धरान / भारतले सीमा क्षेत्रमा गरिरहेको ज्यादतीविरुद्ध धरानस्थित पिण्डेश्वर विद्यापीठका विद्यार्थीहरूले शान्तिपूर्ण प्रदर्शन गरेका छन् ।
आइतबार क्याम्पस परिसरमा भारतीय ज्यादती बन्द गर, नेपाल सेना परिचालन गर लगायतको प्ले–कार्ड बोकेर विद्यार्थीहरू प्रदर्शनमा उत्रिएका थिए । पर्साको ठोरीस्थित अयोध्यापुरी क्षेत्रका सीमा स्तम्भहरू भत्काइएको विषयमा स्थानीय जनता प्रतिकारमा उत्रिएको भिडियो भाइरल भएपछि धरानका विद्यार्थीहरूले पनि सरकारलाई सचेत गराउन प्रदर्शन गरेको सक्षम भट्टराईले जानकारी दिए ।

उनले भारतले गरेको ज्यादतीविरूद्ध प्रदर्शन गरिएको बताए । विद्यार्थीहरूले ठोरीस्थित प्राचीन अयोध्यापुरी अन्वेषण गर्न माग गरेका छन् भने सीमा क्षेत्रमा काँडेतार व्यवस्था गर्नसमेत सरकारलाई आग्रह गरेका छन् । भानु जयन्तीको दिन प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान् राम ठोरीको अयोध्यापुरीमा जन्मिएको प्रसङ्ग ल्याएपछि अहिले भारतमा प्रदर्शन हुँदै आएको छ भने भारतीयहरूले सीमा क्षेत्रमा ज्यादती गर्दै आइरहेका छन् ।