इटहरी  /  नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा प्रभावशाली नेता डा.शेखर कोइरालाले पार्टीको १४ औं महाधिवेशनमा लाग्न कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् । गाउँ–गाउँमा पार्टीको चुनावी सरगर्मी बढाउँदै महाधिवेशनको तयारीमा लाग्न कोइरालाले अगुवा कार्यकर्ताहरूलाई निर्देशन दिएका हुन् ।
नेपाली काङ्ग्रेस प्रदेश सभा क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर २ (१) ले महामानव बीपी कोइरालाको ३८ औं स्मृति दिवसका अवसरमा आयोजित अग्रज सम्मान कार्यक्रममा बोल्दै कोइरालाले सो कुरा बताएका हुन् । पार्टी कार्यकर्ताहरूमा पार्टीको महाधिवेशन हुने नहुने अल्मल भइरहेको बेला नेता कोइरालाले पार्टीको महाधिवेशन गराउने माहोल बनाउन आग्रह गरेका हुन् ।

तोकिएकै समयमा चुनाव नभए काङ्ग्रेस पदाधिकारी जवाफको भागीदार हुने भन्दै जसरी पनि चुनाव गराउनु पर्ने बताए । अहिले काङ्ग्रेस गाउँका अग्रज कर्ताकर्ताहरूको कारण बचेको भन्दै युवा नेतृत्वलाई अगाडि सार्नुको विकल्प नभएको बताए । कार्यकर्ताहरूलाई उत्साहको साथ महाधिवेशनमा भाग लिन आग्रह गरेका थिए । काङ्ग्रेसले बीपीको बाटो बिर्सिए देशमा काङ्ग्रेस समाप्त हुने बताए ।

एक अर्को प्रसङ्गमा नेता कोइरालाले कम्युनिष्ट सरकारको कारण देश सङ्कटमा परेको बताए । कम्युनिष्ट सरकारले देशलाई अस्थिरतामा धकेलेको भन्दै कम्युनिष्ट सरकारलाई बिदाइ गर्न गाउँ गाउँमा काङ्ग्रेस जाग्नु पर्ने बताएका थिए । अहिलेको सरकार हिजो राजाको शासनकालमा र पञ्चायतमा समेत न्यायालयमाथिको विश्वास अहिले दुईतिहाइको हस्तक्षेपले निरिह हुन लागेको प्रति चिन्ता व्यक्त गरे ।

कार्यक्रममा नेपाली काङ्ग्रेसकी केन्द्रीय सदस्य कल्पना चौधरी, केन्द्रीय सदस्य नरेन्द्रकुमार चौधरी, नेपाली काङ्ग्रेस सुनसरी सभापति राजीव कोइराला, सुनसरी क्षेत्र नम्बर २ का सङ्घीय सांसद् सीताराम मेहेता, नेपाली काङ्ग्रेस सुनसरी सचिव केदार भण्डारी, नेपाली काङ्ग्रेस सङ्घीय क्षेत्र नम्बर २ का मणिराम श्रेष्ठ, इटहरी सभापति हेमकर्ण पौडेल, युवा नेता विकास केसीलगायतले बोलेका थिए ।

कार्यक्रममा इटहरीका पूर्व नगरसभापतिहरू मेदिनीप्रसाद सिटौला, फूलराज सुवेदी, वीरेन्द्र कार्की, जीवनाथ काफ्ले, केशव सिटौला, स्वर्गीय नारायणबहादुर श्रेष्ठलाई सम्मान गरिएको थियो । साथै साविक हाँसपोसका संस्थापक सभापति दिलकुमार वन, खेमराज दाहाल, मछिन्द्र खवास, बोधराज बजगाईं सम्मानित भए ।
त्यस्तै साविक एकम्बाका हेमनारायण चौधरी, लखनलाल चौधरी, गङ्गाराम चौधरीलाई सम्मान गरियो । साविक खनारका हेमनारायण विश्वास, शिवभक्त, किसनलाल विश्वास, अम्विकाप्रसाद आचार्यलाई सम्मान गरेको हो । त्यस्तै साविक भासीका पृतनानारायण चौधरी, मुनरलाल चौधरी, सुरतलाल चौधरी, केसीलाल चौधरी, गोपाल, चक्रबहादुर थापा, ईश्वर घिमिरेलाई पनि सम्मानित गरियो ।

कार्यक्रममा अग्रज नेता तथा साविक पकलीका भरत चौधरी, लटुर मियाँ, हरिलाल चौधरी, अरुणकुमार चौधरी, शगवानलाल साह र सुतलान खाँ गरी ३० जना अग्रज नेताहरूलाई सम्मान गरिएको क्षेत्रीय सभापति रमेशकुमार पोखरेलले बताए । लामो समयदेखि काङ्ग्रेस राजनीतिमा लागेकाहरूलाई सम्मान गरेर अगाडि बढे मात्र आगामी चुनावमा काङ्ग्रेसले जित्ने पोखरेल बताउँछन् ।

त्यस्तै बीपी स्मृति दिवसकै अवसरमा इटहरी उपमहानगरपालिकाले वृक्षरोपण गरेको छ । त्यस्तै नेपाल विद्यार्थी सङ्घ सुनसरीले इटहरीमा रहेको वृद्ध आश्रममा सहयोग गरेको नेविसङ्घ सुनसरीका सभापति मन्दीप भट्टराईले जनाएका छन् ।