विराटनगर  / श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद  सञ्जेलमाथि आज कार्यालयमै कुटपिट भएको छ ।
भ्रष्टाचारविरोधी अभियान्ताको छवि बनाएका उप–सचिव सञ्जेल शनिबार कार्यालयमा कुटिएका हुन् । शनिवार पनि कार्यालय पुगेका सञ्जेललाई कार्यालयका सहयोगी कर्मचारी नेत्र भट्टराई र मेनुका सापकोटा कोइरालाले कुटपिट गरेका् प्रहरीले जनाएको छ ।

कार्यालयकै कामको विषयलाई लिएर विवाद उत्पन्न भएपछि श्रम कार्यालयका प्रमुखमाथि आक्रमण भएको मोरङ प्रहरी प्रमुखएसपी सन्तोष खड्काले जानकारी दिए । सञ्जेलमाथि टेबुलमाथि राखेको पेपर वेटको डल्लो, चप्पल, नेल कटर, पञ्चिङ मेसिनलगायत प्रहार भएको थियो ।
एपसी खड्काले कुटपिटमा संलग्नलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको जानकारी दिए ।

कुटपिटबाट सञ्जेलको निधारलगायत अनुहारका विभिन्न भागमा चोट लागेको छ । सञ्जेल प्राय सार्वजनिक विदाका दिन पनि कार्यालयमै आएर काम गर्दै‌ अाएका छन । स्थानीयका अनुसार सञ्जेल आइपुगेको केही बेरमा नेत्र र मेनुका पनि कार्यालय प्रवेश गरेर चुक्कुल लगाएर भित्र कुटपिट गरेका थिए । मिटिङ भन्दैं उनका चलाकलाई बाहिर निकालिएको थियो ।

कुटपिटमा संलग्नहरुले पटक–पटक सञ्जेलले गालीगलौज गर्ने र अनावश्यक ड्युटीमा लगाउँदै एकलौटी पेल्ने काम गरेकाले आवेशमा आएर कुटपिट गरेको प्रहरीसँग बयान दिएका थिए ।