समाजवादकर्मी कि दलाल पुँजीवादको पेचकिला ?

alt
  • श्रावण १३, २०७७
  • पारस काङ्माङ राई

parash

नेकपाका नेता घनश्याम भूसालका अनुसार हाम्रो दस्तावेजले दलाल पुँजीवादलाई राष्ट्रिय पुँजीमा रूपान्तरित गर्दै समाजवादमा जान्छौं भनेको ठीक छ । तर चरित्र र सङ्गठन कस्तो हुने ? म के गर्दा दलाल पुँजीवादको पेचकिला हुन्छु, के गर्दा राष्ट्रिय पुँजी निर्माणकर्मी हुन्छु । त्यसलाई परिभाषित गर्नुपर्दछ (नयाँपत्रिका, २४ भदौ ०७५) । जनताको चाहना एवम् अपेक्षा धेरै हुन्छन् । त्यसलाई मर्न दिनु हुँदैन । त्यो अपेक्षा नेकपा र उसको बहुमतको सरकारको भरोसामा पूरा हुने विश्वास आम नागरिकमा थियो । तर झण्डै दुईतिहाइ बहुमतको सकारको नेतृत्व गरिरहेका केपी ओली र अध्यक्ष पुष्पकमल दाहाललाई आफैले निम्त्याएको राजनीतिक सङ्कटको भारी थेग्न गाह्रो पर्दैछ । राजमार्ग छोडेर भीरको बाटो हिँडेको विश्लेषण हुँदै आएको छ (सइन्द्र राईः सा.ख.प. हिमाल पूर्णाङ्क ६८) । पार्टी सरकार सञ्चालनको प्रश्न, निर्वाचन र अन्य अवधिमा जनतासँग गरिएका प्रतिबद्धता, सैद्धान्तिक कार्यको समीक्षा र नयाँ ढङ्ग, दलाल पुँजीवादको चक्रव्यूह, व्यक्तिवादी गुट–उपगुट, स्वार्थ समूहका चलखेल, गतिविधि, सत्ता, शक्ति, सङ्घर्ष, भारत–चीन–अमेरिकी गतिविधि, राष्ट्र, राष्ट्रियता, जनजीविका र राष्ट्रवादको नारा यी तमाम प्रश्नहरू छन् । त्यसको निदान हुनुपर्दछ भन्ने आम कार्यकर्ता र शुभेच्छुकहरू बताउँछन् ।

विषय प्रवेशः
पुँजी माक्र्सवादको तथ्यगत सिद्धीकरण हो । त्यसैकारण पुँजीवाद अनिवार्यरूपमा समाजवादमा रूपान्तरण हुन्छ भन्ने निष्कर्षमा माक्र्स पुगेका हुन् । सारमा माक्र्सवाद, आर्थिक उन्नति र प्रगतिको आधार हो । यसले विकास, समृद्धि र परिवर्तनको वकालत गर्दछ । सामूहिक उत्पादन र वितरण गर्ने पद्धतिलाई स्वीकार गरेको छ । नेपालको सन्दर्भमा माक्र्सवादी चरित्र हामीकहाँ विकास हुँदैछ कि दलाल पुँजीवादी चरित्र विकास हुँदैछ भन्ने आम प्रश्न हो । देशको अर्थतन्त्र मजबुत बनाउन राष्ट्रिय पुँजीको निर्माण गर्नुपर्दछ ।

तर राष्ट्रिय पुँजीको निर्माणमा दलाल पुँजीवादले आक्रमण गरिरहेको छ । जुन पुँजीले जनतालाई रोजगारी सिर्जना गर्छ, त्यो राष्ट्रिय पुँजी हो । जुन पुँजीले रोजगारी सिर्जना गर्दैन, राष्ट्रिय सम्पत्तिको दोहन गर्छ, नाजायज ढङ्गबाट सीमित व्यक्ति धनी बन्छ भने त्यो दलाल पुँजी हो । ठूला–ठूला उद्योग कलकारखाना, व्यापार व्यवसाय, कम्पनीहरू, पर्यटन, शिक्षा, स्वास्थ्य, कृषि, युवा, महिला, बालबालिका, सर्वहारा, श्रमिकवर्गका हितका निम्ति, विकास र समृद्धिको मोडल समाजवादी अर्थतन्त्र उन्मुखमा आधारित छ कि छैन ? यसको वस्तुगत विश्लेषण हुनुपर्दछ यद्यपि कम्युनिष्टहरूले नेपालमा प्रयोग गरेको अर्थनीतिको मोडल पुँजीवादमै आधारित छ । यसले गर्दा कम्युनिष्ट पार्टीहरू बुर्जुवाकरण हुँदै त्यसका नेतृत्वहरू दलाल पुँजीपतिको सङ्गतमा फस्दै गइरहेकै छन् । यही गतिमा हिँडे समाजवाद नआउने ग्यारेण्टी हुन्छ । त्यसकारण समाजवाद हुँदै साम्यवाद अधिकतम लक्ष्य बनाएको कम्युनिष्टरू, कम्युनिष्ट पार्टीहरू दलाल पुँजीवादको पेचकिला बन्नु हुँदैन ।

