• बाबुराम सुवेदी

सुनसरी /  पूर्व–पश्चिम राजमार्ग बन्दैगर्दा इटहरी कोशी राजमार्गसँग काटिएर चौबाटो बन्यो । त्यसयता इटहरी लामो समयसम्म चालक र सह–चालकको जमघट हुने चोक र यातायातको जक्सनका रूपमा कहलियो ।
पढेलेखेका मान्छे वा बस्तीका लागि इटहरी गन्तव्य बन्न सकेको थिएन । पाँच दशकदेखि इटहरीमा रहेर शिक्षाक्षेत्रमा क्रियाशील लेखनाथ घिमिरेका अनुसार फरक परिचय दिन जति प्रयास गरे पनि इटहरी लामो समयसम्म चौबाटो चोकका रूपमा सीमित भयो । ‘उति बेला इटहरीमा बस्ती पनि बाक्ला थिएनन्, पढाइ–लेखाइले प्राथमिकता पाउने कुरै भएन’ –उनले भने ।

धरानमा केन्द्रीय प्रविधि क्याम्पस, इञ्जिनियरिङ क्याम्पस, महेन्द्र बहुमुखी क्याम्पस खुल्दा पनि पूर्वका शैक्षिक सरोकारवालाहरूलाई इटहरीको सम्झना भएन वा प्राथमिकतामा परेन । त्यसो त इटहरीको गैसारमा २००७ सालमै सरस्वती प्राथमिक विद्यालय (हाल सरस्वती सतन मावि) स्थापना भएको थियो । ‘इटहरीको सरस्वती स्कुलभन्दा एक दिन पहिला वा पछि यकिन छैन तर त्यही हाराहारीमा खनारमा शारदा विद्यालय खुलेको हो’ लामो समय खनारको शारदा विद्यालय (हाल शारदा मावि) मा शिक्षण गरेका सुवर्ण थापाले भने, ‘त्यसपछि बल्ल इटहरी र वरपरका विद्यार्थीलाई सहज भयो ।’

निजी विद्यालय अर्गनाइजेसन इटहरीका अध्यक्षसमेत रहेका थापाका अनुसार त्यसअघि इटहरी क्षेत्रमा पढाइको कुनै औपचारिक प्रबन्ध थिएन । २००७ साल माघमा खुलेका यी विद्यालय नै इटहरीका प्रारम्भिक औपचारिक शैक्षिक संस्था हुन् ।
२०१३ सालतिर इटहरीमा जनता प्रावि स्थापना भयो । त्यसबेला सरकारी भनिने सामुदायिक विद्यालयले नै इटहरीको शैक्षिक नेतृत्व गर्नुपर्ने अवस्थामा जनतासहित क्रमशः खुल्दै गएका विद्यालयका कारण इटहरीको शैक्षिकस्तर विस्तारै उकालो लाग्दै गयो ।

त्यसबेला पढेका मान्छेहरू सीमित थिए । ‘केही समयपछि धरणीधर दाहाल, नारायणबहादुर श्रेष्ठसहित केही दौंतरी पढेका मान्छेमा चिनिन थाले’ विश्व आदर्श एकेडेमीको अध्यक्षसमेत रहेका घिमिरेले भने, ‘२०४२ सालपछि भने इटहरीले क्रमिक रूपमा शिक्षा क्षेत्रमा खुट्टा टेक्न थाल्यो ।’
त्यसअघि नै झोडामा सरस्वती मावि हुँँदै पकली, हाँसपासोलगायत स्थानमा विद्यालय खुल्दै गए । विद्यालयको सङ्ख्या बढे पनि विद्यार्थीको चाप भने जनता स्कुलमै थियो । जनता स्कुलमा पढेका राजु केसीका अनुसार जनतामा पढेका थुप्रै साथीहरू अहिले इटहरीको पहिचान बनेका छन् । नागरिक अगुवासमेत रहेका केसी सङ्गीत क्षेत्रमा इटहरीका स्थापित व्यक्ति हुन् । चर्चित फुटबलर सुरेन्द्र तामाङ पनि जनताकै उत्पादन हुन् । उनीहरूजस्तै मुलुकको शिक्षा, साहित्य, कला, राजनीति, निजामती, सेना, खेलकुद आदि क्षेत्रमा स्थापित केही नाममध्ये शेरबहादुर अमर, रमेश विष्ट, रामकुमार सुब्बा, राम धामी, मधु रिमाल, प्रमोद श्रेष्ठ, भाइसन बर्देवा, पियुष दाहाल, गणेश दङ्गाल, सुरेश आचार्य, रमा सुब्बा, कल्पना चौधरी, हेमनारायण चौधरी, केशव विष्ट आदि इटहरी जनताकै उत्पादन हुन् ।

