धरान । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद टुंग्याउन पार्टी अध्यक्षद्वयको बुधबारको बैठकबाट पनि सार्थक परिणाम निस्कन सकेन ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको ‘वान टु वान’ वार्ताबाट पनि कुनै निष्कर्ष ननिस्किएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच हाल चलिरहेको विवादका विषयमा छलफल भएको थियो ।

प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा जुगलले छलफलबाट कुनै निष्कर्ष नआएको बताए । यता पार्टीका शीर्षस्थ नेताहरूले ओलीसँगको सम्बन्ध वारपार गरेर अगाडि बढ्नु पर्ने भन्दै प्रचण्डलाई दबाव दिइरहेका छन् । प्रधानमन्त्री ओलीले असार १४ गते मदन भण्डारी जयन्तीका दिन दिएको अभिव्यक्तिपछि नेकपामा संकट उत्पन्न भएको छ ।

वर्तमान सरकार गिराउनका लागि भारतसँग साँठगाँठ गरिरहेको आसयको अभिव्यक्ति प्रधानमन्त्री ओलीले दिएका थिए । नेकपामा देखिएको पछिल्लो राजनीतिक घटनाक्रमले दुई अध्यक्षमात्रै हैन, पार्टीका शीर्षस्थ नेता माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतमले पनि ओलीलाई साथ दिएका छैनन् ।

अध्यक्षद्वय तीन दिनदेखि वान टु वान वार्तामा बसे पनि हालसम्म समस्याको गुत्थी सुल्झिन सकेको छैन । उल्टो समस्या बढेको बढेकै छ । प्रधानमन्त्री ओलीले अध्यक्ष र प्रधानमन्त्री पद छाड्नु पर्ने अडानमा प्रचण्डलगायतका नेताहरू छन् ।