कछुवाहरू प्राचीन कालदेखि नै उत्पत्ति भएका एकदमै लजालु स्वभावका, चिसो रगत भएका, सरीसृप वर्गका मेरुदण्डीय जीव हुन् । यिनीहरूले फूल पार्छन् । यिनीहरू प्रायः सर्वहारी हुन्छन् । यिनीहरू कडा खबटा र नरम खबटा गरी दुई प्रकारका हुन्छन् । कडा खबटा भएका कछुवाहरू कडा आवरणभित्र सुरक्षित रहन सक्छन् भने नरम खबटा भएका कछुवाहरू बाक्लो प्रकारको छालाहरूले ढाकिएका हुन्छन् । केही प्रजातिका कछुवाहरू जमिनमा पनि बस्छन् भने धेरै प्रजातिका कछुवाहरू पानीमा बस्छन् ।

बाघ, हात्ती जस्ता जनावरहरू एउटा मात्र म¥यो भने पनि राष्ट्र र जनता सबैले त्यसतर्फ चासो देखाउँछन् तर यहाँ बर्सेनि हजारौं कछुवाहरू मरिरहेका छन्, त्यसतर्फ कसैको पनि ध्यान गएको पाइँदैन । बाघ, हात्तीजस्ता जनावरहरूले मानवीय र धनजनको क्षति पनि गरिरहेका हुन्छन् र क्षति गर्न सक्ने क्षमता पनि हुन्छ । त्यसैले मानिस र तिनीहरू बीच द्वन्द्व हुनुु स्वभाविकै हो तर कसैको केही बिगार नगर्ने कछुवाहरू सङ्कटमा किन ? हजुरहरूले कछुवाले दुःख दियो भनेर कहिल्यै सुन्नुभएको छ ? हजुरहरूलाई कछुवाले कहिल्यै दुःख दिएको छ ? यसले कहिल्यै पनि मानिस तथा घरपालुवा जीवजन्तुलाई नोक्सान गर्दैन । अन्य जीवजन्तुले जस्तो अन्नबाली खाइदिने, मानिस तथा घरपालुवा जनावरलाई चोट पु¥याउने, मार्ने काम यसबाट कहिल्यै पनि हुँदैन । यसले धनजनको क्षति पनि गर्दैन । यसले ध्वनि, जल, भूमि र वायु प्रदूषण जस्ता मानिस तथा अन्य जीवलाई हानि हुने कुनै पनि प्रदूषण गर्दैन । बरु उल्टै जल र स्थल प्रदूषण घटाउन र नियन्त्रण गर्न सघाउँछ । यसले चारैतिरबाट मानिसको हित हुने काम मात्र गर्दछ ।

अहिले विश्वको सन्दर्भमा हेर्दा पचास प्रतिशतभन्दा बढी र नेपालको सन्दर्भमा हेर्दा साठ्ठी प्रतिशतभन्दा बढी कछुवाहरू लोप हुने स्थितिमा पुगेको विभिन्न अध्ययनले देखाएका छन् । यसले हाम्रो केही बिगार गरेको छैन भने हामी चेतनशील प्राणी भएर पनि किन यस्तो अपराध गरिरहेका छौ ? कसैको केही बिगार नर्गने कछुवाहरूमाथि किन यत्रो अत्याचार ? सरीसृप तथ्याङ्क (द रेप्टाइल डाटाबेस) अनुसार हालसम्म विश्वमा ३ सय ६४ प्रजातिका कछुवाहरू पत्ता लागेका छन् । तीमध्ये १७ प्रजातिका कछुवाहरू नेपालमा पाइन्छन् । भेट्टाउने बित्तिकै खाने प्रवृत्ति, अन्धविश्वास, जनचेतनाको कमी, कछुवा संरक्षण ऐन र नियम कडाइका साथ लागू नहुनु, कछुवा संरक्षणप्रति मानिसको चासो नहुनु, मिचाहा प्रजाति, बासस्थान र सिमसारको विनाश, चोरी शिकारी र गैरकानूनी बेचबिखन, र सीमित कछुवा संरक्षण केन्द्र आदि कारणहरूले गर्दा कछुवा संरक्षण निकै चुनौतीपूर्ण बनिरहेको छ । वातावरण र प्रकृति निरन्तर रूपमा परिवर्तन भइरहेको छ तर त्यसैअनुरूप कछुवाले आफ्नो शरीरको वृद्धि र विकास गर्न नसकेकाले पनि कछुवाहरू लोप हुँदै गएका हुन् ।