बदलियो परिदृश्य
२०४५ सालसम्म इटहरीको शैक्षिक क्षेत्रको धरोहर सामुदायिक विद्यालयले धानेका थिए । जनतालगायत स्कुलले देशलाई चाहिने एक से एक प्रतिस्पर्धी जनशक्ति उत्पादन गरेका थिए, जसको प्रतिबिम्ब अहिले पनि समाजमा देख्न सकिन्छ ।
तर अहिले इटहरीका बूढी, टेङ्ग्रा, खेती, सुकुमारी आदि खोलामा निकै पानी बगिसकेको छ । शैक्षिक क्षेत्रको नेतृत्व पनि सामुदायिकको हातबाट खुस्किँदै–खुस्किँदै निजी क्षेत्रको हातमा पुगिसकेको छ ।

खासगरी २०४६ सालको राजनीतिक परिवर्तन यो अवस्थाको कारक भएको जानकारहरू बताउँछन् । अनेक प्रयत्नपछि उकालिएको इटहरीको शैक्षिक अवस्था २०४६ पछि शिक्षामा ‘राजनीति’ घुसाएर शिक्षक र अभिभावक राजनीतिक कार्यकर्ताजस्तो मात्र देखिन थालेपछि एकाएक ओरालो लागेको उनीहरूको भनाइ छ ।
त्यस्तै अहिलेसम्म पनि सरकारले इटहरीको शिक्षामा माविभन्दा माथि आवश्यकता अनुभव गर्न नसक्नु पनि यहाँको सामुदायिक शिक्षा खस्किनुको अर्को कारण रहेको केहीको भनाइ छ । उनीहरूका अनुसार यहाँको सामुदायिक शिक्षाको गुणस्तरबारे न सङ्घीय सरकारलाई चिन्ता छ, न उपमहानगरपालिकालाई ।

राजनीतिक रूपमा उपमहानगर भए पनि सङ्घीय सरकारले यहाँ आङ्गिक क्याम्पसको आवश्यकता अनुभव अझै गरेको छैन । एका–दुईबाहेक सामुदायिक विद्यालयको गुणस्तर उठाउने विशेष योजना पनि देखिँदैन । २०४६ सालमा स्थापित जनता क्याम्पसले गुणस्तरको प्रत्याभूति अझै दिन सकेको छैन ।
यस्तो पृष्ठभूमिमा इटहरीको शिक्षा क्षेत्रको पहुँच र प्रभाव विस्तार गर्न निजी क्षेत्र लागिपरेको छ । अहिले इटहरीमा एक से एक गुणस्तरीय र प्रतिस्पर्धी शैक्षिक संस्था दुई दर्जनभन्दा बढी सञ्चालनमा छन्, निजीका भरमा ।
इटहरी उपमहानगरपालिका क्षेत्रमा निजी क्षेत्रबाट सञ्चालित विद्यालयको सङ्ख्या एक सय २५ भन्दा बढी छ । सामुदायिक विद्यालय ३४ र दुईवटा मदरसा सञ्चालनमा छन् । इटहरीका ८० प्रतिशत बालबालिका निजी विद्यालयमा अध्ययनरत छन् । तथ्याङ्कमा पनि निजीकै वर्चश्व छ ।

