इटहरी/ लामो समयको रस्साकस्सीपछि अन्ततः नेपाली काङ्ग्रेसको १४ औं केन्द्रीय अधिवेशन आगामी फागुन ७ देखि १० सम्म काठमाडौंमा सम्पन्न हुने भएको छ । इटहरीका काङ्ग्रेस कार्यकर्तालाई भने अहिलेदेखि नै चुनावको रन्को लागेको छ ।

संशोधित नयाँ कार्यतालिका बमोजिम पालिकाहरूको अधिवेशन आगामी पुष ८ गते सम्पन्न भइसक्नु पर्नेछ । त्यसैको तयारी स्वरूप सुनसरी काङ्ग्रेसमा नेतृृत्वको विषयलाई लिएर रस्साकस्सी शुरु भएको हो । सुनसरीको महŒवपूर्ण पालिकाको रूपमा रहेको इटहरी उपमहानगरपालिकाको भावी नेतृत्वका लागि समेत दौडधुप शुरु भएको छ ।

नेपाली काङ्ग्रेसले महाधिवेशन कार्यतालिका प्रकाशित गरेसँगै महाधिवेशनको सरगर्मी छाएको छ । पालिकाहरूको अधिवेशन हुन ६ महिना अगावै इटहरी काङ्ग्रेसमा महाधिवेशनको सरगर्मी बढेको हो । महाधिवेशनको चटारोमा अहिले नगरका नेताहरु कार्यकर्ता भेटघाट गर्दै आफ्नो पक्षमा माहोल बनाउन तीव्र कसरत गरिरहेका छन् ।

नेपाली काङ्ग्रेस इटहरी उपमहानगरपालिका वडा नं. ५ समितिले आयोजना गरेको वडा भेलामा बोल्दै इटहरी काङ्ग्रेसका वर्तमान सह–सभापति कोविदजङ कार्की, उपसभापति शिवराज दहाल, नगर सचिव प्रकाश बस्नेत तथा नेपाली काङ्ग्रेसका युवा नेता तथा पूर्व उपाध्यक्ष विकास केसीले भावी नेतृत्वमा आफ्नो दाबी प्रस्तुत गरे ।

हालका नगर सभापति हेमकर्ण पौडेलले नयाँ विधानमा भएका व्यवस्थाहरूको विषयमा चर्चा गर्दै पार्टीभित्रको आन्तरिक एकता थप सुदृढ बनाउन आफू लागिपर्ने उद्घोष गरे । आन्तरिक चुनाव भएको कारण पार्टीको सङ्गठनलाई थप बलियो बनाउँदै लौजानु पर्ने बताए ।

सभापति पौडेलले इटहरी काङ्ग्रेसमा अहिले नेता कार्यकर्ताले उठाएका सवाल आफू सुन्न र त्यसको जवाफ दिनसमेत तयार रहेको भन्दै पार्टीमा अहोरात्र खटिएका, नेपाली काङ्ग्रेसको नीति तथा सिद्धान्तमा प्रतिबद्ध कार्यकर्ताहरूलाई मात्र क्रियाशील सदस्यता वितरण गर्ने प्रतिबद्धता जनाए ।

सभापतिका उम्मेदवार शिवराज दहालले पार्टीलाई साङ्गठनिक, वैचारिक एवम् अन्य दलसँग प्रतिस्पर्धा गर्दै इटहरी क्षेत्रमा पार्टीलाई पहिलो बनाउने लक्ष्यसहित आफू लागिपरेको बताए ।

युवा नेता तथा नेविसङ्घका केन्द्रीय उपाध्यक्ष विकास केसीले पनि आफूले लामो समय नेविसङ्घ सुनसरीको नेतृत्व सम्हाल्दै केन्द्रीय उपाध्यक्ष तथा प्रदेश नं. १ को संयोजकको जिम्मेवारी सम्हालेर जुझारु नेविसङ्घ तयार गरेको बताए ।

इटहरी काङ्ग्रेसका सह–सभापति कोविदजङ कार्कीले पनि फोरम लोकतान्त्रिक नेपाली काङ्ग्रेससँग एकीकरण भएपश्चात् आफू व्यक्तिको नभई नेपाली काङ्ग्रेसको सङ्गठन बनाउन लागिपरेकाले स्वभाविक रूपमा भावी सभापतिमा आफ्नोसमेत दाबी रहने उल्लेख गरे । हालका नगर सचिव प्रकाश बस्नेतले पार्टीमा आन्तरिक एकताको विकल्प नभएको भन्दै इटहरी काङ्ग्रेसको भावी सभापतिमा आफ्नो दाबेदारी रहने उद्घोष गरे ।