भेट्टाउने बित्तिकै खाने प्रवृत्तिले गर्दा कछुवाहरू अहिले लोप हुने स्थितिमा पुगेका हुन् । प्राचीन समयदेखि अहिलेसम्म पनि मानिसहरूले कछुवालाई भेट्टाउने बित्तिकै खाने गरेको पाइएको छ । वातावरणको लागि कछुवाको महŒव कति धेरै छ भन्ने चेतना नभएकाले र कछुवाको मासु विभिन्न रोगहरूको औषधि हुन्छ भन्ने अन्धविश्वासले गर्दा मानिसहरू कछुवा भेट्टाउने बित्तिकै खाने गर्दछन् । कछुवाको मासु र खबटा रोगहरूको औषधि तथा जडिबुटी हुन्छ भन्ने कुनै वैज्ञानिक आधार छैन । बरू कछुवाको मासुमा अनेकौं परजीवीहरू हुन्छन् अथवा हुन सक्छन् र त्यस्तो मासु खाएमा विभिन्न प्रकारका रोगहरू लाग्न सक्छ भन्ने अध्ययनले देखाएको छ । जमिनमा बस्ने कछुवाहरूले जमिनमा भएका सडेका, मरेका र कुहिएका वस्तुहरू खाएर वातावरण सफा राख्न मद्दत पु¥याउँछन् ।

त्यस्तै पानीमा बस्ने कछुवाहरूले पानीमा भएका विकार वस्तुहरू खाएर जलीय पारिस्थितिक प्रणाली सफा र सन्तुलित राख्न मद्दत गर्छन् । यसले गर्दा जलीय जीव तथा वनस्पतिहरूलाई बाँच्न सजिलो हुन्छ । हिन्दू धर्मअनुसार कछुवालाई विष्णुको अवतार मानिन्छ र पूजा पनि गरिन्छ । मानिसहरूलाई कछुवाको महŒवबारे चेतना नभएकाले पनि बर्सेनि हजारौं कछुवाहरू शिकार भइरहेका छन् । नेपाल सरकारले कछुवा संरक्षणसम्बन्धी थुप्रै नियम र कानूनहरू बनाए पनि अधिकांश मानिसलाई ती नियम र कानून बारे ज्ञान छैन । नेपालमा कछुवा पालन गर्न र शिकार गर्न वर्जित छ । नेपाल सरकारसँग अनुमति लिएका सङ्घ–संस्थाले मात्र कछुवा पालन र संरक्षण गर्न पाउने अधिकार छ । त्यसबाहेक अन्य व्यक्तिलाई पाल्ने अधिकार पनि छैन । शिकार गर्ने र पाल्ने व्यक्तिलाई जेल सजाय अथवा जरिबाना तोकिएको छ तर अधिकांश मानिसलाई त्यसबारे जानकारी नभएर पाल्ने र शिकार गर्ने क्रम अझै पनि कायमै छ ।

अहिलेको समयमा सबै मानिसहरू आर्थिक आर्जन गर्न मात्र केन्द्रित छन् । कछुवाको बारेमा सोच्ने समय कसैसँग पनि छैन । कानूनबेत्ता तथा सरकारी निकायको ध्यान विशेषगरी ठूला–ठूला जीवहरूमाथि मात्रै पर्ने भएकाले पनि कछुवाहरू अहिले सङ्कटापन्न स्थितिमा छन् । कछुवा संरक्षणको अर्को चुनौती मिचाहा प्रजाति हो । रातो काने कछुवा र पहेँलो काने कछुवाजस्ता मिचाहा प्रजातिले रैथाने प्रजातिका कछुवाहरूलाई प्रत्यक्ष रूपमा असर पारेर बाँच्न मुस्किल पार्छन् । यसले गर्दा स्थानीय प्रजातिका कछुवाहरू लोप हुँदै गइरहेका छन् । मिचाहा प्रजातिका कछुवाहरू प्रायः घरमा पाल्ने र व्यापार गर्ने उद्देश्यले विभिन्न देशहरूबाट आयात गरिन्छ ।

पछि कछुवा ठूलो हुँदै गएपछि पाल्न अप्ठ्यारो हुने हुँदा तिनीहरूलाई सिमसार क्षेत्रमा लगेर छाडिदिन्छन् । यसले गर्दा सिमसार क्षेत्रमा बस्ने वास्तविक कछुवाहरू मासिँदै जान्छन् । अहिले मानवीय क्रियाकलापहरूले गर्दा कछुवाहरूको बासस्थान र सिमसार क्षेत्रको विनाश भइरहेको छ । यसको प्रत्यक्ष असर कछुवाहरूमा परिरहेको छ । मानिसहरूले वनजङ्गल विनाश गर्नाले जमिनमा बस्ने कछुवाहरूलाई र सिमसार क्षेत्रको विनाश गर्नाले पानीमा बस्ने कछुवाहरूलाई बाँच्न गाह्रो परेको छ । त्यस्तै चोरी शिकारी र गैरकानूनी रूपमा कछुवाको बेचबिखन गर्ने कार्यले कछुवाहरूलाई झनै सङ्कटमा छन् । कछुवाको खोल विभिन्न वस्तुहरू बनाउन जस्तै मखुण्डो बनाउन पनि शिकार गर्ने गरिएका पाइएकोे छ । कछुवाको मासुको विदेशी बजारमा प्रशस्त मोल पर्ने र ठूलो माग भएकाले यसको चोरी शिकारी र बेचबिखन गर्ने गरिएको पाइएको छ ।