निजीको इतिहास
ताप्लेजुङबाट दार्जिलिङ पढ्न गएका डेविड सुब्बाका बुबा ब्रिटिस लाहुरे थिए । उनी इटहरी आएर २०३२÷०३३ सालतिर नेसनल फ्लावर स्कुल स्थापना गरे । ‘त्यसबेला करिब तीन सय विद्यार्थी थिए’ सुब्बाले भने, ‘मैले धेरै समय काम गरिनँ, वीरेन्द्र नेपाली सरलाई स्कुल जिम्मा लगाएर विराटनगर गएँ ।’
उनका अनुसार त्यसबेला नेसनल फ्लावर स्कुलमा झुम्का, सोनापुर, सुन्दरपुरसम्मका विद्यार्थी आउँथे, जसको नेतृत्व वीरेन्द्र नेपालीले गर्थे । पछि त्यो स्कुलको नाम परिवर्तन गरेर एभरेष्ट स्कुल बनाइयो, जसको नेतृत्व दिपिलसिंह तुम्बाहाम्फेले गरे । उनकी पत्नी सृष्टिका तुम्बाहाम्फेसमेत तेह्रथुमबाट शिक्षण पेशा छाडेर सोही स्कुलमा काम गर्न थालिन् । ‘पछि हामीले पनि सो स्कुललाई अगाडि बढाउन सकेनौं’ तुम्बाहाम्फेले भनिन्, ‘स्कुलको पूर्वाधार अर्को स्कुललाई जिम्मा लाएर हामीले छोड्यौं ।’
यस्तो पृष्ठभूमिको जगमा बनेको हो इटहरी अहिले देखिएको निजी शैक्षिक क्षेत्रको आकर्षक पूर्वाधार । त्यसै क्रममा २०४२ सालमा इटहरीमा सेकेण्डरी बोर्डिङ स्कुल खुल्यो । धरानमा सेकेण्डरी स्कुल चलाउँदै आएका एड्मन अटलले इटहरीमा सोही नामको विद्यालय स्थापना गरे । उनले छोराको व्यवसायका लागि सो विद्यालय स्थापना गरेका थिए । सेकेण्डरीपछि भृकुटी र पिसजोन खुलेका हुन् ।

सेकेण्डरी बोर्डिङ स्कुलमै पढाउने राजन थापा, जगदीशप्रसाद ओली, ज्ञानेन्द्र दाहाललगायत मिलेर २०४६ सालपछि आफै विद्यालय सञ्चालन गर्न थाले । शिक्षामा लगानी गर्दा नडुब्ने देखेर इटहरीमा रहेर शैक्षिक क्षेत्रमा लागिपरेका प्रेमप्रसाद न्यौपाने, लेखनाथ घिमिरे, बोधराज नेपाल, मनु मञ्जिल, जगदीशप्रसाद ओली, गणेश दुलाल, पोषराज नेपाल, कमलेस पौडेल, गणेश भण्डारीलगायत शैक्षिक मैदानमा उत्रिए । उनीहरूकै प्रयास तथा लगानीमा इटहरीमा शैक्षिक पहिचान झल्काउने खालका निजी कलेज तथा विद्यालय सञ्चालनमा छन् । इटहरीका विश्व आदर्श, कस्तुरी, सुष्मा मेमोरियल, कोशी सेण्टजेम्स कलेजलगायत कहलिएका निजी शैक्षिक संस्था हुन् ।

करोडौं लगानी
२०६१ सालमा ६ जनाको टिमले दुई चरणमा पाँच–पाँच लाख रुपैयाँ सङ्कलन गरेर स्थापना भएको कोशी सेण्टजेम्स स्कुलमा त्यसबेला पाँच कक्षासम्म पढाइ हुन्थ्यो । हाल कलेजसमेत सञ्चालन गर्दै आएको कोशी सेण्टजेम्सका अध्यक्ष मनु मञ्जिलका अनुसार त्यो बेला कोशी स्कुलमा एक सय १७ जना विद्यार्थी थिए, ४८ जनाले फी तिर्दैनथे ।
अहिले सो विद्यालयमा एक हजार चार सय र कलेजमा एक हजार दुई सय विद्यार्थी अध्ययनरत छन् । लगानीकर्ता थपिँदै जाँदा कोशी सेण्टजेम्सले आठ कठ्ठा जग्गा खरिद गरेको छ, दुई बिघा भाडामा लिएको छ । अध्यक्ष मञ्जिलका अनुसार कोशी सेण्टजेम्सले हाल एक सय ६७ जनालाई रोजगारी दिएको छ भने विद्यालय र कलेजमा गरी १५ करोडभन्दा बढी लगानी भइसकेको छ ।

