्व्यवहार पूर्ण हातपात गरेकाे समेत बताएका छन् ।

इप्रका धरानका प्रमुख डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले  भने प्रहरीकाे गाडि माथि अवराेध सिर्जना गरेकाले भिड हटाइएकाे बताएका छन् । उनले भने' वहाँहरूले हामीलाइ अवराेध गर्नु भयाे त्यसैले  प्रहरीले हटाएकाे हाे  । त्यस्ताे कुनैपनि हातानपात भएकाे छैन ।' 

डिएसपी बस्नेतले समपाङमाथी बोर्डकाे जाहेरी अनुसार 'सार्वजनिक सम्पतिकाे ताेडफाेड र अत्यावश्यक सेवामा अवरूद्ध' मुद्दामा म्याद थप गर्न लागिएकाे बताएका छन् ।