के का प्रश्नमा विवाद–विभाजन ?
नेपाली कम्युनिष्ट आन्दोलनको चरित्र मध्यम्वर्गीय, बौद्धिक छ । इतिहास–वर्तमानसम्म आइपुग्दा, विवाद विभाजनको शृङ्खलालाई हेर्दा पद, शक्ति, सत्ता, गुट–उपगुट, स्वार्थ समूहहरू क्रियाशील छन् । वर्तमान दशक मूलतः गुट र फुटको शृङ्खला हो । ‘२०१९ देखि यताको अवधिमा यो आन्दोलन कम्तिमा ५० पटक गठित र विघटित भएको छ’ (वादविवादको पृष्ठभूमिः डा. सुरेन्द्र के.सी. २०६०–२०७१ पृ.१६५) । २०४६÷४७ पछि यता पनि गुट(फुटको प्रवृत्तिमा कुनै कमी आएन । एक समयमा १२ कम्युनिष्ट समूहहरू थिए । नेकपा (माक्र्सवादी), नेकपा (माले), नेकपा (अमात्य), नकेपा (चौम), नेकपा (वर्मा), नेकपा (मानन्धर), नेकपा (मसाल), नेकपा (मशाल), नेकपा (रोहित), सर्वहारावादी श्रमिक सङ्गठन (रूपलाल विश्वकर्मा), नेपाल माक्र्सवादी–लेनिनवादी पार्टी (कृष्णदास श्रेष्ठ) र शम्भुराम समूह क्रियाशील थिए (स्रोतः नेपाल कम्युनिष्ट आन्दोलनको इतिहास भाग–२) ।

०३२ मा अखिल नेपाल कम्युनिष्ट क्रान्तिकारी को–अर्डिनेसन कमिटी (माले) ले ०३५ मा नेकपा (माले) को रूपधारण ग¥यो । यो आन्दोलन व्यक्ति हत्यामा आधारित भए पनि परम्पराधार विरुद्धको प्रतीक थियो । तर एकले अर्कोलाई निषेध गर्ने, गद्दारीको लोगो लगाइदिने पुरानो चरित्रबाट ग्रसित भने थियो । चिनियाँ कि रसियन क्रान्ति मोडलको विवाद चल्यो । एक्स र वाइको विवादमा मणिलाल राई (दीपक) ले वैचारिक सङ्घर्षको सूत्रपात गरेका थिए । बुर्जुवा राष्ट्रवाद र अन्तर्राष्ट्रिय माक्र्सवाद–लेनिनवादसम्बन्धी विवाद, दक्षिणपन्थी पथ भ्रष्ट हावा र क्रान्तिकारी नीति सिद्धान्तबीचको विवाद, शान्तिक्षेत्र प्रस्ताव सम्बन्धी विवाद प्रधान अन्तरविरोध सम्बन्धी विवाद क्रान्तिको शत्रु र मित्रहरू सम्बन्धी विवाद, जनमत सङ्ग्रह सम्बन्धी विवाद, पार्टी कि राजनीतिक स्वतन्त्रता सम्बन्धी विवाद, नारा सम्बन्धी विवाद, नव ट्रटस्कीपन्थी सम्बन्धी विवाद, नौलो जनवाद, परिमार्जित नौलो जनवाद र बहुदलीय जनवाद सम्बन्धी विवाद, बहस समाजवादी मुलुकलाई हेर्ने दृष्टिकोण सम्बन्धी विवाद कार्यक्रमसँग सम्बन्धित विवादहरू देखिएका थिए । समग्रमा ती विवादहरू पूर्ववर्ती आम चरित्रमा कुनै मौलिक अन्तर थिएन ।