यो उदाहरणमात्रै हो । इटहरीका विश्व आदर्श एकेडेमी, कस्तुरी कलेज, सुष्मा गोदावरीलगायत विद्यालयको लगानी र पूर्वाधार कोशीभन्दा कम छैन । अहिले विश्व आदर्श स्कुल तथा कलेजले दुई बिघाभन्दा बढी जमिनमा अडियो–भिजुअल कक्षासहितको पूर्वाधार छ । सुष्मा कलेजले करोडौंको लगानीमा विद्यालय तथा कलेज सञ्चालन गर्दै छ । इटहरी मोडल, नेपाल डिभिएमलगायतले पनि पर्याप्त संरचना तयार गरेका छन् ।
पहिल्यै जग्गा खरिद गरेका निजी स्कुल, इटहरीमा जग्गाको मूल्य बढेसँगै आर्थिक रूपमा बलियोसमेत भएका छन् । स्कुलले ती जग्गा बैङ्कमा धितो राखेर शिक्षा क्षेत्रमा उल्लेख्य रकम लगानी गरेका छन् ।

इटहरीको शैक्षिक साख जोगाउन जिम्मा निजीको काँधमा छ । शिक्षा लिनेदिने परम्परा सेवामुखी ठानिए पनि यहाँ व्यावसायिक हिसाबले निजी क्षेत्रबाट ठूलै लगानीमा विद्यालयहरू खुलेका हुन् । शुरुमा जे जस्तो भए पनि अहिले प्रायः सबैले सेक्सन छुट्याएर पढाउने गरी विद्यार्थी पाएका छन् । निजी क्षेत्रबाट भएको शैक्षिक लगानीले स्नातकसम्म अध्ययन गर्न इटहरीका विद्यार्थीको धरान वा विराटनगर जानुपर्ने बाध्यता लगभग सकिएको छ ।

बढ्दो आकर्षण
गुणस्तरका बलमा इटहरीका शैक्षिक संस्थाले सेरोफेरोका शहरहरू इनरुवा, धरान, विराटनगर, दमकसम्मका विद्यार्थीलाई आकर्षित गरेका छन् । छिमेकी पहाडबाट अध्ययनका लागि मधेस झर्ने विद्यार्थीको पहिलो गन्तव्य पनि इटहरी नै बनेको छ ।
इटहरीका कलेजमा स्नातक र स्नातकोत्तर तहमा विशेषगरी व्यवस्थापनसम्बन्धी विषयमा गुणस्तरीय अध्यापन हुँदै आएको छ ।
कलेजले दिने उत्कृष्ट नतिजा तथा विशिष्ट व्यवस्थापनका कारण पछिल्लो समय यहाँका निजी शैक्षिक संस्थाको आकर्षण बढ्दो छ । इटहरीबाट बाहिर गएका विद्यार्थी पनि इटहरीकै कलेजमा आउन थालेको कोशी सेण्टजेम्सका सञ्चालक मञ्जिल बताउँछन् ।