विगतको प्राकृतिक परिवर्तन अनुरूप आफूलाई विकसित गर्न सकेको भए तापनि हालको मानव सिर्जित परिवर्तनमा कछुवाले आफूलाई ढाल्न सकेको छैन । त्यसैले कछुवाहरू विगतमा सजिलै बाँच्न सफल भएको भए तापनि अहिले आएर लोप हुने स्थितिमा पुगेका छन् । अहिले कछुवाहरू विशेष किसिमको हावापानी, तापक्रम र स्थानमा मात्र बाँच्न सक्ने भएका छन् । कछुवाले अहिलेको बदलिँदो वातावरण र हावापानी अनुसार आफूलाई ढाल्न सकेको छैन । त्यति मात्र नभएर पोथी कछुवाले अनुकूल वातावरणमा मात्रै फूल पार्ने अन्यथा आफ्नो फूल आफ्नो शरीरभित्र नै राख्ने गर्दछ ।

अहिले हरेक क्षेत्रमा विनाश तथा प्रदूषणको गतिविधि दिनानु दिन बढिरहेको अवस्थामा कछुवाले खोजेको जस्तो अनुकूल वातावरण नपाउँदा र मानवले पनि त्यस्तो अनुकूलन स्थिति सिर्जना नगरिदिँदा पोथी कछुवाले फूल पार्ने र बच्चा जन्माउने दर घट्दै गएको अवस्था छ । त्यस्तै यसका जुभेनाइल निकै नाजुक हुने हुँदा बदलिरहेको वातावरण र प्रकृतिमा बाँच्न सक्दैनन् । धेरैभन्दा धेरै कछुवाहरू जुभेनाइल अवस्थामै मर्ने भएकाले पनि लोप हुँदै गएका हुन् । यसका अण्डाहरू र बच्चाहरू शिकारी जीव जस्तै न्याउरी, गोही, छेपारो, चरा, सर्प आदिले खाइदिने भएकाले पनि यसको सङ्ख्या न्यून हुँदै गएको हो । त्यसैले अन्य मेरुदण्डीय प्राणीभन्दा यो लोप हुने जोखिम धेरै छ । हाल नेपालमा झापाको अर्जुनधारा, चितवन राष्ट्रिय निकुञ्ज र बर्दिया राष्ट्रिय निकुञ्ज गरी जम्मा तीन स्थानमा कछुवा संरक्षण केन्द्र स्थापना भई संरक्षणका कार्यहरू भइरहेका छन् । थप अन्य केही स्थानमा कछुवाहरू राखिएका भए पनि पर्याप्त छैनन् ।

कछुवाको बासस्थान संरक्षण, सिमसार क्षेत्रको संरक्षण, चोरी शिकारी न्यूनीकरण तथा नियन्त्रण, गैरकानूनी बेचबिखन रोकथाम, मिचाहा प्रजातिको आयात रोकथाम, जनचेतना अभिवृद्धि कार्यक्रम, कछुवा संरक्षण नियम र कानून कडाइका साथ लागू, कछुवा संरक्षण क्षेत्रको विस्तार आदि जस्ता कार्यहरू गरेर कछुवा संरक्षणका चुनौतीहरूलाई निर्मूल पार्न सकिन्छ । यदि हजुरहरूले जङ्गल अथवा अन्य कुनै स्थानमा कछुवा भेट्टाउनुभयो भने नजिकैको राष्ट्रिय निकुञ्ज, नेपाल अथवा प्राकृतिक प्रकृति सङ्ग्रहालयका पदाधिकारीहरूलाई सूचना दिनुहोला । हजुरहरूको सानो सहयोगले अबोध र निर्दोष कछुवाको संरक्षण गर्न मद्दत मिल्नेछ ।
(लेखकः एमएस्सी प्राणीशास्त्र विषयमा स्नातकोत्तर उपाधिको लागि कछुवाको शोधअनुसन्धान गर्दै हुनुहुन्छ ।)