यसको मुख्य चरित्र नै विभाजन विघटन हो । यद्यपि केही सैद्धान्तिक बहस भने थियो । ०४६÷४७ को प्रश्नले नेपाली कम्युनिष्ट आन्दोलनलाई मूलतः शान्तिपूर्ण कि सशस्त्रयुद्ध भन्ने दुईधु्रवमा विभाजन गरिदियो । विद्यमान अवस्थामा पनि विवाद र विभाजनका विषयहरूबाट माथि उठ्न सकेको छैन । तत्कालीन माओवादी अन्ततोगत्वा टुक्रा–टुक्रामा विभाजन भयो भने एमाले र माओवादी एकिकरण भएपछि पनी कठित नेकपा दुईपटक विभाजनकोमुखमा पुगेको छ । ईतिहाँसको पुर्नवृति चरित्र कलह, विवाद, विभाजन, गाली गलोज, गुट(उपगुट, स्वर्थ समूह, सक्ति, सत्ता जस्ता वुर्जुवाकरणको दलदलमा र दलालपुँजीवादको संगतमा फस्दै गएकाले सिद्धान्त र संगठन मक्किदै भत्कीदै गएको छ । यो आन्दोलन आधारभुततहवाट उठेको वास्तविक कम्युनिष्ट आन्दोलन नभई मध्यमवर्गीय पढेलेखेका शहरियाहरुको वौद्धिक आनदोलन मात्र भएको वताउँछन डा. सुरेन्द्र के.सी. । उहाँको निष्कर्ष छ, यो गतिको आन्दोलनले समाजवाद, साम्यवादको लक्ष्य हासिल हुन सक्दैन ।

बुर्जुवाकरणको प्रश्न ?
माक्र्सवाद आफैमा सार्वभौम सिद्धान्त हो । विश्वका कम्युनिष्ट पार्टीहरूले उठाउँदै आएको स्टालिन, माओ, लेनिनकालीन अवस्थालाई जस्ताको त्यस्तै लागू गर्न सकिँदैन । किनभने माक्र्सवाद विज्ञान हो । विज्ञानको नियम गतिशील र परिवर्तनशील भइरहन्छ । नेपालको सन्दर्भमा माक्र्सवादको सिर्जनात्मक प्रयोग गर्दै, लोकतान्त्रिक अभ्यासबाट प्रतिस्पर्धाको माध्यमबाट समाजवाद स्थापना गर्ने र त्यो समाजवादमा पनी वहुदलिय प्रतिष्पर्धाको माध्यमद्धारा श्रेष्ठता हाँसिल गर्ने हो । यसअर्थमा हामीले प्रयोग गरेको लोकतान्त्रिक अभ्यासलाई गलत मान्न सकिँदैन ।

तर प्रश्न रह्यो लोकतान्त्रिक व्यवस्थाको आधार टेकेरै पुँजीवादलाई ध्वस्त बनाउने र समाजवादी क्रान्ति गर्ने भन्ने जुन लक्ष्य छ, त्यसलाई निर्धारण गर्ने तŒव भनेको आर्थिक हो । यसअर्थमा कम्युनिष्ट र कम्युनिष्ट पार्टीहरुले ल्याएका दस्तावेजहरु, आर्थिक समृद्धिका आयमहरु सामाजिक, राजनीतिक, सांस्कृतिक आयामहरू र गरिने गतिविधि, क्रियाकलापहरू दलाल पुँजीवादी जस्तो छ कि, समाजवादी जस्तो छ यो नै मूलभूत प्रश्न हो । आज नेपालमा दलालपुँजीवादको संगतमा नेतृत्वहरु, नेताहरु र कार्यकर्ताहरु फसिरहेका छन् । यसकारण दलालपुँजीवादले कम्युनिष्ट पार्टीहरुलाई निलिदिन सक्ने विश्लेषण घनश्याम भुसालले गर्दै आएका छन् । इटालियन दार्शनिक एन्टोनियो ग्राम्सीले प्रतिक्रान्ति क्रान्तिभित्रै भु्रणका रूपमा सुसुप्त अवस्थामा जीवित रहेको हुन्छ भनी बताएका छन् । त्यो मौका पाउनासाथ मुख्यसार र रूप बनेर बाहिर देखा पर्दछ । नेपालमा शान्तिपूर्ण राजनीतिक अभ्यासमा यस्ता तŒवहरू विकास भइरहेका छन् । वास्तवमा सिद्धान्त जनताको चाहना र सङ्गठनभन्दा व्यक्तिगत मनोगत कुण्ठामा शक्ति, सत्ता र आर्थिकमा चुर्लुम्म डुब्न थालेपछि यसलाई बुर्जुवाकरण भएको मान्नु पर्ने हुन्छ । राजनीतिलाई कमाइ खाने भाँडोका रूपमा विकास गर्दा र पेशा जस्तो बनाइदिँदा वर्ग–वर्ग बीचमा हुने सङ्घर्ष ओझेलमा पर्दै जान्छ र समाजवादी क्रान्ति हुन सक्दैन ।

