ब्लाष्टखबर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा विवाद चर्किरहेकै बेला एमाले दर्ता प्रक्रियाका लागि निर्वाचन आयाेगमा पुगेकाे विषयमा नेकपा खोटाङ जिल्ला कमिटीका सचिव रामप्रसाद दंगालले उक्त एमाले पूर्व एमाले नरहेकाे दाबी गरेका छन् ।

दुई अध्यक्ष बीच दूरी बढिरहेकाे बेला एमाले दर्ता प्रक्रियामा आएकाे विषयमा उनले उक्त कुरा बताएका हुन् । उनले पार्टीकाे समस्या आपसी वार्ताबाटै सामधान गर्नुपर्ने बताए । प्रधानमन्त्री केपी ओलीलाई अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले दुवै पदबाट राजीनामा मागेपछि पार्टीभित्र तरङ्ग सिर्जना भएकाे थियाे । १ नम्बर प्रदेश कमिटी सदस्य समेत रहेका दंगालले पार्टी फुट्न सक्ने सम्भावना नरहेको दाबी समेत गरे । ओली र प्रचण्डले पार्टीको निर्णयहरूलाई अंगिकार गर्दै आफू भित्र रहेका विवादहरू वार्ताबाटै सामाधान गर्नुको विकल्प नरहेको उनले बताए ।

जनताले दिएको जनमतकाे सम्मान गर्दै वाचाहरू पूरा गर्न एकजुट भएर लाग्नु पर्ने उनले बताए । पछिल्लो समय पार्टी फुट्न सक्ने भन्दै आएका टिकाटिप्पणीहरू हल्ला मात्र भएको दंगालकाे दाबी छ । दंगालले भने-‘कम्युनिष्टहरुले धरै फुट र जुटका घटनाक्रमहरू विगतमा पनि देखिएका हुन् । पूर्व नेकपा एमाले र माओवादी केन्द्र देशको आवश्यकताले गर्दा नै एक भएका हुन् । फुट्ने भन्ने हल्ला मात्र हो ।’

उनले एमाले नामको पार्टी दर्ता प्रक्रियामा आएको विषयलाई ओलीसँग जोड्नुको कुनै अर्थ नरहेको पनि बताए । उनले भने-‘प्रधानमन्त्री ओलीको जुन उचाइ छ त्यसले पनि बताउँछ कि कसैले नचिनेका मानिसहरू ल्याएर पार्टी दर्ता गर्नु पर्दैन भन्ने । त्यो पार्टी लामो संघर्षले निर्माण गरेको पूर्व नेकपा एमाले हैन ।’ उनले यदि पार्टी फुट भए जनता र कार्यकताहरूले नेताहरूलाई कारबाही गर्ने चेतावनी पनि दिए ।