- मिकाइल आलम
भण्टाबारी । सुनसरीमा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएपछि एकजना वडाध्यक्ष फरार भएका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार दुहबी नगरपालिका वार्ड नम्बर ९ का वडाध्यक्ष मेहदी हुसेन मिँयासहित १६ जनाविरुद्ध प्रहरीमा मुद्दा दर्ता भएपछि मिँया फरार भएका छन् ।
लकडाउनको समयमा दुहबी ९ छाताबेलीका एकदर्जन व्यक्तिलाई कुटपिट गरी गम्भीर घाइते बनाएको आरोपमा उनीहरू विरुद्ध असार ८ गते इलाका प्रहरी कार्यालय दुहबी प्रहरीमा मुद्दा दर्ता भएको हो ।
मुद्दा दर्ता भए पछि इलाका प्रहरी कार्यालय दुहबीले असार ३१ गते वडाध्यक्ष मिँयाकै आफन्त पर्ने नासे भन्ने नसिरुद्दिन मिया, महम्मद इसराफिल मिँया र रहिस मिँयालाई पक्राउ गरेको छ भने वडाध्यक्षसहित अन्य १३ फरार रहेको सुनसरी प्रहरीको भनाइ छ ।
यस्तो थियो घटना
कोरोना भाइरसको त्रास बढिरहेको बेला गाउँमै रहेको जयबाबा इट्टा उद्योगमा काम गर्ने बंगाली मजदुरको विषयमा लिएर विवाद भएको थियो । बाहिबाट गाउँमा आएको मजदुरबाट कोरोना संक्रमण फैलिन सक्ने भन्दै स्थानीय प्रतिकारमा उत्रिएपछि विवाद हुँदा स्थानीय हाजी रमजान, ताविज हुसेन, इस्तियाक आलम, अरबाज मिँयालगायत एकदर्जन व्यक्ति घाइते भएका थिए ।
उनीहरूलाई दुहबी नगरपालिका ९ का वडाध्यक्ष मेहदी हुसेन मिँयाको नेतृत्वमा उनका आफन्तहरुले योजना अनुसार कुटपिट गरी घाइते बनाएको आरोप लगाइएको छ । लकडाउन पालन नगरेको र जनप्रतिनिधि आफै लकडाउनको समयमा इट्टा उद्योग संचालन गरेको भन्दै काम रोक्न र मजदुरलाई क्वारेन्टाइनमा राख्न स्थानीयले माग गरेका थिए । यसविषयमा गत चैत्र २३ गते दुईपक्षबीच विवाद भएको थियो ।
स्थानीयहरु बाहिरबाट आएको मजदुरबाट कोरोना संक्रमण फैलिनसक्ने सम्भावना भएकोले इट्टा उद्योग बन्द गराई लकडाउनको पालना गर्न दबाब दिएपछि वडाध्यक्ष मेहदी हुसेनले छलफल गर्न बोलाएको र सोही क्रममा योजनाअनुसार आफूहरूलाई कुटपिट गरेको दुहबी ९ छाताबेलीका ताजिब हुसेनको भनार्इ छ । लकडाउन पालना गर्नोस् भन्दा वडाध्यक्ष मिँयाले आफ्ना कार्यकर्ता र आफन्तबाट स्थानीयहरुलाई कुटपिट गरेको उनकोभनाई छ ।
घटनापछि घाइते अवस्थमै उजुरी गर्न जिल्ला प्रहरी कार्यालय पुगेपनि लकडाउनका कारण मुद्दा दर्ता हुन केही समय लागेको उनको कथन छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी बिनोद शर्माले समेत दुहबी नगरपालिका ९ का वडाध्यक्ष मेहदी हुसेन मियासहित १६ जनाविरुद्ध ज्यानमार्ने उद्योगमा मुद्दा दर्ता भएको बताएका छन् । मुद्दा दर्ता भएपछि आरोपित मध्येका तीनजनालाई पक्राउ गरिए पनि वडाध्यक्ष मिँयासहित अन्य १२ जना फरार रहेको उनले बताए । उनीहरूको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । यता यसबारेमा प्रतिक्रिया लिन दुहबी नगरपालिका ९ का वडाध्यक्ष मेहदी हुसेन मिँयाकोमोवाइल स्विच अफ भएकोले सम्पर्क हुन सकेन ।