उच्च वर्गीय राजनीतिक अभ्यास, आर्थिक, सांस्कृतिक गतिविधि, जातीय भेदभावको अन्त्य नहुनु र पद, शक्ति, सत्ताको उपयोग गर्नु, जनताको पक्षमा जिम्मेवार नबन्नु भनेकै बुर्जुवाकरण हो । अर्थात् दलाल पुँजीवादले पार्टी र सरकारको संरचनाहरू नै ध्वस्त बनाउँदै लगेको छ । सङ्गठन भत्काउँदै लगेको छ । यो प्रतिक्रान्तिको रूपमा देखा परेको छ । जननेता मदन भण्डारीले सामन्तवादको नाइकेलाई ढालेर पनि आधारभूत जनताको जीवनमा परिवर्तन हुँदैन भने जनताको जीवनमा खुसी छाउन नसक्ने बताएका थिए । आफूसम्म आइपुगेपछि नेताहरूले त्यो नै अन्तिम परिवर्तन हो भने सोच पलाउने र आफूभन्दा अरू नेतृत्वमा आए सबै बिग्रिन्छ भन्ने सोचको विकास हुनुले गुट–उपगुट बन्दै विभाजित समेत हुने गरेको छ । यो प्रतिक्रान्तिको दृश्य हो । यो दृश्यलाई बदल्न समाजवादीहरू जिम्मेवार बन्दै जानुपर्ने बताउँछन् वाम विश्लेषकहरू !

आम चरित्रः
विभिन्न समूहमा विभाजित कम्युनिष्ट पार्टीहरू पूर्ववर्ती चरित्रबाट माथि उठ्न सकेनन् । आन्दोलनबाट स्थापित आफ्ना सिद्धान्त र नीति कार्यक्रमलाई महŒव दिन स्वार्थ, गुट–उपगुटमा लिप्त छन् । मुलुककै ठूलो र बहुमत सरकारको नेतृत्व गरिरहेको नेकपामा घनीभूतरूपमा सिद्धान्तको बहस नभई, सङ्गठन निर्माणलाई प्राथमिकता नदिइकन स्वार्थसिद्धको लडाइँमा देखिनु कम्युनिष्ट आन्दोलन र मुलुककै लागि घातक छ ।

नेकपामा देखिएको विवाद खासगरी ओली, प्रचण्ड र नेपाल समूहमा देखिएको समीकरणको सन्तुलनलाई पहिचान गर्न नसक्नु हो । भर्खरै ओली–प्रचण्ड विवाद सहमति भए पनि वरिष्ठ नेता नेपालले आपत्ति जनाउँदै जनताको बहुदलीय जनवादलाई स्वीकार गरे । प्रचण्डलाई अध्यक्ष बनाउन सकिने तर आफू पनि अध्यक्षको दाबेदार भएको बताएका छन् । प्रथम पार्टी सरकारको पदहरूको बाँडफाँडलाई प्राथमिक तहमा राखी महाधिवेशनसम्म यही तरिकाले चल्न सकिन्छ । सहमति र सहकार्य एकताको निष्कर्ष हो । यो पिँढी आन्दोलन र परिवर्तनको भार थेग्न सक्ने अवस्थामा छैन । दोस्रो नेतृत्वको पद बाँडफाँडले मात्र पार्टी र सरकार सञ्चालन हुन सक्दैन । सङ्गठन निर्माणलाई ध्यान दिनुपर्दछ । तर यो लेवलका नेतृत्वहरू पनि मनोगत कुण्ठाको आधारमा नेपालको भूराजनीतिक अन्तर्राष्ट्रिय तथा राष्ट्रिय शक्तिकेन्द्रको राजनीति कसरी सञ्चय गर्ने, कसैको लोकप्रियता र अलोकप्रियतालाई राजनीतिक दाउपेचमा कसरी प्रयोग गर्ने भन्नेसँग सम्बन्धित छ ।

