धरान /  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको खटपट अब महाधिवेशनबाटै टुङ्गिने सङ्केत देखिएको छ ।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘महाधिवेशनको कार्ड’ अगाडि सारेपछि रुष्ट बनेका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित शीर्षस्थ नेताहरू त्यसमा सहमत देखिएका हुन् । केही समयअघि प्रधानमन्त्री ओलीले सरकार गिराउनका लागि आफ्नै पार्टीका नेतृत्व तहका नेताहरू भारतीय दूतावाससँग साँठगाँठ गरिरहेको बताएपछि पार्टीका शीर्षस्थ नेताहरू रुष्ट बनेका थिए ।

त्यसयता पार्टी अध्यक्ष प्रचण्डले राष्ट्रपतिसँग भेटघाटदेखि लिएर प्रधानमन्त्री ओलीसँग ‘वान टु वान’ वार्तामा समेत बसेका थिए । तर, समस्याको हल भएको थिएन । उनीहरूले प्रधानमन्त्री ओलीको राजीनामा र अध्यक्ष छाड्न दबाव दिँदै आएका थिए । यस बीचमा राजनीतिक घटनाक्रमले नयाँ–नयाँ मोड लिइरहेको छ । त्यसक्रममा प्रधानमन्त्री ओली स्वयम्ले महाधिवेशनको ‘नयाँ कार्ड’ फ्याँकेपछि शीर्षस्थ नेताहरू सहमत देखिएका छन् तर ढुक्क हुने अवस्था भने नरहेको एक पार्टी नेताले बताएका छन् ।

प्रम ओलीले शनिबारको सचिवालय बैठकमा ‘अर्ली महाधिवेशन’ गरेर नेतृत्व हस्तान्तरण गर्न आफू तयार रहेको बताएका थिए । त्यसले नेकपामा नयाँ बहस शुरु भएको छ । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले मङ्गलबार पार्टीमा एकता महाधिवेशनको चर्चालाई सकारात्मक रूपमा लिएको बताए । तर, जुन रूपमा मङ्सिरभित्र एकता महाधिवेशन गर्ने भन्ने कुरा आएको छ, त्यो कुरा असम्भव हुने तर्क गरेका छन् । उनले महाधिवेशन गर्नु पार्टीका लागि हितकारी रहेको भने स्वीकारेका छन् । पार्टीभित्रको विवाद सघन बन्दै जाँदा महाधिवेशनको बहस आएपछि शीर्षस्थ नेताहरू शान्त देखिएका छन् ।

गत माघ १५ देखि १९ गतेसम्म चलेको केन्द्रीय कमिटीको दोस्रो बैठकले एकताको महाधिवेशन गर्ने मिति तय गरेको थियो । तत्कालीन समयमा भएको बैठकले चैतको २५ देखि ३० गतेभित्र महाधिवेशन गर्ने मिति तय गरे पनि कोरोना महामारीका कारण महाधिवेशनको मुद्दा नै ओझेलमा परेको छ । प्रवक्ता श्रेष्ठले नयाँ मिति तय गरेर जानुपर्ने सुझाव सामाजिक सञ्जालमार्फत् दिएका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘महाधिवेशनलाई एकता र वैचारिक संश्लेषण एवम् विकासको महाधिवेशन बनाऔं ।’ यता नेकपाको स्थायी कमिटीको बैठक पनि सरेको स¥यै छ । फेरि एक पटकका लागि असार १३ गतेसम्मका लागि बैठक स्थगित भएको छ । मङ्गलबारको बैठक केहीबेर बालुवाटारमा बसे पनि प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएपछि बैठक स्थगित गरिएको हो । बैठकले बाढी पहिरोका विषयमा प्रस्ताव पारित गर्दै स्थगित गरिएको हो ।