‘हाल इटहरीको शिक्षा क्षेत्रमा निजी क्षेत्रको करोडौं लगानी भित्रिएको मात्र छैन, सेरोफेरोका विद्यार्थीको आकर्षण बढ्दो छ’ चर्चित कविसमेत रहेका मञ्जिल भन्छन्, ‘जसका कारण इटहरीले आफ्नो परिचय बदलेको छ । इटहरी अचेल शिक्षाको हबका रूपमा विकसित हुँदै छ ।’
स्थानीय प्रतिभा विकासमा पनि इटहरीका निजी शैक्षिक संस्थाको योगदान उल्लेख्य छ । भारतीय टेलिभिजन जीटिभीको रियालिटी शो सारेगमपामा उत्कृष्ट प्रतिभा प्रस्तुत गर्न सफल प्रीतम आचार्यलाई विश्व आदर्श एकेडेमीले निःशुल्क पढाइरहेको छ ।
खेलकुद, कला, साहित्यमा लाग्ने विद्यार्थीका लागि निजी विद्यालयले लगानी गर्नु राम्रो पक्ष भएको केसी बताउँछन् । यसबाहेक निजी विद्यालयले वार्षिक कार्यक्रम नै तयार गरी खेलकुद, विज्ञान प्रदर्शनी, प्रतिभा प्रस्फुटन कार्यक्रम तथा समाजमा विशिष्ट योगदान दिनेलाई सम्मान अर्पण गर्दै आएका छन् । इटहरीकै सेक्रेट हार्ट स्कुलले पुरस्कार रकम तोकेर वार्षिक रूपमा खुला भलिबल प्रतियोगिता गराउँदै आएको छ । सेक्रेट हार्टका प्रिन्सिपल डिक तामाङ यस्ता कार्यक्रममा भएको लगानीले पनि निजी शैक्षिक संस्थातर्फ अभिभावक तथा विद्यार्थीको आकर्षण बढाउने गरेको छ ।

छात्रवृत्तिमा अगाडि
इटहरीका निजी विद्यालय तथा कलेजले शैक्षिक गुणस्तरका साथसाथै प्रतिभावान विद्यार्थीलाई आर्थिक सुविधासमेत दिँदै आएको विश्व आदर्श एकेडेमीका प्रिन्सिपल गणेश दुलालले बताए । नवगायक प्रीतम आचार्यलाई सो विद्यालयले निःशुल्क अध्यापन गराइरहेको छ ।
सङ्गीत क्षेत्रमै झुकाव राख्ने जीवन काफ्लेलाई इटहरीको पाथीभरा स्कुलले ६ देखि १० कक्षासम्म निःशुल्क अध्यापन गराएको इटहरी नागरिक समाजका महासचिव राजु केसीले बताए । उनका अनुसार त्यसपछि काफ्लेलाई विश्व आदर्शले ११ र १२ कक्षा पढायो ।

निजी विद्यालयहरूको सङ्गठन प्याब्सन सुनसरीले सरकारले तोकेअनुसारको छात्रवृत्ति प्रदान गरेको प्याब्सन सुनसरी अध्यक्ष विष्णु कोइरालाले बताए । त्यसका साथै उच्चमावि सञ्चालकहरूको संस्था हिसान सुनसरीको सहकार्यमा सुनसरीमा हरेक वर्ष दुई जना पत्रकारका छोराछोरीलाई छात्रवृत्ति प्रदान गरिँदै आएको छ । नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष अमर खड्काका अनुसार जिल्लाका १० जना पत्रकारका छोराछोरीलाई निजी शैक्षिक संस्थामा निःशुल्क अध्ययन गर्ने व्यवस्था मिलाइएको छ ।
१० प्रतिशत गरिब तथा जेहेन्दार छात्रवृत्ति दिनुपर्ने निजी विद्यालय सञ्चालन निर्देशिकामै उल्लेख छ । तथापि विद्यालयले यस्तो सुविधा लगानीकर्ता वा आफन्तका परिवारलाई दिएर निर्देशिकाको भावनाविपरीत काम गर्ने गरेको गुनासो कतिपय अभिभावकको छ । तर उपमहानगरको शिक्षा शाखा र निजी विद्यालयको छाता संस्थामा त्यस्तो प्रकारको गुनासोमिश्रित निवेदन हालसम्म परेको छैन ।

यता इटहरी उपमहानगरपालिकाकी शिक्षा शाखा प्रमुख अम्विका साहले इटहरीमा सरकारीभन्दा निजी विद्यालय र निजीमा पढ्ने विद्यार्थीको सङ्ख्या बढी रहेको बताइन् । उनका अनुसार नगरपालिकाले शिक्षासम्बन्धी नीति–नियम बनाउँदा निजी विद्यालयको प्रतिनिधित्व पनि खोजी हुने गरेको छ ।