तिनीहरू पनि पहिलो स्थानका नेतृत्वहरू जस्तै सङ्घर्ष र परिवर्तनको भारी थेग्न सक्ने स्थितिमा छैनन् । तेस्रो नयाँ पुस्ता हस्तान्तरणको प्रश्नमा दलाल पुँजीवाद र बुर्जुवाकरणको अव्याप्त बनिसकेका छन् । पहिलो र दोस्रोबाट परिवर्तनको अपेक्षा गर्न सकिँदैन होला । तर तेस्रोमा भने अवसर र चुनौती दुवै छ । यसले राजनीतिक रूपमा जेनेरेसन ग्यापलाई कसरी महŒवपूर्णरूपमा हल गर्न सक्छ भन्ने मूलभूत प्रश्न हो । खासमा समस्याको जड सत्ता, शक्ति, गुट–उपगुट भएकाले सिद्धान्तको बहस नहुनु, पुँजीवादी पार्टीको आचरण हो । दलाल पुँजीवादको चरित्र हो । जसलाई बुर्जुवाकरण भनिन्छ ।

निष्कर्षमाः
पुँजीवादी लोकतन्त्रमा सुशासन, पारदर्शिता, जवाफदेहिता र योग्यतालाई प्राथमिक आधार बनाएर विकास र समृद्धिको नारालाई साकार पार्न सकिन्छ । पुँजीवादले निर्माण गरेको विकसित भौतिक संरचनालाई टेकेर नै समाजवाद आउने हो । यसकारण कम्युनिष्ट पार्टीमा देखिएको समस्या समाधानका लागि लामो समयदेखि टालटुले पद्धति, लेनदेनको पद्धति, अपनाएको सबैले देखेको बताउँछन् रामचन्द्र उप्रेती ! (हेर्नुहोस, साउन ५, ०७७ ब्लाष्ट) । त्यसकारण समाजवादकर्मी हुनका लागि सिद्धान्तको आधारमा नीति, कार्यक्रम बनाउने र व्यवहारिक प्रत्याभूत जनतामा महसुस गर्दै, गराउँदै जानु पर्नेछ । समाजवाद १० प्रतिशत सिद्धान्त हो भने ९० प्रतिशत व्यवहारिक कार्यान्वयन हो ।

यसका लागि लामो यात्रा चाहिन्छ । अहिलेका पिँढीले भोलिका निम्ति सपना नदेख्ने हो भने समाजवादको प्रश्न पनि गर्भमा नै तुहिन सक्छ । यसका लागि कम्युनिष्टहरू र मूलतः  नेकपाका नेतृत्वहरूसँग यही अपेक्षा राखेका छन् । दलाल पुँजीवादको पेचकिला होइन, समाजवादकर्मी हौं भन्ने कुरामा पुराना पुस्तालाई ताजगी गराउने र नयाँ पुस्तालाई प्रशिक्षण दिने र पढाउने गर्नु पर्दछ । अन्यथा जसरी कम्युनिष्ट पार्टीको आधा शताब्दी हो–हल्ला र बलिदानमा बितेको छ, त्यसरी नै अर्को आधा शताब्दी पनि बित्नेछ । त्यो पुनरावृत्ति मात्र हुनेछ । बेलैमा सचेतना किन नअपनाउने ?

प्रदेश १ ले पिसिआर प ...

विराटनगर / प्रदेश १ मा कोरोना परीक्षणको दायरा फराक ...

मेचीनगरका एक चिकित्स ...

भद्रपुर/ सीमा नाकासँग जोडिएको झापाको मेचीनगर नगरपालिकाम ...

बीपी प्रतिष्ठानको रज ...

धरान/बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हालै न ...

धरानको लकडाउन दृष्य, ...

धरान / धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प् ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved