विराटनगर / मोरङ प्रहरीका प्रमुख भएर आएका एसपी सन्तोष खड्काले कानुनी व्यवस्थाको अधिनमा रहेर अशल शासन स्थापित गर्ने गरी काम कारबाही अघि बढाउने बताएका छन् ।

विराटनगरमा शनिबार बिहान पत्रकारसँगको भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
एसपी खड्काले समाजमा शान्ति सुरक्षाको अवस्था मजवुत र अपराध अनुसन्धानलाई प्रभावकारी बनाउने सवालमा कुनै पनि कसुर बाँकी नराखिने बताए । मान्छेका ज्यान गएकादेखि लिएर केही अपराधिक घटनाको अनुसन्धान मोरङमा यस अघि पूरा नभएकाले सबै पक्षको सहयोग लिएर आफ्नो कार्यकालमा अपराध नियन्त्रण र शान्ति सुरक्षा व्यवस्थामा लगि पर्ने उनले बताए ।

‘आफ्नो सबै क्षमता र विज्ञता शान्ति सुरक्षाको अवस्था मजवुत बनाउन र अपराध नियन्त्रण एवं अनुसन्धानमा खर्चिनेछु,’ उनले भने, ‘कोही कसैले पनि प्रहरीमाथि प्रश्न गर्ने वातावरण नबनाउने हिसाबमा काम गर्नेछु ।’ मोरङलाई भारतसँग सीमा जोडिएको र सुरक्षाका हिसाबले निक्कै संवेदनशिल जिल्लाका रुपमा आफूले लिएको उनको भनाइ छ ।

‘प्रदेश १ को राजधानी पनि भएकाले विराटनगरको वस्तुस्थिति र शान्ति सुरक्षाको सवालमा अन्तर्राष्ट्रिय चासो रहन्छ,’ उनले भने, ‘त्यही हिसाबमा प्रहरीको काम कारबाही अघि बढाउनेछ ।’ राष्ट्रस्तरमा नजर पर्ने भएकाले पनि मोरङको शान्ति सुरक्षाको सवालमा सधैं चनाखो हुनु पर्ने कुरामा आफू सजग रहेको उनको भनाई छ ।