पाँचथर / जिल्लास्थित विभिन्न विद्यालय र क्याम्पसहरुमा ब्यवस्थापन गरिएका क्वारेन्टिन स्थलहरुलाई क्रमशः हटाउँदै लगिने भएको छ । त्यसका लागि आवश्यकताका आधारमा बैकल्पिक क्वारेन्टिन स्थलको खोजि गर्न जिल्लास्थित कोभिड–१९ संकट ब्यवस्थापन केन्द्रले स्थानीय तहहरुलाई भनेको छ ।

केन्द्रको आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । १ भदौदेखि विद्यालय र क्याम्पसहरु खुलाउने सरकारले गरेको निर्णयलाई मध्यनजर गरी यस्तो निर्णय गरिएको सहयायक प्रमुख जिल्ला अधिकारी निर्मल तुम्रोकले बताए । भारत र तेस्रो मुलुकबाट नेपाल आइ जिल्ला भित्रिने ब्यक्तिहरुको हकमा भने क्वारेन्टाइनमा राखि पीसीआर टेष्ट गरेर रिपोर्ट नेगेटिभ आएपछि मात्र होम क्वारेन्टाइनमा बस्ने गरी घर पठाउने ब्यवस्थालाई निरन्तरता दिने निर्णय भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

कोरोना संक्रमित सबैजना उपचारपछि निको भएर घर फर्केपछि पाँचथर केहि दिन अघि कोरोनामुक्त बनेको हो । जिल्लामा त्यसयता हालसम्म कुनै ब्यक्तिमा पनि कोरोना संक्रमण नभेटिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा हालसम्म ७८५ जनाको पीसीआर र दुई हजार २०८ जनाको आरडिटी गरिएको कार्यालयले जनाएको छ ।