• अनिल श्रेष्ठ

विराटनगर / १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत १९ जना प्रहरीमा आइतबार कोरोना संक्रमण देखिएको छ । कोरोना संक्रमण देखिएका २ जना महिला प्रहरी र १७ जना पुरूष प्रहरीमा कोरोना देखिएको हो ।

यस्तै आइतबार नै विराटनगरका अन्य तीन जनामा पनि कोरोना संक्रमण देखिएको छ । यस अघि पनि प्रदेश प्रहरीमा कार्यरत पाँच जना प्रहरीमा संक्रमण देखिएको छ । गत मंगलबार विराटनगरस्थित विराट नर्सिङ्ग होमका संचालक तथा वरिष्ठ चिकित्सकलाई पनि कोरोना संक्रमण देखा परेको छ । संक्रमित चिकित्सकको क्षातीमा निमोनिया देखा परेपछि काठमाण्डौस्थित टिचिङ्ग अस्पतालको कोभिड उपचार केन्द्रमा उपचार भइरहेको छ ।

केही दिन अगी सुनसरी इटहरीस्थित इलाका प्रहरी कार्यालयका एक थुनुवामा कोरोना पोजेटिभ रिपोर्ट देखिएको छ । राजस्व चुहावटसम्बन्धी मुद्दामा गत साउन ४ गते उनलाई सशस्त्र प्रहरीले पक्राउ गरेको थियो । पछि इलाका प्रहरी कार्यालय इटहरीमा बुझाइयो । तर, तिनै व्यक्तिमा कोरोना पुष्टि भयो । उनीलाई प्रहरी कार्यालयमा अरू थुनुवासँगै एउटै कोठामा एक रात राखिएको थियो । सुनसरीकै इनरुवा नगरपालिका –३ महेन्द्रचोक घर भएका पुरुषमा कोरोना देखियो । प्रशासन र नगरपालिकाले थप जोखिम नलिन पुनः पूर्ण लकडाउन गर्ने निर्णय लियो । संक्रमित पुरुष प्रहरी सेवामा कार्यरत हुन ।

आइतबार मात्र विराटनगर महानगरपालिकाले कोरोना भाइरस समुदाय स्तरमा फैलनसक्ने खतरालाई मध्यनगर गर्दै सामाजिक दुरी र स्वास्थ्य सचेतनाका मान्यताहरुलाई कडाइपूर्वक कार्यान्वयन गर्ने निर्णय गरेको छ । महानगरपालिकामा बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले यस्तो निर्णाय गरेको हो । महानगरपालिकाले गरेको यस्ता खालको नर्णायले संकटको गाम्भीर्यता प्रस्ट झल्कन्छ ।
विराटनगर महानगरपालिकाले कार्यालयमा हुने भिडभाडका कारण भाइरस संक्रमणको दर उच्च हुने तर्फ सचेत हुँदै केही समय अत्यावश्यक सेवा बाहेक सामान्य सेवाका काम बन्द गर्ने निर्णय गरेको छ ।

महानगरपालिकाले घरनक्सा पास गर्ने, सामाजिक सुरक्षा भत्ता वितरण तथा कार्ड नविकरण जस्ता काम केही समय पछि गर्न सकिने भन्दै तत्काल नगरिनहुने काम मात्र गर्ने निर्णय गरेको महानगरका प्रमुख भीम पराजुलीले जानकारी गराएका छन् । अब महानगर भित्रका हरेक पसल व्यवसाय सञ्चालन गर्ने सञ्चालक र त्यहाँ काम गर्ने कामदारहरुले अनिवार्य मास्क लगाउनु पर्ने, त्यका लागि नियमितरुपमा समितिले अनुगमन गर्ने र मास्क नलगाएको पाइएमा पहिलो पटक १० रुपैंया लिएर मास्क उपलव्ध गराउने निर्णय गरेको छ । दोश्रो पटक पनि उल्लंघन गरेको पाइएमा १५ दिनका लागि व्यवसाय बन्द गरिदिने निर्णय भएको छ ।
यसअघि बजेट अधिवेशनको अन्तिम बैठकलाई सम्बोधन गर्दै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले समुदाय स्तरसम्म कोरोना संक्रमण पुगिसकेकाले सचेत र सतर्क हुन सर्वसाधारणलाई अपिल पनि गरेका छन् ।
पछिल्लो समय विराटनगरसहित सुनसरी र झापामा देखिएको कोरोना संक्रमण सामुदाय स्तरमा पुगेको विश्लेषण गरिएको छ ।

