विराटनगर / उपचारको लागि उदयपुरबाट आएका एक युवकलाई विराटनगरको कोशी अस्पतामा भर्ना नगर्दा एम्बुलेन्स मै मृत्यु भएको छ ।

उदयपुरको कटारी नगरपालिका–५ का २३ वर्षीय पदम राईको शुक्रबार अस्पतालमा मृत्यु भएको हो ।
सामान्य अवस्थामा नोबेल अस्पतामा पुगेका युवकलाई भर्ना गर्न नमाने पछि कोशी अस्पताल विराटनगर ल्याएको थियो । तर सरकारी अस्पताल कोशीले पनि भर्ना नगर्दा एम्बुलेन्समै पदमको मृत्यु भएको मृतककी श्रीमती कमला राईले बताइन् ।

कोरोनाको शंकास्पद भन्दै कोसीका चिकित्सकले भर्ना लिन नमानेको हो। कोशीमा पुगेर एम्बुलेन्समा राखेको करिब एक घण्टापछि बिरामीको एम्बुलेन्सभित्रै मृत्यु भएको उनले बताइन । ।
स्वास्थ्यमा समस्या देखिएपछि पदमलाई बिहीबार कटारी अस्पतालमा भर्ना गरिएको थियो । उपचार सम्भव नहुने भन्दै कटारी अस्पतालले रेफर गरिदिएपछि विराटनगर ल्याइएको थियो ।

मृत्यु पछि पनि २ घण्टासम्म एम्बुलेन्समै शव
मृत्यु भइसकेपछि पनि पदमको शव एम्बुलेन्समै दुई घण्टासम्म राखिएको थियो ।
शुक्रबार बेलुका मात्र पदमको शव स्वाब संकलनका लागि भित्र लगेको थियो । कोरोना परीक्षणका लागि मृतकको स्वाब संकलन गरिएको कोसीका मेडिकल सुपरिटेन्डेन डा चुमनलाल दासले बताए । अवस्था गम्भिर भएकाले धरान लैजान सुझाव दिए लगत्रे एम्बुलेन्समानै मृत्यु भएको डा.दासले बताए ।