जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख लालकिशोर साहले फर्जी हस्ताक्षरबाट बहुमत पु¥याएर नगरसभा सम्पन्न गरेको भन्दै करिब दर्जन वडाध्यक्षले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् ।

नगरप्रमुख लालकिशोर साहले प्रचलित कानूनको बेवास्ता गर्दै कानून विपरीत नगरसभा सम्पन्न गरेको आरोपमा वडाध्यक्षहरुले बुधबार सर्वोच्च अदालतमा मुद्दा दर्ता गराएका हुन् । उपमहानगरपालिकाको हिसाबकिताब पारदर्शी गर्न र कानूनी राज्यको पालना गराउन बारम्बार आग्रह गर्दा समेत नगरप्रमुख साहले कानून विपरित मनोमानी ढंगले बहुमत नै नपु¥याई नगरसभा सम्पन्न गरेकाले उनी विरुद्ध अदालतमा नगरसभा रद्दको माग गर्दै उत्प्रेषणको मुद्दा दर्ता गराएको जनकपुरधाम उपमहानगरापालिका–९ का वडाध्यक्ष परमेश्वर साहले बताए ।

नगरप्रमुख साहले मध्यरातको समयमा कानूनी मूल्य मान्यता विपरित नगरसभा सम्पन्न गरेर सम्पूर्ण नगरवासीलाई छलछाम र षड्यन्त्र गर्दै ठगेको आरोप वडाध्यक्ष साहले लगाए ।

आफूहरुले सभा रद्द हुनुपर्ने माग दावीसहित सर्वोच्चमा उत्प्रेषण मुद्दा दायर गरेको वडानम्बर ७ का वडाध्यक्ष जानकीराम साहले जानकारी दिए । वडाध्यक्ष जानकीराम साह, सदस्य नाजिर हुसैन र स्वयं लगायत ३ जनाले निवेदन दिएको वडाध्यक्ष साहले बताए । जनकपुरधाम उपमहानगरपालिकाले ५ आैं नगरसभा अधिकांश वडाध्यक्षहरुको असन्तुष्टिका बावजूद असार १० गते मध्यरातमा सम्पन्न भएको घोषणा गरिएको थियो ।