धरान / कोशी राजमार्गको दुई तिर बस्ने स्थानीय बासिन्दाहरुले आन्दोलनको तयारी गरिरहेका बेला धरान उपमहानगपालिकाको नगर सभाले उनीहरुको माग सम्बोधन गरेको छ ।

नगर सभाले धरानको तीनकुने देखि जिरोपोइन्ट सम्मको कोशी हाइवेको मापदण्ड ८० फुट मात्र कायम गर्ने र रोक्का भएको घर जग्गा फुकुवा गर्ने नितिगत निर्णय गरेको वडा १५ का अध्यक्ष नरेश इङ्वारमले बताए ।
उनले भने, ‘उनीहरुको माग नगरसभाले सम्बोधन गरेको छ । नगरसभाले गरेको नितिगत निर्णयलाई अव मन्त्रालय जाने, सडकविभागलाई दवाव दिने काम गर्ने छौं ।’

स्थानीय बासिन्दा ओम कट्वालले हाइवे आसपासमा भएका घर जग्गा रोक्का भएकाले बैंकमा राखेर ऋण लिन नपाएको बताए । उनले भने, ‘हाइवेको छेउमा घर जग्गा भएकै आधारमा अहिले वैंकले ऋण दिन राख्न मान्दैन । घर जग्गाको मुल्याङ्कन गरेर ल्याउ भन्छ । इन्जिनियरले मुल्याङ्कन गर्न मान्दैन ।’ उनले नगरसभाले नीतिगत निर्णय गरेकोमा स्वागतयोग्य भएको बताए ।

तीनकुने देखि जिरो पोइन्ट सम्ममा कम्तिमा ३ हजार घर पर्छन् । सडक विभागले तोकेको मापदण्ड सडकको वीचबाट ८२/८२ फुट कायम भएको अवस्थामा अधिकांसको घर जग्गा नै नरहने भएकाले आन्दोलन गर्ने तयारीमा रहेको बेला नगरसभाले यस्तो नीतिगत निर्णय गरेको हो ।