ब्लाष्टखबर/ प्रधानमन्त्री केपी शर्मा ओलीकाे विषयमा ग्लोबल वाच एनालाइसिसूको हवाला दिदैं केही नेपाली अनलाइनहरूले गैरजिम्मेवारीपूर्ण भ्रामक समाचार सम्रेषण गरेकाे भन्दै प्रधानमन्त्रीकाे सचिवालयले ध्यानाकर्षण भएको जनाएकाे छ ।

स्वीस बैंकमा खाता र ५.५ मिलियन अमेरिकी डलर जम्मा रहेको भन्ने समाचारमा कुनै सत्यता नरहेकाे प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आज विज्ञप्ति जारी गरी जनाएका छन् । 

'यस्तै व्यहोराका तथाकथित रिपोर्ट शतप्रतिशत गलत र कपोलकल्पित रहेको स्पष्ट गर्दछु । जुनसुकै दुर्नियतका साथ तयार गरी सम्प्रेषित यस्ता तथ्यहीन सामग्रीहरूलाई आधार मानेर समाचार बनाई नेपाली जनतामा भ्रम छर्न र प्रधानमन्त्रीज्यूलाई बदनाम गर्न उद्यत यस्ता कतिपय संचारमाध्यमहरूको रवैया खेदजनक छ ।' -प्रेस नाेटमा भनिएकाे छ ।

राष्ट्रिय हितको रक्षा, सीमा अतिक्रमणविरूद्द नयाँ नक्सा प्रकाशनको साहसिक कदम र सर्वसम्मतिद्वारा संविधान संशोधनजस्तो महत्वपूर्ण निर्णयमा सिंगो राष्ट्रलाई एकताबद्द गर्दै प्रधानमन्त्रीज्यूले राष्ट्रको नेतृत्व सम्हालिरहनु भएको निकै संवेदनशील बेलामा बदनाम गराउन यस किसिमले सुनियोजित षडयन्त्र भएकाे थापाले प्रष्ट पारेका छन् ।