कम छैन चुनौती
इटहरीका निजी विद्यालय तथा कलेजमा लगानी गर्नेमा पूर्वसरकारी शिक्षकको उपस्थिति उल्लेख्य छ । शिक्षा क्षेत्र तथा समाजमा लामो समय योगदान गरेका व्यक्तिको संलग्नता भएकाले यहाँका निजी विद्यालयले अभिभावक तथा विद्यार्थीको विश्वास जितेको प्याब्सन इटहरी अध्यक्ष सुवर्ण थापा बताउँछन् । थापा स्वयम् पूर्वशिक्षकदेखि जिल्ला शिक्षा अधिकारीसम्म भएका लगानीकर्ता हुन् ।

आर्थिक अवस्था बलियो भएका अभिभावकले अङ्ग्रेजी माध्यमसँगै गुणस्तरीय शिक्षाको अपेक्षा गर्दै छोराछोरीलाई भारतको दार्जिलिङ, कालिम्पोङ, बेङ्लोरलगायत स्थानमा पठाउने गर्थे । त्यो पलायन रोक्न पनि इटहरीमा निजी क्षेत्रले शिक्षामा लगानी गरेको र त्यसमा निकै हदसम्म सफलता पाएको थापाले बताए ।
इटहरीमा निजी विद्यालयको आकर्षण बढ्नुमा तीन दशकयता अभिभावक तथा विद्यार्थीमा हुर्किएको अङ्ग्रेजी भाषासम्बन्धी मोह अर्को कारण मानिन्छ । पूर्वशिक्षक ढुण्डीराज सुवेदीका अनुसार विद्यार्थी तथा अभिभावकले अङ्ग्रेजी माध्यमको पढाइलाई रुचाएसँगै निजी विद्यालयमा आकर्षण र लगानी बढेको हो ।

विद्यार्थी तथा अभिभावकको यही मानसिकतालाई सम्बोधन गर्दै सामुदायिक विद्यालयको आकर्षण पुनः बढाउन इटहरीका जनता मावि, सरस्वती जब्दी माविलगायतले नेपाली सँगसँगै अङ्ग्रेजी माध्यमको पढाइ पनि शुरु गरेका छन् । ‘अभिभावकको मागअनुसार नै हामीले अङ्ग्रेजी माध्यमबाट अध्यापन गराउन थालेका हौं’ विद्यालय सञ्चालक समिति सदस्य विमला ढकालले भनिन्, ‘अहिले निजी विद्यालयबाट सामुदायिकमा विद्यार्थी आउने क्रम शुरु भएको छ ।’
कम शुल्कमा अङ्ग्रेजी माध्ययमबाट सामुदायिक विद्यालयमै पढ्न पाइने भएबाट निजी विद्यालयका लागि चुनौती थपिएको बताइन्छ । यो अभ्यास सबै सामुदायिक विद्यालयले गर्ने हो भने निजी विद्यालयको आकर्षण घट्ने र लगानी डुब्ने डरसमेत पलाएको छ ।

यसबाहेक निजी क्षेत्रले शिक्षामा गरेको लगानीप्रति सरकारको नीति अस्पष्ट र उदासिन रहेको निजी विद्यालयको छाता सङ्गठन प्याब्सन सुनसरीका अध्यक्ष विष्णु कोइराला बताउँछन् । निजीले गरेको लगानी सुनिश्चितताका लागि सरकारले वातावरण बनाउन नसकेको उनको गुनासो छ । ‘प्रायः निजी विद्यालयले तोकिएको छात्रवृत्तिलगायत सुविधा पनि दिइनै रहेका छन्’ अध्यक्ष कोइरालाले भने, ‘तर निजी शैक्षिक संस्थाप्रति राज्यको दृष्टिकोण पूर्वाग्रही छ । निजी क्षेत्रले शैक्षिक विकासमा गरेको योगदानको बेवास्ता भइरहेको छ ।’