सबैतिर समुदाय संक्रमणको जोखिम भएपनि प्रदेश सरकारले खासगरी हाल मोरङ, झापा र सुनसरीको तीन जिल्लामा समुदायस्तरमा कोरोना पुगेका रूपमा विश्लेषण गरेको हो । मोरङको विराटनगर, सुनवर्षी, झापाको कचनकवल, काँकडभिट्टा र सुनसरीको इनरुवा, इटहरी क्षेत्रलाई बढी संवेदनशील रूपमा हेरिएको छ । झापाको कचनकवलमा मात्र १ सय ३५ जनामा संक्रमण देखिएको छ । उनीहरू सबै भारतबाट आएकाहरू हुन् । कचनकवलको साबिक वडा नम्बर ३ मा गाउँपालिकाकै पहलमा एक चरण समुदायस्तरमा समेत कोरोना परीक्षण भइसकेको छ ।
सीमा र नागरिक सुरक्षामा खटिएकै बेला सुरक्षाकर्मी संक्रमित हुँदा उनीहरू कसरी र कसको सम्पर्कबाट संक्रमित भए भन्ने तथ्य खुल्न सकेको छैन ।

कोरोना संक्रमणको अवस्थालाई सूक्ष्म अध्ययन गरि नियन्त्रणमा लागि परेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा. सुरेश मेहताले बताए । कतिपय ठाउँमा भेटिएका संक्रमितको स्रोत नखुलेका कारण समुदायमा कोरोना पुगेको हुनसक्ने भएकोले त्यही अनुसार कन्ट्रयाक टे«सिङ्ग गरि परीक्षण र अध्ययन गर्दै आएको उनले बताए । यस अघि देखिएको कोरोना संक्रमित ७१ प्रतिशत भारत र अन्य तेस्रो मुुलुकबाट आएर क्वारिन्टनमा बसेकोलाई संक्रमण देखा परेको थियो । पछिल्लो समयमा सुरक्षामा खटिने प्रहरी र चिकित्सकलाई समेत संक्रमण देखिन थालेपछि कोरोना सामुदायस्तरमा पुगेको जनस्वास्थ्य विज्ञहरू बताउँछन् ।

खासगरी झापा, मोरङ र सुनसरीलाई जनसंख्या, भारत सीमा र तेस्रो देशबाट मानिस आउजाउ हुने लगायत कारणले बढी जोखिमयुक्त मानिएको छ । डा. मेहताका अनुसार पहिले यिनै स्थानमा समुदायस्तरमै गएर स्वाब संकलन गरी परीक्षण गर्ने योजनासाथ काम अघि बढाइएको छ । प्रदेशभरका जोखिमयुक्त भनेर आँकलन गरिएका सहर, गाउँ र बस्तीबाट समेत नमुना स्वरूप स्वाब संकलन गरेर ल्याउने डा. मेहताले जानकारी दिए ।

प्रदेश १ मा ९ सय २२ संक्रमित
प्रदेश १ मा आइतबार साझसम्म संक्रमितको संख्या ९ सय २२ जना पुगेका छन् । जसमध्ये ७ सय ८० पुरूष र १ सय ४२ जना महिला कोरोना संक्रमित रहेको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ । आइतबार मात्र विराटनगरमा १९ प्रहरी सहित २२ जनालाई संक्रमण देखिएको छ । संक्रमण देखिएको मध्ये तीन महिला र १९ पुरूष छन् । इलाममा ९ पुरूषमा संक्रमण देखिएको हो । संक्रमण निको भएर हालसम्म ७ सय ४५ जना डिस्चार्ज भएका छन् ।
प्रदेशमा हालसम्म ३९ हजार ५ सय जनाको कोरोना परक्षण गरिएको छ । जसमध्ये ३८ हजार ५ सय ७८ जनाको रिपोट नेगेटिभ आएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोनाले २ जनाको मृत्यु भएको छ ।